बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उपाध्यक्षलाई चिनियाँ टोलीको उपहार : ‘लोकल रक्सी र ग्रीन टी’

बिहीबार, १० पुस २०७६, १७ : ४९
बिहीबार, १० पुस २०७६

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाल र चिनियाँ जननैतिक परामर्शदातृ सम्मेलन इपिङ्ग नगर कमिटी अध्यक्ष लिउ स्याओ लिको टोलीबिच भेटवार्ता भएको छ । लिको टोलीमा आएका अन्य ७ जना प्रतिनिधी र उपाध्यक्ष दाहालबीच बिहीबार दिउँसो संघीय संसद सचिवालयमा भेटवार्ता भएको हो ।  

इपिङ नगर कमिटी अध्यक्ष लिले अध्ययन भ्रमण र दुई देशबीचको मित्रतालाई नवीकरण गर्न नेपाल आएको उल्लेख गरिन् । उनले चीनको इपिङ्ग महानगरपालिका र नेपालको लेखनाथ पोखरा महानगरपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको बताउँदै नेपालको चिया कम्पनी र त्यहाँको चिया कम्पनीबीच पनि आपसी सम्बन्ध रहेको जानकारी गराइन् । 

अध्यक्ष लिले चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले नेपाल भ्रमणका क्रममा नेपाल चीनको असल छिमेकी मित्र रहेको बताउँदै दुबै देश र जनताका साझा काम अघि बढाउन जोड दिएको स्मरण गराइन् । उनले राष्ट्रपति सीले दुई देशका बीचमा आर्थिक सहकार्यलाई अघि बढाउनुका साथै शैक्षिक, पर्यटनको क्षेत्रमा अघि बढाउन निर्देशन दिएको जानकारी गराइन् । 

उनले इपिङ महानगरपालिकामा उपराष्ट्रपति नन्दबहादुर पुनले भ्रमण गरेको र सो नगरपालिकाका उपप्रमुखले पनि नेपालको भ्रमण गरेको जानकारी दिइन् । 

अध्यक्ष लिले सिचुवान प्रान्तमा रहेको इपिङ्ग नगरपालिका रक्सी र चिया उत्पादनको राजधानीको रुपमा रहेको जानकारी दिइन् । उनका अनुसरा ५५ लाख ६० हजार जनसंख्या रहेको सो महानगरपालिकामा चिया उत्पादनको ३ हजार वर्ष पुरानो इतिहास र रक्सी उत्पादनको ४ हजार वर्ष पुरानो इतिहास रहेको जानकारी गराइन् । 

उनले नेपालसँग कृषि तथा चिया उत्पादनका क्षेत्रमा आपसी सहयोग गर्न इच्छुक रहेको पनि उल्लेख गरिन् । 

यता राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले नेपाल भ्रमण गरेकोमा धन्यवाद दिँदै केही पहिले भएको चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल आभारी रहेको बताइन् । उनले नेपालमा खेतीयोग्य जग्गा बाँझो रहेको अवस्थामा चिया तथा अन्य खेतीमा सहयोग आदान प्रदान महत्वपूर्ण हुने बताउँदै नेपालले सन् २०२० मा पर्यटन वर्ष मनाउन लागेकोले चिनियाँहरुलाई नेपाल घुम्न आउने सन्देश दिन पनि आग्रह गरिन् । 

चिनियाँको चिनो रक्सी, उपाध्यक्षले केही दिइनन् 
दुई देशका बीचमा आपसी छलफलपछि चिनियाँ टोलीले उपाध्यक्ष शशीकला दाहाललाई उपहार दिए । चिया र रक्सी उत्पादनमा प्रख्यात रहेको नगरबाट आएका उनीहरुले आफ्नो स्थानीय उत्पादन रक्सी र ‘ग्रीन टी’ उपाध्यक्षलाई उपहारको रुपमा दिए । लि स्याओ लिले स्थानीय रक्सी उत्पादन रक्सी उपहारको रुपमा दिएकी थिइन् भने उनीसँगै आएका अन्य ४ जना चिया कम्पनीका प्रतिनिधिहरुले ग्रीन टी उपहार दिएका थिए । 

चिनियाँ टोलीले दिएको उपहार लिएपनि उपाध्यक्ष दाहालले भने नेपालको प्रतिनिधित्व झल्कने कुनै उपहार दिइनन् । खासगरी यस्ता भेटघाटमा उपहार आदान प्रदान गर्ने चलन हुन्छ । 

यसअघि गत कार्तिक ७ गते प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा चिनियाँ बजार अनुगमनका लागि राज्य प्रशासन उपमन्त्री ट्याङ जुन नेतृत्वको ५ सदस्यीय टोलीले आफ्ना अनुभव आदान प्रदान गरेको थियो । सो छलफलको अन्त्यमा चिनियाँ टोली समितिका सभापति विमल कुमार श्रीवास्तवलाई बेइजिङबाट ल्याइएको उपहार दिएका थिए । तर सभापति श्रीवास्तवले पनि कुनै उपहार फर्काएका थिएनन् ।  

चिनियाँ टोली समितिको हलबाट बाहिरिने बित्तिकै एक सांसदले सभापति श्रीवास्तवलाई सोधेका थिए, ‘हामीले उपहार लिने मात्रै ? उनीहरुलाई चाहिँ केही उपहार दिनुपर्दैन, यो के तरिका हो ? अर्कोपटक देखि यस्तो नहोस् ।’

उपाध्यक्ष दाहाललाई भेट्न आएका ८ सदस्यीय प्रतिनिधि मण्डलले आजै चिया तथा कफि विकास बोर्डमा पनि छलफल गरेको थियो । हिजो बौद्धनाथको भ्रमण गरेका उनीहरुले आज भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । भोलि चीन फर्किने उनीहरुको कार्यक्रम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप