शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा पाँच महिनामा ७६ जनाको मृत्यु

बिहीबार, १० पुस २०७६, १२ : ५४
बिहीबार, १० पुस २०७६

– अच्युत रेग्मी

काठमाडौं । सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो । 

सृष्टिको मृत्यु भएको भोलिपल्टै मङ्गलबार बिहान चन्द्रागिरि नगरपालिका–७ चेकपोष्टमा छोरालाई विद्यालय पु¥याउन हिँडेका अर्जुन केसीको सवारी दुर्घटनामा मृत्यु भयो । नम्बर नखुलेको सवारीले मोटरसाइकलमा रहेका अर्जुनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो भने छोरा गम्भीर घाइते भए । 

यी केबल प्रतिनिधिमूलक घटनामात्र हुन् । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण कैयौँले अकालमा ज्यान गुमाउनुपरेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट ७६ जनाले ज्यान गुमाएका छन्, जसमा ६० पुरुष र १६ महिला छन् ।

मृत्यु भएकामध्ये पैदलयात्रु ३२, मोटरसाइकल तथा स्कुटर दुर्घटना ३४, ट्रक तीन, साइकल एक, कार एक र बसबाट पाँच रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश दुर्घटना तीव्रगति र चालकको लापर्वाहीका कारण हुने गरेको बताउँछन् ।

‘पैदलयात्रुले जथाभावीरुपमा बाटो काट्दा पनि सवारी दुर्घटना हुने गरेको छ’, उनी भन्छन् । बढ्दो सवारी चाप र सडकको जीर्ण स्थितिले वर्षेनी सवारी साधन दुर्घटना र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको उनको भनाइ थियो । उपत्यकामा पाँच महिनाको अवधिमा नौ हजार ६९८ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परेकामध्ये सबैभन्दा धेरै तीन हजार ७६९ मोटरसाइकल र स्कुटर रहेका छन् । 

यस्तै कार, जीप भ्यान तीन हजार ७४०, बस एक हजार २४१, ट्रक, टिपर ९२२, माइक्रो १५६, टेम्पो ७३ र शारीरिक शक्तिबाट चल्ने ६७ सवारी साधन दुर्घटनामा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका सडकमा जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग नगरी जथाभावीरुपमा बाटो काट्दा धेरै दुर्घटना हुने गरेको बताउँछन् । ‘हुस्सु लाग्नु, सडकमा ‘मर्निङ वाक’ गर्नु, पर्याप्तमात्रामा आकाशे पुल र जेब्रा क्रसिङ नहुनुका कारण पनि दुर्घटना बढेको छ’, उनी भन्छन् । 

उपत्यकामा भएका खाल्डाखुल्डी पुर्दे ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा समिति बनाएर काम गरिएको छ । उक्त समितिले उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्ने, करिडोरको विस्तार गर्ने र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने काम गर्दछ । बाटो विस्तार र सडकमा भएका खाल्डाखुल्डी पुरेसँगै सवारी दुर्घटनामा कमी हुने लक्ष्य सरकारले लिएको छ । 

उपत्यकामा आव २०७४/०७५ मा १९४ र आव २०७५/०७६ मा २५४ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । त्यस्तै यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप