मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जब मन्त्रिपरिषद्मा उपेन्द्र यादवमाथि प्रधानमन्त्री कड्किए...

यादवलाई पहिलो गाँसमा ढुङ्गा, संशोधनको प्रस्ताव अस्वीकृत
मङ्गलबार, ०८ पुस २०७६, १२ : ३५
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री समेत रहेका कानुन, न्याय तथा संसदीय मन्त्री उपेन्द्र यादवको पहिलो गाँसमै ढुङ्गा परेको छ ।

स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवापछि सोमबार पहिलो पटक मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका उनको पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको छ ।

मन्त्री यादवले संविधान संशोधान प्रस्ताव सिधै मन्त्रिपरिषद्मा लगेका थिए । तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिए । ‘सत्तारुढ दल नेकपासँग भएको दुई बुँदे सम्झौता अनुसार संविधान संशोधनको प्रकृयालाई अगाडि बढाउन आग्रह गर्दछु,’ भनि मन्त्री यादवले पत्र तयार गरेर बैठकमा लगेका थिए ।

खाममा बन्द सो पत्र उनले प्रधानमन्त्री ओलीलाई बुझाउन पनि सकेनन् । बैठकमा सहभागी एकजना मन्त्रीका अनुसार बैठकको अन्तिममा मन्त्री यादवले प्रधानमन्त्री ओलीसँग भने, ‘प्रधानमन्त्री ज्यु मेरो एउटा प्रस्ताव छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ‘के प्रस्ताव छ ?’ भनेर सोधेका थिए । ‘संविधान संशोधन सम्बन्धी हो,’ उपप्रधानमन्त्री यादवले यति के भनेका थिए, प्रधानमन्त्री ओली कड्किए । त्यो खाम मन्त्री यादवकै हातमा रह्यो । ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्युले ५ मिनेटसम्म उपेन्द्र यादवलाई लक्षित गर्दै बोलिरहनुभयो, प्रस्ताव ल्याउने यो के तरिका हो ? यत्रो दिन मन्त्री बन्नुभयो, सरकारमा रहनुभयो । उपप्रधानमन्त्री हुनुहुन्छ । मन्त्रिपरिषद्मा कुन विषयको प्रस्ताव कसरी ल्याइन्छ, त्यति पनि थाहा छैन ?’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली बोलिरहँदा मन्त्री यादव एक शब्द पनि बोल्न सकेनन् । उनले प्रधानमन्त्री ओलीलाई कुनै जवाफ दिन नसकेको बताइन्छ ।

‘संविधान संशोधनको विषय सहमतिको विषय हो, दलहरुको विषयमा सहमति हुनुपर्छ, तपाई आउँदा दलमार्फत आउनुस्, यो सिधै मन्त्रिपरिषद्मा पेस गर्न सक्नुहुन्न, बन्द गर्नुस् यो नाटक’ भन्दै प्रधामन्त्री ओलीले दलमा छलफल गरेपछि, सहमति बनेपछि मात्र यो प्रक्रिया अगाडी बढाउने बताउँदै मन्त्री यादवको प्रस्तावलाई सिधै अस्वीकार गरे ।

पार्टीका सहमहासचिव प्रकाश अधिकारीले पार्टीबाट संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीलाई पठाइएको स्वीकार गरे । आफूहरु संविधान संशोधनका लागि सरकारमा सहभागी भएको उनले बताए । ‘प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभयो वा भएन, त्यो कुरा थाहा भएन तर पार्टीमा अध्यक्षज्यूले प्रस्ताव लगेको कुरामात्र मलाई थाहा छ,’ उनले रातोपाटीसँग कुरा गर्दै भने, यदि प्रधानमन्त्री ओलीले अस्वीकार गर्नुभएको छ भने हामी पुनः पार्टी (नेकपा) लाई जानकारी गराउँछौं, संविधान संशोधनका लागि दवाव दिन्छौं ।’

नेकपा तथा नेकपाले नेतृत्व गरेको सरकारले संविधान संशोधन गर्न नचाहेमा मात्र आफ्नो पार्टीले बैठक बसेर अगाडि बढ्ने उनले बताए । उनले भने, ‘हामीले संविधान संशोधनका लागि सरकार तथा नेकपालाई दबाब दिन शुरु गरेका हौँ ।’

अर्थमन्त्रीले भने ‘परिचय गरौं’

समाजवादी पार्टीका दुईजना मन्त्री सरकारमा छन् । त्यसमा मन्त्रिपरिषद्मा सबैभन्दा बढी अनुपस्थित हुनेमा उपप्रधानमन्त्री यादव हुन् । समाजवादी पार्टीबाट सरकारमा रहेका अर्का मन्त्री इस्तियाक राई पनि कहिले काहीँमात्र मन्त्रिपरिषद बैठकमा जान्छन् । सोमबारको बैठकमा मन्त्री राई अर्थमन्त्री डा.युवराज खतिवडाको छेउमा बस्न गएका थिए ।

राई बस्ने वित्तिकै अर्थ मन्त्री खतिवडाले ‘तपाईंहरुसँग त फेरि परिचय गर्ने बेला भएको छ । बैठकमा कहिलेकाहीँ आउनु हुन्छ चिन्नै गाह्रो भइसक्यो,’ भनेर व्यङ्ग्य गरेका थिए । त्यसमा राईले ‘हो र !’ बाहेक अरु केही जवाफ दिन सकेका थिएनन् ।

समाजवादी पार्टी सरकारमा सहभागी भएको केही दिनमै प्रधानमन्त्री ओली र मन्त्री यादवबीच खटपट शुरु भएको थियो । मन्त्रालय सञ्चालन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पोख्ने, उता प्रधानमन्त्री ओलीले राम्रोसँग काम गर्न नदिएको भन्दै मन्त्री यादवले असन्तुष्टि पोख्ने क्रम चलेको थियो । दुवैजना एक अर्काप्रति असन्तुष्ट बन्दै गइरहेका थिए ।

अन्तिम अन्तिममा त बोलचाल समेत बन्द भएको थियो दुवैजनामा । त्यही भएर मन्त्रिपरिषद्को अधिकांश बैठकमा यादव अनुपस्थिति भइदिन्थे । प्रधानमन्त्री ओलीले बोलाउने आकस्मिक तथा महत्वपूर्ण बैठकहरुमा पनि अनुपस्थित भइदिने जस्ता कुराले प्रधानमन्त्री ओली उपेन्द्र यादवप्रति शुरुदेखि नै असन्तुष्ट थिए । त्यही असन्तुष्टिका कारण उनले सत्तासाझेदार दल समाजवादीसँग छलफल नै नगरी उपेन्द्र यादवको मन्त्रालय हेरफेरदेखि राज्यमन्त्री बर्खास्त, प्रदेश प्रमुख फेरबदल लगायत गरिदिए ।

यहाँसम्म कि सरकारको सहयोगी दल भएर पनि समाजवादी पार्टीसँग राष्ट्रियसभा चुनावमा गठबन्धनबारे छलफल नै नगरी उनले राजपा नेपालसँग गठबन्धन गरे ।

संसदीय दलको बैठक

समाजवादी पार्टीले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । संविधान संशोधनको प्रस्ताव, चालु हिउँदे अधिवेशन, सरकारको काम कारवाहीको विषयमा छलफल गर्नका लागि दिउँसो २ बजेका लागि समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको हो ।

संसदीय दलको बैठक चार महिनापछि बस्न लागेका हो । मन्त्रिपरिषद्मा सोमबार पार्टीबाट लगेको प्रस्तावको बारेमा पनि संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप