भुटानमाथि नेपालको गोलबर्षा
सोमबार, ०७ पुस २०७६, १९ : ०८

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली यू–१५ छात्रा टोलीले भुटानमाथि गोल बर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा नेपालले भुटानको यू–१५ टोलीलाई ६–१ ले हराएको छ ।
नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रिति राईले दुई र सुनकली राईले एक गोल गरेकी थिइन् । भुटानका लागि कप्तान डिकी लाजोमले सान्त्वना गोल फर्काइन् । नेपाल र भुटानबीचको अर्को मैत्रीपूर्ण खेल बुधबार हुनेछ ।