बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ नागरिक पक्राउ प्रकरण : डेढ महिनाअघि नै प्रहरीलाई आएको थियो सूचना

मङ्गलबार, ०८ पुस २०७६, १६ : २८
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौँ । ‘गलत गतिविधिमा संलग्न चिनियाँ नागरिक हामीलाई ठूलो टाउको दुखाइको विषय बनेको थियो, प्रहरी अपरेशनबाट उनीहरुलाई पक्राउ गर्न सफल भइएको छ ।’ सोमबार महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले रातोपाटीसँगको कुराकानीमा भने । 

पर्यटक भिषामा नेपाल आएर अवैधानिक गतिविधि गर्ने विदेशी नागरिकविरुद्ध प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको निर्देशनमा प्रहरीले चिनियाँ नागरिक पक्राउ गर्न सोमबार दिनभर अप्रेशन चलायो । सो अप्रेशनबाट प्रहरीले १२२ जना चिनियाँ नागरिकलई पक्राउ गरेको छ ।  उनीहरुलाई मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

पक्राउ परेका व्यक्तिहरुबाट ५ सयभन्दा बढी कम्युटर, १ हजारभन्दा बढी मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । बरामद कम्प्युटर, मोबाइल र अन्य विद्युतीय सामग्रीलाई परीक्षण गर्ने काम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ ।

उनीहरु चीनमा अनलाइन जुवा खेलाउने, अनलाइनमार्फत नै युवतीहरुका अश्लील तस्बिर र भिडियो देखाउनेदेखि बैंकको एकाउण्ट ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेको पाइएको प्रवक्ता बोगटीको भनाइ छ । 
पक्राउ परेका चिनियाँ नागरिकले अंग्रेजी भाषा नबोलेका कारण बयान लिन कठिनाइ भएको प्रहरीले जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासले समेत ‘स्विप अपरेसन’मा सहयोग गरेको बताइएको छ । 

कहाँबाट आयो प्रहरीलाई सूचना ?
सोमबार एकाएक प्रहरीले ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको खबर मुलधारका मिडियामा प्राथमिकताका साथ छापियो । विभिन्न तरिकाले अड्कलबाजी भयो । तर प्रहरीले डेढ महिनाको अनुसन्धान र तयारीपछि उनीहरुलाई पक्राउ गरेको खुल्न आएको छ । 

चार महिनाअघि दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जना चिनियाँ नागरिक रंगेहात पक्राउ परे । उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको थियो । 

प्रहरीले त्यसयता चिनियाँ नागरिकमाथि झनै निगरानी बढाइरहेको थियो । सोमबार प्रहरीले चलाएको ‘स्विप अपरेसन’ पनि त्यसैको निरन्तरता हो । 

डेढ महिनाअघि महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीलाई श्याम (नाम परिवर्तन) कार्यालयमै भेट्न पुगे । उनले अधिकांश चिनियाँ नागरिक नेपालमै बसेर साइबर अपराधसँग सम्बन्धित गतिविधिमा संलग्न भएको सूचना दिए । 

एसएसपी सुवेदीले तत्कालै महानगरीय प्रहरी कार्यालयका प्रमुख (डीआईजी) शैलेश थापा क्षत्रीलाई यसबारे ब्रिफिङ गरे । हाल क्षत्री महानगरीय प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा सरुवा भइसकेका छन् । 
क्षत्रीले तत्कालै मातहतका कार्यालय प्रमुखहरुको बैठक बोलाए । बैठकमा डीआईजी क्षत्रीले मातहतका प्रमुखहरुलाई संयमित भएर गोप्य तरिकाले अनुसन्धान गर्न निर्देशन दिए । 

डीआईजी क्षत्रीले घटनाबारे आईजीपी सर्वेन्द्र खनालसँग पनि परामर्श लिए । आईजीपी खनालले जतिसक्दो छिटो काम गर्नुपर्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) सँग समन्वय गर्नुपर्ने बताए । ‘प्रहरीले गोप्य तरिकाले काम गरिरहेको थियो,’ डीआईजी क्षत्री भन्छन् । 

आईजीपी खनालले सीआईबीका प्रमुख निरज शाहीलाई घटनाको अनुसन्धान गर्न जिम्मा दिए । आईजीपी खनालको निर्देशनलगत्तै सर्च अभियान तीब्र बनाउन पाँचपटक सीआईबीमा काठमाडौँ प्रहरी, अपराध महाशाखा, विशेष ब्यूरो, साइबर ब्यूरोलगालयतका प्रमुखहरुको बैठक बस्यो ।

पुसको पहिलो हप्तादेखि ‘स्विप अपरेसन’ चलाउने बैठकमा छलफल भएको सीआईबीका प्रमुख शाहीले रातोपाटीलाई बताए । बैठकले गरेको निर्णय आईजीपी खनाललाई पनि ब्रिफिङ भएको थियो । 

यो विषयमा आईजीपी खनालले सोमबार बिहान अवैध गतिविधिमा संलग्न सबै चिनियाँलाई पक्राउ गर्न निर्देशन दिएपछि सीआईबी, काठमाडौँ प्रहरी, अपराध महाशाखा लगायतको प्रहरी टोली ‘एक्सन’ का लागि फिल्डमा खटिएको थियो । 

एक प्रहरी अधिकारीका अनुसार आईजीपीको निर्देशन लगत्तै सोमबार बिहान फेरि सीआईबीमा काठमाडौँ प्रहरी, अपराध महाशाखा, विशेष ब्यूरो र साइबर ब्यूरोका प्रमुखहरुको बैठक बसेको थियो । 

बैठकमा डीआईजी शाही, काठमाडौँ प्रहरी, विशेष ब्यूरो, अपराध महाशाखा र साइबर ब्यूरोका प्रमुखको उपस्थिति थियो । बैठक सकिएलगत्तै प्रहरी टोली मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठतिर परिचालन भयो । 

चिनियाँ नागरिकहरुले भाडामा लिएर बसेका घरहरु प्रहरीले पहिलेदेखि नै वाच गरिरहेको थियो । त्यसैले प्रहरीलाई छापा मार्न सजिलो भयो । प्रहरीले सुरुमा एकैपटक ६१ जनालाई पक्राउ गरेको थियो । 

पर्यटकको आवरणमा नेपाल आएका चिनियाँ नागरिकले नेपालका घर भाडामा लिएर चीनमा साइबर अपराध गरिरहेको पाइएकाले पक्राउ गरिएको सीआईबी प्रमुख शाहीको भनाइ छ । 

नेपालमा उनीहरूले अपराध गरेको नभेटिएकाले फौजदारी अभियोगमा कारबाही हुने सम्भावना न्यून छ । जसकारण उनीहरूलाई भिसासम्बन्धी कसुरमा कारबाही गरेर निष्कासन गर्ने र चिनियाँ अधिकारीलाई बुझाइने प्रहरीले जनाएको छ । 

नेपाल सरकारले निष्कासन गरेपछि उनीहरूलाई एकैपटक चीन पुर्याउन उतैबाट चार्टर्ड विमान ल्याइनेछ । चीनमै लगेर उनीहरुमाथि थप अनुसन्धान हुनेछ । 
 

प्रहरीबाटै चुहियो सूचना
तत्कालीन मेट्रो प्रमुख शैलेश थापा क्षत्रीले मातहतका प्रमुखहरुलाई बैठक बोलाएर संयमित भएर अनुसन्धान गर्न निर्देशन दिएपनि वृत्तका केही प्रमुखहरुले नै सूचना चुहाएको पाइएको छ । उनीहरुले निकटका मानिसहरुलाई चिनियाँलाई धरपकडको तयारी भएको भन्दै आफू निकटका कोही चिनियाँ नागरिक भए सचेत हुन सुझाएको प्रहरी वृत्तमै चर्चा छ । 

 प्रहरीले करिब ६ सय जनालाई संदिग्धलाई निगरानीमा राखेर अनुसन्धान गरेकोमा सूचना चुहावट भएकै कारण कतिपय उम्किन सफल प्रहरी अधिकारीले बताए । 
 

पक्राउ पर्नुको कारण ६ कारण
१. अवैध बसोबास
२. कम्प्युटर ह्याकिङ 
३. आर्थिक अपचलन
४. फिरौती
५. यौनधन्दा
६. चोरी
पोखरा र चितवन पनि मुख्य टार्गेट
चिनियाँ नागरिकले काठमाडौँ मात्र नभएर पोखरा र चितवनलाई पनि मुख्य टार्गेट बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको छ । काठमाडौँको मिसन सकिएलगत्तै उनीहरुले पोखरा र चितवनमा गैरकानुनी गतिविधि गर्ने तयारी रहेको प्रहरीले जनाएको छ । 

यस्तै ललितपुर र भक्तपुरमा पनि चिनियाँ नागरिकहरु रहेको र उक्त जिल्लामा पनि स्विप अपरेसन चलाउने तयारी भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्याम ज्ञवालीले बताए । 

पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई काठमाडौँ प्रहरी परिसर मातहतका विभिन्न कार्यालयहरुमा राखिएको छ । 

सिंहदरबार, सोह्रखुट्टे, बालाजु, बुढानीलकण्ठ, दरबारमार्ग, कमलपोखरीगायतका स्थानमा रहेका प्रहरी वृत्तमा उनीहरुलाई पठाइएको एसएसपी ज्ञवालीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप