बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इराकमा प्रधानमन्त्री गठनमा ढिलाइ, सडक आन्दोलन जारी

बिहीबार, १० पुस २०७६, १८ : ५८
बिहीबार, १० पुस २०७६

नासिरिया । इराकका सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको चयनमा ढिलाई भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाएका छन् । प्रदर्शनकारीले नासिरिया, बस्रा र दिवानियाका सडक तथा पुलहरूमा रातभर पनि यातायात अवरूद्ध पारेका छन् । तर केही भाग बिहीबार बिहान केही सडकहरूलाई अतिआवश्यक सामान ढुवानी र सेवाका लागि खुला गरिएका छन् । प्रदर्शनकारीले सडकमा टाएर र काठका मूढाहरू सल्काएर यातायात सेवालाई प्रभावित पारेका बताइएको छ ।

इराकमा सन् २००३ मा सद्दाम हुसेनलाई पदच्युत गरेपछि निकै कमजोर बनेको कुर्दिस समूहले भ्रष्टाचार, बेथिति र अस्थिरताको फाइदा लिन थालेको पनि विष्लेषक अदेल बाकावानले बताए । प्रधानमन्त्रीको चयनमा देखिएको अनिश्चितता कुर्दिसहरूलाई शक्ति आर्जनको सहज पाटो बनेको उनको विश्लेषण रहेको छ । इराकमा नयाँ प्रधानमन्त्रीको नेतृत्व चयनमा जति ढिलाई हुन्छ यसले त्यहाको सिया समुदाय र अमेरिकाविरोधी जनमत सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन् ।

प्रधानमन्त्री मेहदीले केही हप्ता पहिले पदबाट राजीनामा दिने घोषणा गरेपछि नेताहरूबीच नेतृत्वको आकांक्षा लिएर अमेरिका, इरान, लेबनानी हेजबुल्लाह समूहलगायतका शक्ति केन्द्रको विश्वास जित्न नेताहरूबीच होडबाजी चलेको थियो । तर नेतृत्वको बहस सहज भने देखिएको छैन । 

अधिकारवादी समूहका एक सदस्य सतार जब्बरले भने, ‘सरकार भ्रष्ट दलहरू र विभाजनकारी शक्तिको फन्दामा परेको छ जसका कारण नयाँ नेतृत्व चयनमा कठिनाई भइरहेको छ ।’ इराकी राजनीतिज्ञ तथा तिनीहरूका क्षेत्रीय सहयोगी दलहरूले नयाँ प्रधानमन्त्रीको चयनका लागि बग्दादमा बहस भइरहेको छ ।  स्लामिक शहरहरूमा करिब दुई महिना लामो भ्रष्टाचारविरोधी आन्दोलन पछि प्रधानमन्त्री अदेल अब्देल मेहदीले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको चयनका लागि डिसेम्बरको सुरूदेखि बहस शुरू भएको थियो । 

प्रदर्शनकारीले इराकमा जरैदेखि नेतृत्वसम्मको सुधारको माग गर्दै देशको दक्षिणी क्षेत्रमा बाहुल्यता भएको सिया समुदायले प्रदर्शनको नेतृत्व लिएको थियो । इराकमा लामो समयपछि मूल्य वृद्धि, भ्रष्टाचार नियन्त्रण र सरकार परिवर्तनलगायतका मुद्दामा नागरिकको ठूलो सहभागिता भएको हो ।

अक्टोबरमा सुरू भएको र सत्ताधारी उच्च नेतृत्वका लागि चुनौति बनेको आन्दोलनका क्रममा देशभर करिब ५०० जनाको मृत्यु भएको छ भने २० हजारभन्दा बढी घाइते भएका छन् । मृत्यु र घाइते हुनेमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी सिया समुदायका नागरिक परेका छन् भने केही प्रहरी र पूरानो सत्ता पक्षधर मानिसहरू पनि रहेका छन् ।

प्रदर्शनले निकै हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री मेहदीले औपचारिक राजीनामा दिएका थिए । नयाँ नेतृत्वका लागि इराकका सिया समूहका प्रमुख दुई सहयोगी दल ‘इरानियन रिभोलुसनरी गाड्र्स’का कमाण्डर मेजर जनरल कसीम सोलेमनी र लेबनानी सत्तापक्षका मध्यस्थताकर्ता मोहम्मद काथारानीले इराकी नेताहरूलाई भेटी प्रधानमन्त्रीको उम्मदवारीबारे सुझाब दिएका उच्च राजनीतिक स्रोतले एएफपीलाई बतायो ।

इरानी नेता सोलेमनीको उपस्थितिपछि इराकको राजनीतिलाई वर्वादीतर्फ धकेल्न इरानले हस्तक्षेप थालेको अमेरिकाको आरोप छ ।  तर इराकमा सिया तथा उत्तरमा प्रभाब जमाएको कुर्दिस अधिकारी साथै इराकका सहयोगी अमेरिका र इरानको चित्त बुझाएर नेतृत्व चयनका लागि हम्मेहम्मे परेको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप