मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार, शीतलनिवास र खुमलटारको चेपुवामा सभामुख पद !

शुक्रबार, ११ पुस २०७६, ११ : २६
शुक्रबार, ११ पुस २०७६

काठमाडौँ । सत्तारुढ दल नेकपा अनिर्णयको बन्दी बन्दा प्रतिनिधि सभाको सभामुख चयन प्रकृयामा ढिलाइ भएको छ । गत असोज १४ यता सभामुख पद खाली छ ।

संसदमा नेकपाको बहुमत रहेकाले उसैले सभामुख पाउने निश्चित छ । तर त्यसका लागि मिलाउनुपर्ने आन्तरिक समिकरण नमिल्दा सभामुख छनोट प्रकृया लम्बिनुका साथै थप पेचिलो बन्दै गएको हो ।

पुस पहिला साता बसेको नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार छनोट गर्ने जिम्मा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो ।

सभामुख बन्न नेकपाभित्रै आकाङ्क्षी धेरै भएपछि शक्ति सन्तुलन मिलाउन नेतृत्वलाई समस्या भएसँगै शीर्ष नेताहरु टुङ्गोमा पुग्न नसकेको नेकपाकै नेताहरुले बताएका छन् ।

अध्यक्ष ओली र प्रचण्डले सभामुखका लागि छुट्छुट्टै नाम (सुवास नेम्वाङ र अग्नि सापकोटा) अघि सारेका छन् । नेम्वाङ र सापकोटाको अलवा वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सभामुखको दौडमा छिन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको अप्रत्यक्ष ‘धाप’ रहेको छ ।

उपसभामुखबाट तुम्वाहाङ्फेलाई राजीनामा गर्न लगाउनेमा नेकपा नेतृत्व एकमत भएपनि उनको राजीनामापछि कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेमा कुरो नमिल्दा मुलुकले सभामुख पाउन ढिला हुँदै गएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली आफु अनुकुलको सभामुख बनाउन चाहन्छन् । तर पार्टी एकता प्रकृयाको भावना अनुकुल सभामुख पूर्व माओवादी पक्षबाटै दवाव पनि यथावत छ । यो दबाबका कारण अध्यक्ष प्रचण्डले नेम्वाङको नाम सहजै स्वीकार गर्न सकिरहेका छैनन् ।

गत पुस ४ गते बसेको प्रतिनिधि सभा बैठकले दलहरुले समय मागेपछि पुस ११ गते सभामुख चयन प्रकृया सुरु गर्ने गरी बैठक स्थगित गरेको थियो ।

तर ११ गतेसम्म पनि सभामुखको उम्मेदवराबारे अध्यक्ष ओली र प्रचण्डबीच ठोस कुराकानी नै हुन सकेको छैन ।

‘पुस १० गते बिहीबारभित्र दुई अध्यक्षले कुराकानी गरेर सभामुखको उम्मेदवार टुङ्गो लगाउने तयारी थियो । तर बुधबार चितवन जानुभएका अध्यक्ष प्रचण्ड बिहीबार पनि फर्कनु भएन । त्यसैले ढिला भयो’, नेकपाका एक सचिवालय सदस्यले रातोपाटीलाई भने, ‘यसले गर्दा शुक्रबार बोलाइएको संसद बैठकको सम्भावित कार्यसूची नै प्रभावित हुने देखिएको छ ।’

प्रचण्डको सचिवालयका अनुसार शुक्रबार प्रचण्ड चितवनबाट आएपछि दुई अध्यक्षबीच सभामुखबारे कुराकानी हुने र टुङगोमा पुग्ने तयारी छ ।

संसद सचिवालयले शुक्रबार दिउँसो सभामुख निर्वाचनका लागि मिति  तय गर्ने गरी शुक्रबारको बैठकमा सम्भावित कार्यतालिका सार्वजनिक गरेको थियो । संसद्को कार्यव्यवस्था समिति बैठकले १३ गते १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता र १४ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको थियो । तर शुक्रबार संसद बैठक नै नबसे अरु थप केही दिन लम्बिने निश्चित छ ।

निर्णय कुर्दै तुम्बाहाङ्फे

नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘उपसभामुख शिवमाय तुम्बाहाङ्फेले राजीनामा नदिँदा पनि समस्या देखियो । वहाँ अझै पनि आफूले नै सभामुख पाउनुपर्छ भन्ने अड्डी लिएर बस्नुभएको छ ।’ ती नेताका अनुसार तुम्बाहाङ्फेले अध्यक्षद्वयलाई भेटेर ‘गल्ती महराले गर्ने, राजीनामा मैले गर्नुपर्ने ?’ भन्ने दबाब दिएकी छिन् ।

तर, तुम्बाहाङ्फे निकट स्रोत भन्छ, उनी बिहीबार नै राजीनामा दिएर सभामुखमा उम्मेदवारी दिन नेकपालाई सहज बनाउने पक्षमा थिइन् । उनले आफु निकटकाहरुलाई राजीनामा तयार पार्न बुधबारै भनेकी थिइन् । त्यही अनुसार उनको राजीनामा समेत तयार भैसकेको थियो । तर बुधबारदेखि पार्टीको निर्णय कुरेर बसेकी तुम्बाहाङ्फेलाई शुक्रबार विहानसम्म पनि पार्टीबाट कुनै निर्देशन आएन । त्यसैले उनले राजीनामा दिन पाएकी छैनन् । ‘पार्टीको निदेशन आउपछि संसद सचिवालयमा राजीनामा दर्ता गर्ने तयारी थियो तर निर्णय आइनसकेकाले प्रकृया अघि बढेको छैन’ उपसभामुख तुम्वाहाम्फे निकट स्रोतले भन्यो, ‘निर्णय करेर बस्नुभएको छ । उताबाट निर्णय आउनेवित्तिकै राजीनामा दिनुहुन्छ । उतैबाट ढिला भएपछि राजीनामा दिन पनि ढिला भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप