शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमान‍्को कुटाइबाट श्रीमति अस्पतालको शैय्यामा, खर्च नहुँदा अस्पतालकै बास

अन्तरजातीय बिहेको असर : घरलाई वास्ता छैन
बुधबार, ०९ पुस २०७६, १३ : ३२
बुधबार, ०९ पुस २०७६

बुटवल  । पाल्पा रामपुरकी १८ वर्षीया पूजा सोमै (ठगिसरा) रुपन्देहीको क्रिमशन अस्पतालमा अर्धचेत अवस्थामा छिन् । श्रीमान् भोमे सौमेले अरु केटासँग कुराकानी गरेको भन्दै असोज ८ गते पूजालाई मरणसन्न हुने गरी कुटपिट गरेका थिए ।

शुरुमा पाल्पाको प्रभाव मेडिकल कलेजमा उपचार गरेपनि त्यहाँ स्वास्थ्यमा सुधार नआएपछि थप उपचार लागी रुपन्देही ल्याएको हो । उनको दुई महिनादेखि अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमान्को कुटाइबाट शारीरिक अवस्था दयनीय त छँदैछ, त्यसमाथि पनि आर्थिक रुपमा पनि उनको अवस्था दयनीय बन्न पुगेको छ । अस्पतालबाट घर लैजान चन्दा उठाइएको छ । तर, त्यो पैसा पनि अपुग छ । अहिले पूजाका बुबा ५६ वर्षीय लालबहादुर परियार आर्थिक साहयताको लागि दौडधुप गरिरहेका छन् । श्रीमान् कुटपिटबाट पूजाको टाउको फुटेको छ, दायाँतर्फको शरीरको भाग चल्दैन ।

असोज २९ गते क्रिमशन अस्पतालमा पूजालाई भर्ना गरिएको हो । अस्पतालका न्यूरोसर्जन डा. बलराम न्यौपानेले टाउको र घाँटीको समेत शल्यक्रिया गरिसकेका छन् । चिकित्सकले डिस्चार्ज दिएको एक महिना भइसक्यो । तर, पूजाका परिवारले अस्पतालको पैसा तिर्न नसकेपछि अस्पताल छाड्न सकेका छैनन् ।

पैसा खोज्न अस्पतालले पनि प्रशस्त समय दिएको थियो । तर अब भने पैसा भएन भनेर अस्पतालमा बिरामी राख्न नसक्ने बताएको छ । अस्पताल प्रशासनले बिरामीलाई घर लैजान पटक–पटक ताकेता गरेको छ । ‘बिरामीलाई घर लैजानुस्, खोइ त पैसा तिरेको भनेर पटक पटक प्रशासनबाट खबर आएको छ,  पैसा छैन यहिँ बसेको छु,’ लालबहादुरले भने ।

उनका अनुसार क्रिमशसनमा अपरेशन र बेडचार्ज गरि करिब २ लाख रुपैयाँ तिर्न बाँकी छ । ‘औषधी आदि गरेर २ लाख जति तिरिसकेको छु ।  अब मसगँ पैसा छैन्,’ उनले भने ।

कारागरमा श्रीमान्

पूजालाई मरणसन्न हुने गरि कुटपिट गरेपछि भने महिला हिंसाको अभियोगमा श्रीमान् भोमे सौमै पाल्पा प्रहरीको हिरासतमा छन् । निस्ती गाउँपालिका ५ पाक्दिकी पूजाले ३ वर्षअघि भोमे सौमैसँग अन्तरजातीय विवाह गरेकी थिइन् । बिहे भएपछि श्रीमान् वैदेशिक रोजगारीको लागि दुवाई पुगे । त्यहाँ दुई वर्ष काम गरे । दुवाई जानको लागि ससुराली पक्षले पनि केही आर्थिक सहयोग गरेका थिए । गत भदौ २६ गते उनी घर फर्किएका थिए । तीन वर्ष पहिले बिहे भएका यी दम्पत्तिको सन्तान भने छैन । अहिले श्रीमति अस्पतालको शैय्यामा छिन् भने श्रीमान् प्रहरीको चिसो खोरमा ।

अन्तरजातीय बिहेको असर : घरका परिवारलाई वास्ता छैन

पाल्पाकी पूजा परियार र भोमे सौमे तीन वर्ष अघि प्रेम सम्वन्ध कायम भएको थियो । विवाहअघि पूजा गर्भवति भइन् । गर्भपतनको लागी दुवै जना काठमाडौँस्थित एक अस्तापल पुगे । त्यहाँ पूजाको स्वास्थ्यमा समस्या आयो । यो कुरा पूजाका बुवाले थाहा पाए । काठमाडौँबाट पूजालाई घरमा ल्याए अनि स्थानीयहरुको रोहवरमा भोमेसँग अन्तरजातीय बिहे भयो ।

असोज असोज ८ गते कुटपिटपछि माइती पक्षलाई थाहा नदिइ प्रभाव मेडिकल कलेजमा ल्याएको थियो । त्यहाँ असोज ९ देखि असोज २८ गतेसम्म उपचार भयो । निको नभएपछि असोज २९ देखि तिलोत्तमा स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ ।

क्रिमसन अस्पतालमा लैजाने बेलामा प्रहरीले माइती पक्षलाई बोलाउन भनेपछि मात्र पूजाको बुवालाई खवर गरेका थिए । अहिले उनीहरुले पूजाको उपचारमा कुनै वास्ता नगरेको लालबहादुर बताउँछन्् । चन्दा संकलन गरेर जसोतसो उपचार गराइरहेका छन् । तर, अब भने उपचारको रकम तिर्न नसकेर पूजाका वुवा लालबहादुर छटपटाइरहेका छन् । उनी भन्छन्, ‘पैसा नहुँदा बाँच्नु नै बेकार रहेछ ।’

लालबहादुर जतिसक्दो चाँडो छोरीलाई घर लैजान पाए हुन्थ्यो भन्छन् । ‘तर, पैसा नतिरी अस्पतालले बिरामी लैजान दिँदैन,’ उनी भन्छन् । ।

लालबहादुर छोरीको आडैमा बस्छन् । छोरीलाई हेर्छन्, बोलाउछन् तर उनी बोल्न सक्दिनन् । पूजाको मतिष्कमा ठूलो चोट पुगेकाले तत्तकाल बोल्न सक्ने अवस्था छैन । लालबहादुर स्थानीय तहदेखि प्रदेश सरकारका विभिन्न निकाय धाए । तर अपेक्षीत सहयोग पाएनन् । नेतादेखि सांसदसम्म पनि कुरा उनीहरुले पु¥याएका छन् । तर ठोस रुपमा भने कसैले सहयोग नगरेको पूजाका दाजु सुवास परियारले बताए । नेतादेखि सांसदसम्म पनि कुरा उनीहरुले पु¥याएका छन् । तर ठोस रुपमा भने कसैले सहयोग नगरेको पूजाका दाजु सुवास परियारले बताए । उनले प्रदेश ५ का सांसद तथा अधिकारकर्मीमाझ महिला हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा गुनासो राख्दा सहयोग पाउने आशा पाएका थिए । तर, अस्पतालमा तिर्ने पैसा भने कहिबाट जोहो हुन सकेन । कतैबाट पनि सहयोग मिलेन । आर्थिक अवस्था अत्यन्तै न्यून भएकाले गाउँमा पनि कसैले ऋण पत्याएनन् ।

क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले आफूहरुले शतप्रतिशत सहुलियत गर्न नसक्ने बताउँदै पैसा जतिसक्दो चाँडो जम्मा गर्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीले पनि अस्पताल चलाउनुपर्छ, केही छुट दिन सकिएला तर सबैथोक गर्न सकिन्न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप