शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : काठमाडौँबाट चिनियाँ पक्राउदेखि भारतीय राजदूतलाई देउवाको बिदाइसम्म

सोमबार, ०७ पुस २०७६, १८ : ४१
सोमबार, ०७ पुस २०७६

उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ९५ बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए । 

प्रहरीले उनीहरु के कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्नेबारे केही खुलाएको छैन । पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् । प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको बताइएको छ ।  

राष्ट्रियसभामा प्रतिपक्षी दल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ । 

राष्ट्रियसभा बैठकको विशेष समयमा कांग्रेस राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गरेका हुन् । 
उनले सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयास बारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरे । 

यस्तै नेकपा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसँग माग गरे ।  सार्वजनिक जग्गाको संरक्षणमा सक्रिय रुपमा लागेको सरकारले यी दुई जग्गाको बारेमा उत्पन्न विवादलाई पनि सम्बोधन गर्नुपर्ने तर्क उनले बताए । 

समाजवादी पार्टी नेपालका राष्ट्रियसभा सदस्य रामपृत पासवानले व्यवस्था परिर्वतन भएपनि सर्वसाधरणले परिर्वतनको अनुभूति गर्न नसकेको बताए । 

त्यसैगरी, प्रमुख प्रतिपक्षी दल कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले नेपाल ट्रष्टको सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिएको सम्बन्धमा सरकारले सदनलाई स्पष्ट पार्नुपर्ने माग गरे । 

अधिकारीले ट्रष्टको जग्गा भाडामा निजी कम्पनीलाई दिनु र सोही कम्पनीका मालिकलाई ट्रष्टी बनाउनुले प्रधानमन्त्री र उपप्रधानमन्त्रीको समेत संलग्नता रहेको आशंका उब्जाएको भन्दै सो बारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका हुन् । 

लेखा समितिको निर्देशन 
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सिमेन्टको मापदण्ड र गुणस्तरमा परिवर्तन भइनसकेको बताएपछि सांसदहरुले आपत्ति जनाएका छन् । 

सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव खतिवडाले सिमेन्टको मापदण्ड परिवर्तन गरिएको फाइल तयार भएपनि संसदबाट पारित भइनसकेको र राजपत्रमा समेत प्रकाशित नभएकाले लागू नभएको बताइन् । 

यससँगै समितिका सभापति भरतकुमार शाहले सचिव खतिवडाले झूट बोलेको भन्दै मन्त्रालय र विभागले के गर्दैछ समितिमा थाहा हुने बताए । उनले मन्त्रीलाई समेत हस्ताक्षर नगराई फाइल राखेको भन्दै समितिलाई झुक्याउने प्रयाग नगर्न सचिव खतिवडालाई आग्रह गरे । 

सांसद धर्माशीला चापागाईले नेपालको कुनैपनि ढुंगा खानिमा ३ प्रतिशत भन्दा बढी त्यस्तो अघुलनशील पदार्थ नभएकोभन्दै सचिव खतिवडाको भनाइ मान्न तयार नभएको बताइन् ।

बैठकमा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले परिमार्जित मापदण्ड कार्यान्वयनमा आइनसकेको र समितिले दिएको निर्देशन मान्न तयार भएको बताए । 

 महानिर्देशक पुडासैनीको भनाइसँगै सांसद अमनलाल मोदीले विभागका कर्मचारी र मन्त्रालयको सचिव उद्योगीहरुको प्रभावमा परेकाले सिमेन्टको मापदण्ड परिवर्तन गरेको बताए । 

नेपाल गुणस्तर परिषद्को गत आसार १८ गते बसेको बैठकले सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ (म्याग्रेसियम अक्साइड) को मात्रा ५ प्रतिशतबाट ६ प्रतिशतमा बढाउने निर्णय गरेको थियो ।

त्यस्तै अर्को अघुलनशील पदार्थ (आइआर)को मात्रा २ प्रतिशतबाट ४ प्रतिशत पु¥याएको थियो । परिषद्ले २०५५ सालमा तय भएको उक्त मापदण्डलाई परिवर्तन गरेर नयाँ मापदण्ड तयार गरेपछि सिमेन्टको गुणस्तर कमजोर बनाउन लागिएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यो कार्यान्वयन नगर्न निर्देशन दिएको छ । 

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५–०७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । 

 राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्ष समेत हुन् ।


भारतीय राजदूतको बिदाइमा देउवाले गरे निवासमा भोज

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन् । 

सोमबार  देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गरेका हुन् । यो क्रममा देउवाले काँग्रेसका शीर्ष नेताहरु समेतलाई बोलाएका थिए । जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो । 
सो क्रममा देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल भएको स्रोतले बताएको छ । 

राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् । 

आइतबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि पुरीको बिदाइमा कार्यक्रम आयोजना गरेको थियो । 

काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा एक समारोहकाबीच राजपाले राजदूत पुरीको बिदाइ गरेको थियो ।

पुरीको बिदाइका लागि आयोजित कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, संसदीय दलका नेता महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झालगायत नेताहरु उपस्थित थिए । 

यसअघि आइतबार पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका थिए ।

यस्तै मंसिर २३ गते राजदूत पुरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा पुगेर विदाइ भेट गरेका थिए । 

पुरीको कार्यकाल सकिएसँगै नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।  

भौचर मेला

काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि भौचर मेला सुरु भएको छ । 

व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले भौचरमा आधारित तालिम मेला आयोजना गरेको हो । परियोजनाका उपनिर्देशक सुदर्शन मरहठ्ठाले आर्थिक वर्ष २०७६÷०७७ मा ७ हजार ५ सय जनालाई तालिम दिई रोजगारी उपलब्ध गराउने योजना अनुरुप भौचरमा आधारित तालिम मेलाको आयोजना गरिएको बताए । उनले मेलामा ५८ वटा तालिम प्रदायक संस्थाहरुका स्टल रहेको र सहभागिहरुले इच्छा लागेको विषयको तालिम आफूलाई पायक पर्ने संस्थाबाट लिन सक्ने बताए । 

नविल बैंकको घोषणा

नविल बैंकले साना तथा मझौला ऋणका लागि आवेदन दिएको ३५ घण्टामा कर्जा दिने या नदिने निर्णय दिने भएको छ । 

बैंकले ३५ वर्ष पुगेको अवसरमा ७५ लाख सम्मको साना तथा मझौला कर्जा ३५ घण्टा भित्र दिने या नदिने निर्णय गर्नेगरी स्किम ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । 
 सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख कार्यकारी अधिकृत शाहले यस्तो कर्जाको ब्याजदर साढे १० प्रतिशत हुने समेत बताएका छन् ।

 उनले नबिल बैंकले अहिले ठुला कर्जा तथा निक्षेपलाई बढी महत्व दिँदै आएको अवस्थामा विशेष एसएमई डेस्क निर्माण गरी साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहन गर्न खोजेको बताए । 
नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकको साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १२ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । 

बैंकको सोमबार बसेको २५ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर सहित कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै अर्को कुनै बैंक वा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सहमति तथा सम्झौता गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने पस्ताव समेत पारित भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकले कुल निक्षेमा २४ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ५९ अर्ब ७६ करोड रुपैयाँ पु¥याएको र ५५ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले गत वर्ष १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । त्यस्तै बैंकको निष्कृय कर्जा भने १ दशमलव ७४ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप