शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमाजस्तै फिलिपिन्स र कम्बोडियामा पनि अवैद्य चिनियाँहरु ‘टाउको दुखाइ’

प्रहरी अपरेसनमा २ हजार बढी पक्राउ
बुधबार, ०९ पुस २०७६, १६ : ४४
बुधबार, ०९ पुस २०७६

काठमाडौँ । चिनियाँ नागरिकहरु नेपालमा जस्तै फिलिपिन्स र कम्बोडियामा पनि ‘टाउको दुखाइ’को विषय बन्दै आएका छन् ।

गैरकानुनी काममा संलग्न चिनियाँ नागरिकका कारण फिलिपिन्स र कम्बोडियामा पनि बेलाबखत त्यहाँको सरकार र सुरक्षा निकायले कडा कदम चाल्दै आएको छ ।

पछिल्ला दिनमा नेपालमा चिनियाँ नागरिकहरु सुन तस्करी, एटीएम ह्याक, ठगीजस्ता गतिविधिमा बढी सक्रिय हुन थालेको पाइन्छ । प्रहरीले बेलाबखत यस्ता गतिविधिमा संलग्न ठूलै गिरोहलाई समेत पक्राउ गरेको छ ।

चिनियाँहरुको गैरकानुनी गतिविधिले फिलिपिन्स पनि वाक्क भइसकेको छ ।

गत महिना फिलिपिन्समा सुरक्षाकर्मीले ३२४ चिनियाँ नागरिकलाई गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । उनीहरुलाई विभिन्न आठ होटल र पश्चिमी प्रान्तका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको फिलिपिन्स अध्ययागमन व्युरोको भनाइ छ ।

पक्राउ गरिएकाहरु ‘अनलाइन जुवा’ तथा अन्य विभिन्न अपराधमा संलग्न रहेको बताइन्छ । त्यसअघि २७७ चिनियाँ नागरिकलाई अनलाइनमार्फत रकम ठगीको आरोपमा पक्राउ गरिएको थियो । एक साताको अन्तरालमा कुल ६०१ चिनियाँ नागरिकलाई फिलिपिन्स प्रहरीले ठगी, अनलाइन जुवा जस्ता आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो ।

अनधिकृत काम गर्ने तथा फिलिपिन्सका कानुनले निषेध गरेका गतिविधिमा संलग्न हुने चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको फिलिपिन्स अध्यागमन कार्यालय प्रमुख जैमी मोरेन्टेको भनाइ छ ।

चीनले नै गैरकानुनी गतिविधिमा संलग्न आफ्ना नागरिकबारे कारवाहीका लागि फिलिपिन्स सरकारलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराएको बताइन्छ । गत महिना फिलिपिन्सस्थित चिनियाँ दूतावासले नै फिलिपिन्समा आफ्ना मुलुकका केही नागरिक ठगी, अनलाइन जुवाजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको र यसका लागि ठूलो परिमाणमा चिनियाँ मुद्रासमेत खर्च गरिएको तथ्य प्रकाशमा ल्याएको थियो । लगत्तै फिलिपिन्समा अवैध रुपमा बसोबास गर्दै आएका, गैरकानुनी गतिविधिमा संलग्न रहँदै आएका चिनियाँविरुद्ध निगरानी र धरपकड गरिएको थियो ।

कम्बोडियामा पनि चिनियाँ नागरिकहरुले यस्ता कार्यलाई निरन्तरता दिँदै आएको पाइन्छ । एक वर्षको अवधिमा करिब एक हजार चिनियाँ नागरिकलाई कम्बोडिया प्रहरीले नियन्त्रणमा लिएको छ ।

कम्बोडियामा पनि चीन सरकारले नै चिनियाँ नागरिकको अवैध गतिविधिविरुद्ध कम्बोडिया सरकारलाई सघाउँदै आएको छ । चीन र कम्बोडिया सरकारको सहकार्यमा नै त्यहाँ गैरकानुनी गतिविधिमा संलग्न रहँदै आएका चिनियाँ नागरिकविरुद्ध कारवाही थालिएको हो ।

कम्बोडियामा पनि चिनियाँ नागरिकहरु अनलाइन जुवा, ठगीजस्ता धन्दामा संलग्न रहँदै आएको बताइन्छ । दुई देशबीच यस्ता गतिविधि नियन्त्रणका लागि सहकार्यको सहमति नै भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप