बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल

सोमबार, ०७ पुस २०७६, १८ : १८
सोमबार, ०७ पुस २०७६

पोखरा । “गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले  प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पा¥यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र प्रचार भयो । प्रतियोगिताले पोखरालाई चिनाउन योगदान दियो,” गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता उद्घाटनका अवसरमा भनेका थिए ।

मुख्यमन्त्री गुरुङले भने जस्तै पीपीएलले अन्य प्रतियोगितालाई छायाँमा पारेको त छ नै क्रिकेटप्रतिको आकर्षण बढाउँदै पोखरालाई विश्वस्तरमा चिनाउनसमेत मद्दत पु¥याएको छ ।

व्यवस्थित क्रिकेट पूर्वाधार निर्माण गर्न सकेको खण्डमा क्रिकेटको भविष्य उज्ज्वल रहेकोमा कसैको दुई मत छैन । पोखराको क्रिकेट मैदानले विश्वको ध्यान तानेको छ ।

आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छे« र अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्यसँग रमाउँदै खेल खेल्ने चाहना आम खेलाडीको रहने गर्दछ । 

फेवातालको किनार र हिमालको काखमा क्रिकेट खेल्ने त्यो चाहना पोखरामा भइरहेको पीपीएलले पूरा गर्न थालेको छ ।

पोखरा पर्यटन सँगसँगै खेलकुदको क्षेत्रमा समेत अग्रणी छ । फुटबल र भलिबलका माध्यमबाट स्वदेश तथा विदेशमा परिचित छ । दुवै खेलका बर्सेनि ठूला प्रतियोगिता यहाँ हुन्छन् । 

यहीँ फुटबल खेलेर अनिल गुरुङले राष्ट्रिय टोलीको कप्तानी गरे । भलिबलमा मञ्जु गुरुङसँगै अरुणा शाहीले अहिले पनि राष्ट्रिय टोलीको कप्तानी गरिन् । उनीहरुलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पोखराले उत्पादन गर्दै आएको छ । 

अब पोखरा फुटबल र भलिबलमा मात्र सीमित रहेन । गत वर्षबाट शुरु भएको क्रिकेटको टी–२० फ्रेञ्चाइज लिग पीपीएलले पोखरेलीलाई क्रिकेटप्रति समेत आकर्षित गराएको छ । 

पर्यटकीय शहरमा बर्सेनि क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता शुरु भएबाट क्रिकेटको रौनक बढाएको छ । पोखराले क्रिकेट बुझ्न र खेल्ने बानीको शुरुआत गरेको छ ।

राष्ट्रिय मात्र नभई विदेशी लिगमा समेत नाम चलेका खेलाडी पीपीपएलमा खेलिरहेकाले खेल हेर्ने दर्शकको कमी छैन । 

हालै सम्पन्न १३ औँ सागमा महिला क्रिकेटसमेत सम्पन्न भएबाट आगामी दिनमा क्रिकेटका राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पोखराले ठूलो सम्भावना बोकेको छ । 

अहिले धेरै स्थानमा बालबालिकाहरु बल र ब्याट लिएर क्रिकेट अभ्यास गर्न शुरु गरेबाट सुखद दृश्य देखिन थालेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

सबै उमेर समूहलाई क्रिकेटले छोएकाले क्रिकेट खेलको सुन्दर भविष्यको गोरेटो कोर्न शुरु भएको भन्दै उनले थपे, “यहाँ क्रिकेटको चहलपहल र रौनक  ल्याउन पीपीएलले योगदान दिएको छ । क्रिकेट आकर्षण र माहौल यसले बढाएको छ ।”

पीपीएल आयोजनासँगै सरकारले समेत क्रिकेट पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेको छ । पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना सरकारले अघि सारेको छ ।

यसका लागि सङ्घ सरकारले चालू आर्थिक वर्षमा रु तीन करोड तथा प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेका भए पनि काम भने शुरु हुन सकेको छैन । 

प्रतियोगिता चल्दै गर्दा यहाँका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका छन् । आगामी दिनमा पोखरा क्रिकेटका लागि ‘तटस्थ भूमि’ बन्नसक्ने सम्भावनासमेत उत्तिकै छ । 

राष्ट्रिय टोलीका पूर्वकप्तान एवं चितवन राइनोजका कप्तान पारस खड्काले पीपीएल क्रिकेटका माध्यमबाट पोखरालाई चिनाउने महत्वपूर्ण माध्यम बनेको बताउछन् । 

क्रिकेट आकर्षण बढाउनुका साथै नयाँ खेलाडीलाई ‘एक्सपोजर’ दिएर व्यावसायिकतातर्फ उन्मुख बनाउन योगदान पुगेको चर्चा गर्दै उनले भने, “अहिले क्रिकेटका ‘फलोअर’ बढेका छन्, लगानी बढेको छ । पहिला केही नभएको अवस्थामा पोखरामा क्रिकेटको जग बसाल्न पीपीएलले योगदान गरेको छ ।” 

खड्काले विश्वका धेरै देशका खेलाडी यहाँ आएर खेल्न इच्छुक रहेको बताउँदै क्रिकेटमार्फत देशलाई चिनाउने सफल भएको उल्लेख गरे ।

पीपीएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले आकर्षक पुरस्कार र खेलाडीलाई प्रदान गरिएको सुविधाले प्रतियोगिताको महत्व बढाएको बताए ।

पीपीएल विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) ले मान्यता दिएको प्रतियोगिता हो । 

लामाका अनुसार स्वदेशी सँगसँगै विदेशी खेलाडीसमेत खेलिरहेको र संसारले पोखरालाई हेरिरहेकाले क्रिकेटले विकास र पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ । 

“पीपीएलमा राम्रो फिडब्याक छ, कर्पोरेट हाउसको लगानी छ । खेलाडी विकास र पूर्वाधार विकासमा यसले योगदान दिँदै भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याएको छ”, लामाले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप