शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा बम आतंक: एक सातामा ५ घटना, ३ जनाको मृत्यु

सोमबार, ०७ पुस २०७६, १६ : २६
सोमबार, ०७ पुस २०७६

१.मंसिर २७ शुक्रबार: धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा मंसिर २७ गते मध्यराति भएको बम विस्फोटमा १ जना प्रहरी निरीक्षक र बाबुछोरासहित तीन जनाको मृत्यु ।

२.मंसिर २९ आइतबार: जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानलाई केद्रबिन्दु बनाएर वरिपरि रहेको विभिन्न स्थानमा शंकास्पद वस्तु फेला ।

३.मंसिर ३० सोमबार: सरस्वती नमूना उच्च माध्यमिक विद्यालय नजिक बम शंकास्पद बस्तु फेला स्थानीय त्रसित ।

४.पुष ६ गते आइतबार: मध्यरातमा बीच सडकमा शंकास्पद वस्तु । आवतजावत बन्द । नेपाली सेनाको डिस्पोजल टोलीबाट डिस्पोज ।

५.पुष ७ : तिरहुतियागाछी बजार अगाडी मुख्य सडकमा पुत्ला जस्तो शंकास्पद फेला, सर्वसाधारण त्रसित । 

विगत एक साताको अवधिमा जनकपुरमा ५ वटा घटना त्रासदीपूर्ण घट्ना भए । जो विस्फोटक पदार्थसँग सम्बन्धित छन् । दिनहुँजसो यसरी जनकपुरमा बम विष्फोट र शंकास्पद वस्तु फेला पर्न र पड्कन थालेपछि सर्वसाधारण आतंकित बनेका छन् । 

धनुषाको सखुवा महेन्द्रनगर बजारस्थित एक घरमा शंकास्पद वस्तु भेटिन्छ । शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खवर गरिन्छ । तत्काल प्रहरी पुग्छ र अनुगमन थाल्छ । तर दूर्भाग्य अनुगमन गर्ने क्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अमिरकुमार दाहालसहित ३ जनाको बम विस्फोटनमा परि घटनास्थलमै ज्यान जान्छ । उक्त घटना भएको दुई दिन नबित्दै प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको बाह्रबिघा रङ्गभूमि मैदान आसपासमा लगातार मंसिर २९ र ३० मा बीच सडकमै शंकास्पद वस्तु फेला पर्छ । 

बाहविघा मैदानको उत्तरतर्फ रहेको संकटमोचन मन्दिर हँुदै बागवानी जाने बाटो छेउमा राईस कुकरजस्तो वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई फोन गर्छन् ।  त्यसको १२ घण्टा नबित्दै सरस्वती नमूना उच्च माध्यमिक विद्यालय छेउमा बोरामा बेरिएको शंकास्पद वस्तु अलपत्र भेटिन्छ । नेपाली सेनाको डिस्पोजल टोलीले बाह«विघा मैदान वरिपरिका शंकास्पद वस्तुहरु डिस्पोज गर्छ । यो क्रम पुष ६ गतेसम्म जारी नै छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरमा फेला परिएका शंकास्पद वस्तुहरु ‘हक्स’ बम हुन् । 

एनसेलले पुस ३ गते देखि सुरु गर्ने भनिएको एनसेल महामेलालाई लक्षित गर्दै विप्लव नेतृत्वको नेकपाले ‘हक्स’ बमको प्रयोग गरी बाह«विघा मैदान वरिपरि त्रास फैलाएको धनुषाका प्र्रमुख जिल्ला अधिकारी प्रदीप कँडेल बताउँछन् । 

त्रास फैलने क्रम यतिले मात्रै रोकिएको छैन । पुस ७ गते पनि जनकपुरस्थित संघीय प्र्रहरी इकाई कार्यालयको करिब ५० मिटरको दुरीमा तिरहुतिया गाछी बजार अगाडी बीच बाटोमा पुत्ला जस्तो शंकास्पद वस्तु भेटिएपछि सर्वसाधारण आतंकित भए । 

पुस ६ गते आइतबार मध्यरातमा वीच सडकमै शंकाष्पद वस्तु देखेपछि प्र्रहरीले तत्कालै सडकमा आवतजावत नै बन्द गर्यो र बिहान करिब साढे ९ बजे नेपाली सेनाको डिस्पोजल टोलीले शंकाष्पद वस्तु डिस्पोज गर्यो । तर सो शंकास्पद वस्तु भने बम नरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह बताउँछन् । शंकास्पद वस्तु देखेपछि प्रहरीलाई जानकारी गराउन र सतर्कता अपनाउन प्रहरीले अपिल गरेको छ । 

सर्वसाधारण भन्छन्: त्रास बढ्यो 

जनकपुरधाम वडा नम्बर ४ का ३६ वर्षीय अमेन्द्रकुमार मण्डल जनकपुरका विभिन्न ठाउँमा लगातार शंकास्पद वस्तु भेटिन थालेपछि आफुसहित धेरैलाई डर लागेको बताउँछन् । ‘दिनहुँ बम र शंकास्पद वस्तु भेटिन थालेपछि सडकमा हिँड्दा पनि निकै ठुलो सावधानी अपनाउनुपर्ने भएको छ’, मण्डलले शंकास्पद वस्तु देखेपछि तत्कालै प्रहरीलाई जानकारी गराउने गरेको पनि बताए । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ७० वर्षीय रामजित यादव पेशाले चिया पसल गर्छन् । उनी सबेरै उठेर आफ्नो व्यवसाय सञ्चालन गर्न घरबाट निस्कन्छन् ।  यसैगरी निस्कने क्रममा सोमबार विहान जनकपुरको व्यस्त सडकमा शंकास्पद वस्तु भेटिएको हल्लाले उनलाई पनि स्वभाविक रुपमा डर लाग्यो । भन्छन्, ‘यस्तो त्रास फैलिएपछि हिँड्न र व्यवसाय गर्न नै समस्या हुन थाल्यो ।’

प्रशासन भन्छ : मनोवैज्ञानिक त्रास फैलाउन खोजियो

 धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले शंकाष्पद वस्तु देख्ने वित्तिकै बम भनेर हल्ला फिँजाएर मनोवैज्ञानिक रुपमा त्रास फैलाउनेको खोजी कार्य गरेर कारवाही गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन दिएको बताए । उनले यस्तो भ्रामक हल्लाले सर्वसाधारणमा मानसिकरुपमा डराउने कार्य गरेको र सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेर बम रहेको हल्ला फैलाउनु गलत रहेको भन्दै सचेत हुन सर्वसाधारण्मा आग्रह गरे । उनले प्रहरीले शंकाष्पद वस्तुबारे जानकारी पाएलगत्तै प्रक्रियागत रुपमा सोको अनुसन्धान गर्नुपर्ने र सो क्षेत्रलाई निषेध गर्नुपर्ने हुनाले यस किसिमको हल्ला फैलाउने गरेको प्रति उनले गुनासो समेत गरे ।

कुकर बम विस्फोट हुँदा गयो ज्यान 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा प्रहरी कार्यालयको ४ सय मिटर दूरीमा कुकरसहितको टाईमर बम बिस्फोट हुँदा उपचारका क्रममा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, औषधी व्यवसायी ४६ वर्षका राजेश भनिने राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको मृत्यु भएको हो । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि विप्लव नेतृत्वको नेकपाका ५ जना कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

प्रहरीका छुट्टाछुट्टै टोली 
लगातार बमको हल्ला फिँजिएपछि जिल्ला प्रहरी कार्यालय धुनषाले अपराधी पहिचानका लागि अपराध अनुसन्धान शाखाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । जसले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । उता प्रदेश प्रहरी कार्यालय २ नम्बर प्रदेशले प्रहरी नायब उपरिक्षक (डिएसपी) रामेश्वर कार्कीको नेतृत्वमा छानविन समिति समेत गठन गरेको छ ।

महेन्द्रनगर बम घटनामा जिल्ला प्रहरी, प्रदेश प्रहरी र नेपाली सेनाले समेत अनुसन्धान गर्दै छन् । प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले महेन्द्रनगर बम काण्डबारे अनुसन्धान जारी रहेको बताए । प्रहरीले जनकपुरमा शंकास्पद वस्तु बारेमा भ्रामक हल्ला फैलाउनेलाई समेत खोजी गरिरहेको जनाएको छ । प्रहरीले कसले र के कारणले शंकास्पद वस्तु राखेर बमको हल्ला फिँजाइरहेको भन्ने खुलिनसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप