बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खशोग्गी हत्याकाण्डमा मृत्युदण्ड : उत्तर भन्दा प्रश्न धेरै

के राजकुमार सलमानलाई उन्मुक्ति दिन मृत्युदण्डको नाटक रचियो ?
मङ्गलबार, ०८ पुस २०७६, १० : ३३
मङ्गलबार, ०८ पुस २०७६

पत्रकार जमाल खशोग्गीको हत्याकाण्डमा संलग्न भएको आरोपमा पाँच जनालाई दिइएको मृत्युदण्डको सजायले घटनाबारे उत्तर दिनेभन्दा पनि थप प्रश्न खडा गरेको छ ।

रियादमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१८ मा इस्तानबुलस्थित साउदी कन्सुलेट अफिसमा भएको हत्याकाण्डका मास्टरमाइन्ड मानिएका साउद अल–कतानीलाई अदालतले सफाइ दिएको जानकारी दिइयो । वादी पक्षले उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपरेको बताउँदै मुद्दा नचलाइएको जानकारी दियो ।

हत्याकाण्ड भएको समय कतानी राजकुमार मोहम्मद बिन सलामानका प्रमुख सल्लाहकार थिए । अमेरिकी अधिकारीहरुका अनुसार मिडिया कारवाहीलाई निर्देशित गर्ने र खशोग्गीसहित सरकारका आलोचकविरुद्ध अनलाइन अभियान चलाउने उनको भूमिका थियो । खशोग्गीको हत्या भएको केही हप्तामा नै उनलाई पदबाट हटाइएको थियो ।

वासिङ्टन पोष्टमा स्तम्भकार रहेका खशोग्गी आफ्नो टर्कीकी प्रमिकासँग विवाह गर्नका लागि आवश्यक कागजात तयार गर्न अक्टोबर २ मा साउदी कन्सुलेट पुगेका थिए । तर, उनी कहिल्यै त्यहाँबाट बाहिर निस्केनन् । उनलाई त्यहाँभित्र साउदी एजेन्टहरु हत्या गरी कथितरुपमा शव टुक्राटुक्रा पारेका थिए । उनको शव अझैसम्म पनि फेला परेको छैन ।

तर, साउदी अदालतको निर्णय अमेरिकी गुप्तचर विभागले प्राप्त गरेको सूचनाविपरित रहेको छ । हत्याको एक महिनापछि अमेरिकी ट्रेजरी डिपार्टमेन्टले कतानीसहित १६ साउदी अधिकारीहरुमाथि खशोग्गीको हत्याको योजना र कारवाहीमा संलग्न भएको आरोप लगाएको थियो । यद्यपि, अमेरिकाले कतानी उक्त हत्याकाण्डमा संलग्न भएको थप प्रमाणहरु भने पेस गरेन ।

हत्याकाण्डमा संलग्न भएको आरोपमा अनुसन्धानमा रहेका अर्का वरिष्ठ साउदी अधिकारीलाई पनि सोमबार सफाइ दिएको अदालतले जनाएको छ ।

राजकुमार सलमानसँग नजिक मानिएका साउदी गुप्तचर विभागका उपप्रमुख अहमद अल असिरी, जसमाथि खशोग्गीलाई कन्सुलेट अफिससम्म लैजाने योजना बुनेको आरोप लगेको थियो, लाई पनि पनि सफाइ दिइएको छ ।

हत्या भएको केही हप्तापछि पदमुक्त गरिएका असिरीविरुद्ध पनि पर्याप्त सबुतप्रमाण नभेटिएकाले सफाइ दिइएको अदालतले जनाएको छ ।

अमेरिकाले साउदी राजकुमारको उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्नता भएको सार्वजनिक प्रमाण प्रस्तुत नगरेपनि अमेरिकी गुप्तचर संस्था सिआइएले भने हत्याको ठीकअघि राजकुमार र कतानीबीच बारम्बार सम्पर्क भएको पत्ता लगाएको थियो । सिआइएको मूल्याङ्कनमा राज्यको हरेक गतिविधिमाथि सुक्ष्म निगरानी राख्ने साउदी राजकुमारलाई खशोग्गीमाथिको अपरेशनबारे अगाडि नै जानकारी थियो र उनले नै यसलाई निर्देशित गरेको हुनसक्ने उल्लेख थियो । संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले पनि राजकुमार सलमान खशोग्गी हत्याकाण्डमा जिम्मेवार भएको ‘पर्याप्यत विश्वसनीय प्रमाण’ फेला पारेको देखाएको थियो ।

तर, ट्रम्प प्रशासन भने यस प्रकरणमा साउदी राजकुमारको समर्थनमा देखिएको थियो । नोभेम्बर २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमारलाई घटनाबारे थाहा नहुन पनि सक्ने बयान दिएका थिए । उनले साउदी अरबको नेतृत्वसँग दीर्घकालीन सम्बन्धको महत्त्वको बारेमा पनि जोड दिएका थिए । उनले त्यतिबेला साउदी सरकारले अमेरिकासँग अर्बौं डलरको हतियार खरिद गर्ने गरेकोमा पनि जोड दिएका थिए ।

यता, साउदी अभियोजक पक्षले भने खशोग्गीको हत्यामा प्रत्यक्ष संलग्नहरुलाई मृत्युदण्डको सजाय दिइएको बताए पनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

यसमा थप तीनजनालाई जेल सजाय पनि सुनाइएको छ । हत्याकाण्ड गुपचुप पार्ने प्रयास गरेकोमा उनीहरुलाई कूल २४ वर्ष कैद सजाय सुनाइएको छ ।

अदालतले मुद्दा चलाइएका ११ मध्ये तीनलाई सफाइ दिएको छ । यस घटनामा थप १० जनामाथि अनुसन्धान गरिए पनि प्रमाण नपुगेको आधारमा छाडिएको थियो ।

कम्तिमा १५ जना साउदी एजेन्टहरुको टोलीलाई इस्तानबुलमा खशोग्गीको हत्या गर्न पठाइएको थियो । यसको योजना बनाउन थप व्यक्तिहरु पनि संलग्न हुनसक्ने अमेरिकी गुप्तचरहरुले बताएका थिए ।

यता, अदालतले खशोग्गीको हत्याको पूर्वतयारी नरहेको पनि बताएको छ । तर, कन्सुलेटबाट प्राप्त अडियो रेकर्डिङमा भने साउदी सरकारको कटु आलोचक रहेका खशोग्गीको हत्या गर्न एक टोली नै पठाएको पाइएको थियो ।

सो टोली खशोग्गीको हत्या गर्न र उनको शवलाई व्यवस्थापन गर्न आवश्यक औजारसहित त्यहाँ पुगेको थियो । यहाँसम्मकी खशोग्गीजस्तै देखिने अर्का व्यक्ति पनि तयारी गरिएको थियो ।

सिएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप