‘आँखा चिम्लिएँ, प्रार्थना गरेँ र मृत्युवरण गर्न तयार भएँ’
सन् २००४, डिसेम्बर २६ तारिख, घडीमा बिहानको आठ बज्नै लागेको थियो । अचानक उत्तरी इन्डोनेशियाको समुद्र मुनी ९.१ म्याग्निच्युडको भूकम्प गयो ।
त्यसको केही समयपछि हिन्द महासागरमा भयानक सुनामी उर्लियो जसले विश्वभर करिब दुई लाख ३० हजारको ज्यान लियो, जसमध्ये धेरै इन्डोनेसियाका थिए ।
उक्त त्रासदीको १५ औँ वर्षगाँठ नजिकिँदै गर्दा बीबीसी थाइका चाइयोत योङ्गचारियोन्चाइले सुनामीले तहसनहस बनाएको दक्षिणी थाइल्याण्डको भ्रमण गरे ।
यहाँ सुनामीमा बाँचेकाहरुले घटनापछि सहयोगका लागि के गरे भन्ने जानकारी दिइएको छ । कतिपय विवरणले तपाईंलाई विचलित पनि बनाउन सक्छ ।
विताया तानावानिच– उद्धारकर्ता, पोटाङ्ग तट
त्यो दिन बिहान पोटाङ्ग तट निकै शान्त थियो । मलाई पोटाङ्ग अस्पताल नजिकै रेस्क्यू ट्रकमा खटाइएको थियो । मलाई भोक लाग्यो । केही खानका लागि म तट नजिकै गएँ ।
डा. विरावित सारिदिपन– तत्कालीन डाक्टर भाचिरा फुकेट अस्पताल
अफिसमा स्टाफ पार्टीको भोलिपल्टको दिन थियो । त्यसदिन मेरो छुट्टी थियो । म सुतिरहेको थिएँ । बिहान ८ बजे मेरो घरको बेडरुमको काठको झ्याल हल्लिरहेको थियो । बाहिर भएको कारका कारण यस्तो भएको होला भनेर श्रीमतीलाई भनेर पुनः गुजुल्टिएर सुतेँ ।
सामरान चान्याङ्ग – यान याओ मन्दिरमा अन्त्येष्टि आयोजनाका प्रमुख
सन् २००४ को डिसेम्बर २६ को बिहान मैले प्रार्थना समारोहको नेतृत्व गरिरहेको थिएँ । त्यस दिन बौद्ध धर्मावलम्बीहरुको पवित्र दिन थियो । सबैले सुनोस् भनेर मैले माइक्रोफोनमा प्रार्थना भनिरहेको थिएँ । अचानक बत्ती गयो र हामीले भूकम्प महसुस ग¥यौँ । स्पिकरबिना नै मैले आफ्नो प्रार्थनालाई निरन्तरता दिएँ ।
विताया तानावानिच
तटमा बसेर दृश्यावलोकन गर्दै मैले ब्रेकफास्ट खाइरहेको थिएँ । जब म त्यहाँ बसे बिहानको करिब ८ बजे मैले भूकम्पको धक्का महसुस गरेँ । कोही पनि डराएको र आत्तिएको देखिनँ । आपत्कालीन फोनको प्रतिक्षा गरेर म त्यहीँ बसिरहेँ ।
साथापोर्न सावाङ्गपुक – माहिदोल डुङ्गाका क्याप्टेन
हामी हिन्द महासागरको एक महिने लामो मरिन रिसर्च भ्रमणबाट फर्किरहेका थियौँ । इन्टर्नका लागि ड्राइभिङ शिक्षाका लागि हामी फुकेटस्थित कोह राचा आइल्याण्डमा रोकियौँ । समुद्र निकै शान्त थियो, आकाश निलो र खुल्ला थियो । मैले मेरो समूहलाई भने, ‘समुद्रमा हुनुको उत्कृष्ट दिन हो यो ।’
प्रिम्प्राओ जित्पेन्तोम – माहिदोल डुङ्गाकी नर्स
मैले बैङ्ककका साथीहरुलाई आइतबार बिहान डाइभिङ ट्रिपमा लगेको थिएँ । मैले यो धेरै पटक गरिसकेकी थिएँ तर मेरा श्रीमान्ले भने पानीभित्रको संसार कहिल्यै पनि देखेका थिएनन् । मैले उनलाई यसो गर्दा निकै मजा आउने बताएको थिएँ ।
क्याप्टेन साथापोर्न सावाङ्गपुकः
ब्रेकफास्टपछि हामी सबै इन्टर्नले प्रशिक्षकसँग डाइभ गरेको हेर्न गयौँ । एक्कासी मैले डुङ्गा उचालिएको र दायाँ बायाँ घुमेको महसुस गरेँ । के भयो कसैलाई पनि थाहा थिएन तर मेरो मनले चाहिँ डुङ्गा चलाएर समुद्रको बीचमा जान भनिरहेको थियो ।
प्रिमप्राओ जित्पेन्तोमः
हाम्रो स्पिडबोट किनारा नजिकै जाँदै थियो । एक्कासी हाम्रा डाइभिङ प्रशिक्षकले केही समस्या भएको महसुस गरेपछि बोट ड्राइभरलाई रोकिन भने । उनले समुद्रतर्फ देखाउँदै तटमा पानी नभएको बताए । उनले मलाई भने, ‘यो कदापी राम्रो हुन सक्दैन ।’
विताया तानावानिच – पातोङ्ग किनारा
बिहान १० बजे मैले स्थानीय तरकारी विक्रेताले किनारातर्फ देखाउँदै ‘माछा मार्न जाऔँ’ भनेको सुनेँ । किनाराको पानी समुद्रको बीचतिर पुगेको थियो र त्यहाँ धेरै माछाहरु छरपस्ट भएको उनीहरुले बताइरहेका थिए । मैले जे देखेँ त्यसमा मलाई हाँसो उठ्यो तर त्यो हाँसो धेरै बेरसम्म टिक्न सकेन । केही गलत भइरहेको मैले महसुस गरेँ । जब पानी फर्कियो तब एक विक्रेता दौडिएर आए र तटीय क्षेत्रबाट जतिसक्दो चाँडो भाग्न सल्लाह दिए ।
क्याप्टेन साथापोर्न सावाङ्गपुकः
टापुको किनारातिर हेर्दा मैले एउटा ठूलो छालले किनारालाई हानेको र छाता र कुर्सीलाई समुद्रमा सोहोरेको देखेँ ।
विताया तानावानिचः
फिल्ममा देखिएजस्तै त्यो हत्यारा छालजस्तो देखिएको थिएन । मैले सबैभन्दा पहिला अचानक आएको बाढी जस्तो देखेँ जसले ठूलो मात्रामा पानी बहन गरेको थियो । जब बाढी नजिकियो तब यसले आफ्नो गति बढाउन थालेको थियो । अन्ततः यो बाटोसम्म आइपुग्यो र लगातार वृद्धि भइरह्यो । म आफ्नो ट्रक चढेँ र माथितिर ड्राइभ गर्न थालेँ । त्यो समय निकै भयानक थियो । धेरै मानिसहरु पानीबाट बच्नका लागि दौडिरहेका थिए ।
सोमचाई जित्पेन्तोम – डाक्टर आफ्नी श्रीमतीसहित
मैले नेभीका साथीलाई फोन गरेँ र उनलाई मलाई त्यो सुनामी भएको बताए । उनले हामीलाई ठूलो जहाज समात्न आग्रह गरेँ । मैले माहिदोल जहाज आइरहेको देखेँ र त्यसलाई रोकेर मद्दतको लागि आग्रह गरे ।
क्याप्टेन साथापोर्न सावाङ्गपुकः
त्यसपछि पानी तल गयो, धेरै टाढा । त्यसले दोस्रो छाल किनारामा पुनः ठोक्कियो । यसपटक उक्त छालले बंगला र रेष्टुरेन्टलाई आफूसँग लिएर गयो ।
सोमचाइ जित्पेन्तोमः
जब हामी जहाजमा बस्यौँ, तब कोह राचा याइका घर र रेष्टुरेन्ट समुद्रमा तानिएको देखेँ । त्यसपछि मैले महसुस गरेँ कि केही डरलाग्दो घटना घटित भएको छ । हामी सबैले के निष्कर्ष निकाल्यौँ भने हामीले नजिकैको टापुमा भएकाहरुलाई सहयोग गनुपर्छ किनभने हामीसँग बोर्डमा दुईजना डाक्टर र दुईजना नर्स थिए ।
प्रिमप्राओ जित्पेन्तोमः नर्स र सोमचाइकी श्रीमती
मैले मेरा दुई छोरालाई बेस्सरी समातेँ र भने, ‘ममी र ड्याडीले तिमीलाई धेरै नै माया गर्छौँ । यदि केही भइहाले यो लाइफ भेस्टसहित तैरिरह । पौडी खेल्ने प्रयास नगर । कसैले तिमीलाई खोजेर मद्दत गर्नेछन् ।’
विताया तानावानिच – पातोङ्ग तट
मैले मेरो वाकीटकीमा दोस्रो छाल उर्लेको भन्ने सुनेँ । त्यसपछि म तल गएँ । त्यतिबेला मलाई के भएको थियो भनेर यकिनका साथ थाहा थिएन, मलाई एउटै मात्र कुरा थाहा थियो कि मैले मानिसहरुलाई सहयोग गर्नुपर्छ ।
सामरान चान्याङ्ग – यान याओ मन्दिरका प्रमुख
अरु दिन झैँ त्यो दिनको कार्यक्रम समाप्त भयो । त्यसपछि म मन्दिर नजिकै भएको आफ्नो घरमा गएँ ।
मैले अचानक थुप्रै कारहरु मुख्य सडकमा बत्तिएको देखेँ । ती सबै कारहरु उच्च गतिमा कुदिरहेका थिए र सकेसम्म त्यो क्षेत्र चाँडोभन्दा चाँडो पार गर्न चाहन्थेँ । त्यसपछि स्थानीयले समुद्र किनारामा भएका सबै कुरा छालले एकै गाँस पारेको कुरा गर्न थाले ।
डा. विरावित सारिदिपन – फुकेट अस्पतालका तत्कालीन डाक्टर
जब म बिहान १० बजेतिर उठेँ मैले मेरो परिवारलाई ब्रेकफास्टका लागि बाहिर लगेको थिएँ । त्यसपछि मलाई अस्पतालबाट इमर्जेन्सीका लागि फोन आयो । हामीले ठूलो विपत्ति आइलाग्दा के गर्ने भनेर योजना त बनाएका थियौं तर यस्तो विघ्न आपतकालीन अवस्थामा के गर्ने भनेर चाँही सोचेका पनि थिएनौं तसर्थ योजना पनि थिएन ।
विताया तानावानिच – पोताङ्ग तट
मलाई एउटा सुपरमार्केटमा जान भनियो जहाँ मानिसहरु भित्र थुनिएका थिए । जब म त्यहाँ पुगेँ तब मैले सुपरमार्केटको बेसमेन्टमा स्टाफहरु मुख घोप्टो पारेर तैरिरहेको देखेँ । तीमध्ये कति बाँचेका पनि थिए तर धेरैजनाको मृत्यु भइसकेको थियो ।
समरान चानयाङ्ग – यान याओ मन्दिरमा
मैले टिभी खोलेँ र आफ्नो क्षेत्रमा के भइरहेको छ हेरेँ । मलाई त्यसअघि सुनामीबारे थाहै थिएन । म चकित परेँ र चिन्तित पनि भएँ किनभने मेरो छोरा फुकेटको उत्तरी क्षेत्रमा पर्ने खाओ ल्याकमा काम गर्न गएको थियो । ऊ पेन्टर थियो कि त्यो दिन उनको कामको अन्तिम दिन थियो । त्यसको भोलिपल्टदेखि उनको लामो बिदा निश्चित भइसकेको थियो । मैले उनलाई सम्पर्क गरेँ तर ऊसम्म पुग्न असफल भएँ ।
प्रिमप्राओ जित्पेन्तोम – डाइभिङ ट्रिप
हामीले फीफी टापुमा जाने निश्चित ग¥यौँ किनभने त्यहाँ अत्यधिक क्षति भएको थियो । जब हामी पुग्यौं, त्यहाँको दृश्य मैले कल्पना पनि गरेको थिइनँ । मैले जताततै शवहरु पानीमा तैरिरहेको देखेँ ।
विताया तान्तावानिचः
जब हामीले सुपरमार्केटमा मानिसहरुको उद्दार गर्न प्रयास गरिरहँदा बाहिरबाट अर्को छाल आउँदै गरेको चिच्याहट सुनेँ । मैले बाहिर निस्कने नजिकको बाटो हेरिरहेको थिएँ तर म यसमा सफल हुन्छु भन्ने पनि लागेन । त्यसकारण मैले आँखा चिम्लिएँ, प्रार्थना गरेँ र मृत्युवरण गर्न तयार भएँ । भाग्यवश, यो बाटोसम्ममात्रै आइपुग्यो ।
डा. विरावित श्रीदिपनः
सयौँ मानिसहरुलाई भित्र राखियो । तीमध्ये धेरैको हड्डी भाँच्चिएको थियो भने कतिको शरीरमा काटिएका चोट थिए । त्यसपछि शवहरु आउन थाले ।
समरान चान्याङ्ग – यान याओ मन्दिर
मेरो छोराका तीनजना साथीले ऊ हराइरहेको भन्ने जानकारी दिए । म उसलाई खोज्न बाहिर जानै लागेको थिएँ तब मलाई अस्पतालबाट फोन आयो । शव राख्न उनीहरुलाई स्थानको आवश्यकता भएको बताए त्यसकारण उनीहरुलाई कुरेर म मन्दिर भित्रै बसिरहेँ । बेलुकी सात बजेतिर सयौँको संख्यामा शवहरु आउन सुरु भए । हामीसँग उचित स्थान थिएन त्यसकारण हामीले शवलाई प्लास्टिकमा बेरेर सेतो कागजमा बेर्यौँ र मन्दिरको भुइँभरी राख्यौँ ।
डा. विरापित श्रीदिपनः
अस्पतालका निर्देशकले मलाई शवभित्र माइक्रोचिप्स इम्प्लान्ट गर्न अह्राए । निर्देशकलाई पनि फोरेन्सिक पुलिसले यसो गर्न भनेका थिए । जब म पहिलो पटक अस्पताल पुगेँ तब स्थानीय पुलिसले मलाई वात यान याओमा पुर्याए जहाँ हज्जारौँ शव सनाखत हुन बाँकी थिए । जब म मन्दिर भित्र पुगेँ तब मैले शवको अत्यधिक गन्ध महसुस गरेको थिएँ जुन यसअघि मैले कहिले पनि अनुभव गर्न पाएको थिइनँ । मन्दिरका भुइँ रगतले छोपिएका थिए ।
पिमप्राओ जित्पेन्तोम
हामीले जीवितलाई मात्रै बचाउने निश्चय गर्यौं र अन्तत चार सय पर्यटक र स्थानीयलाई बचाउन सफल भयौं । त्यसदिन धेरै मानिसको उद्धार गर्न पाउँदा हामी खुसी छौँ ।
सामरन चानयाङ्ग
त्यसको भोलिपल्ट थप शवहरु आउन थाले । सेनाले शव राख्न कन्टेनर ल्याउन थाले । दोस्रो दिनमा मैले शवको पहाड नै देखेँ जुन निकै दुःखदायी थियो ।
म मेरा अन्य छोरा र साथीहरुसहित जेठो छोरालाई खोज्न थालेँ । उसलाई खोज्न आधा दिन लाग्यो । ऊ जुन घरमा बसेको थियो त्यहाँ ऊ थुनिएको रहेछ र उसको भित्रै मृत्यु भयो ।
विताया तान्तावानिच – पातोङ्ग तट
म जीवनभरी एक उद्धारकर्ताको रुपमा रहेँ तर यस्तो भयावह दृश्य यसअघि कहिले पनि देखेको थिइनँ ।
क्याप्टेन साथापोर्न सावाङ्गपुकः
यो कहिल्यै नदेखेको छाल थियो ।