मेलबर्न मञ्चबाट नेपथ्यले गर्यो शुक गुरुङको विदाइ
मेलबर्न । नेपथ्यले केहि वर्षयता मञ्चमा सुरुवाती तीनवटा गीत गाइसकेपछि मात्र आफ्ना आफ्ना सदाबहार गीत लगातार गाउने शैली केही बर्षयता विकास गरेको छ ।
ब्याण्डका मुख्य गायक अमृत गुरुङले गीत गाउनु पुर्व दर्शकसँग संवाद गर्ने गर्थे । तर, सोमबार मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चमा त्यो क्रम भंग हुनपुग्यो । हाउसफुल दर्शकका बीच ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बित्तिकै अमृत थामिए र भने – ‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ । एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए ।
म शुक गुरुङको यसै मञ्चबाट सम्झनामा गर्दे हार्दिक श्रद्धान्जली अर्पण पनि गर्दछु । उनको आत्मालाई शान्ति मिलोस् ।’
मृगौला रोगले पीडित संगीतकर्मी गुरुङको आइतबार विहान निधन भएको थियो । यो खबर थाहा पाउने बित्तिकै अमृतले आइतबारै सामाजिक सञ्जालमा शोक प्रकट गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
‘शुक जीले नेपथ्यको प्रारम्भिक कालमा ‘छेक्यो छेक्यो’ गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले भने, ‘उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन् ।’
उनले यसो भनिरहेकै बेला अमृत र शुक गुरुङ साथै बसेको तस्बिर मञ्चको पृष्ठ भागमा देखाइएको थियो । ‘हामी बीचको अन्तिम भेटलाई यो तस्बिरले समेटेको छ,’ अमृतले भने, ‘संगीतकार दाइ विक्रम गुरुङ र म उनलाई भेट्न गत अगस्त २६ तारिख पुगेको बेलाको यो तस्बिर नै अन्तिम चिनो बनेको छ ।’
यतिन्जेल हल भित्रका दर्शकहरु भावविभोर हुन पुगेका थिए । ‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनु पर्छ,’ अमृतले नै त्यो मौनता भंग गरे र भने, ‘आउनुस् हाम्रा लागि र तपाइहरु सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै शुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं ।’
त्यसपछि अमृतले जसै ‘छेक्यो छेक्यो’ गाउन सुरुगरे, हलभरिका दर्शकले त्यस गीतका प्रत्येक शब्दलाई अमृतसँगै गाएर साथ दिएका थिए । गीतका प्रत्येक लाइनलाई दुरुस्त मिलाएर गाएको बाटै यो गीत श्रोताहरुको मनमा कसरी बसेको छ भन्ने स्पष्ट देखिन्थ्यो ।
त्यसपछि नेपथ्य कन्सर्ट नियमित सूची अनुसारै अघि बढेको थियो । ‘तालको पानी’ गाउँदाको क्षण हलभित्रको दर्शक उत्साह उत्कर्षमा पुगेको देखिन्थ्यो ।
हलभित्र भर्खरै पढ्नका निम्ति आएका विद्यार्थीदेखि लिएर यहाँ लामो समयदेखि आफ्नो ब्यावसायमा जम्दै आएका व्यापारी अनि फरक–फरक पेसामा आवद्धहरुको जमघट देखिन्थ्यो । यसरी परदेश आएर पनि बेग्लाबेग्लै संसारमा हराएका नेपालीहरु बीच भेटघाटको अवसरसमेत यो कन्सर्टले जुराएको थियो । अमृतले सदाजस्तै दर्शकहरुलाई मुलुकको भ्रमण गर्न र यसका अथाह सुन्दरताको थप उत्खनन् गर्न आव्हानसमेत गरेका थिए ।
नेपथ्यको व्यवस्थापन संस्था नेपालयले यसपालाको अष्ट्रेलियाको यात्राका लागि सिड्नीस्थित संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको थियो भने मेलबर्नको स्थानीय आयोजक ‘नेप्ले इभेन्ट्स्’ थियो ।
अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
मेलबर्नको प्रस्तुती सकिएसँगै नेपथ्यको यस वर्षको श्रृंखलावद्ध अष्ट्रेलिया यात्रा सम्पन्न भएको छ । ब्याण्डको यो पाँचौं अष्ट्रेलिया यात्रा थियो । नेपथ्यको यो संगीत यात्रा नोभेम्बर १९ तारिख ब्रिसबेनबाट सुरु भै डार्बिन, एडिलेड, होबार्ट, सिड्नी हुदैँ मेलवर्नमा आएर सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा
-
त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा