मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बढी विद्यार्थी संख्या देखाएर सुविधा लिन्छन् प्रधानाध्यापक !

सोमबार, ०७ पुस २०७६, १४ : ०३
सोमबार, ०७ पुस २०७६

सिरहा । जनता आधारभूत विद्यालय, नगरहा गापा ३ बत्राही खोरियाका प्रधानाध्यापक विद्यार्थी संख्या बढी देखाएर सुविधा लिने गरेको खुलेको छ । हाजिरी रजिष्टरमा १ सय ७६ विद्यार्थीको नामाङ्कन पनि बढीमा २० जना विद्यार्थी उपस्थित हुने गरेको स्थानीय अभिभावक बताउँछन् । नियमित पढाई नहुने, विद्यालयका प्राधानाध्यापक नियमित नआउने भएकाले विद्यार्थीको उपस्थिति संख्या कम भएको हो ।

प्रधानाध्यापक नियमित उपस्थित नहुँदा पढाई पनि राम्रो नहुने भएपछि अभिभावकले पनि विद्यार्थीलाई नियमित विद्यालय पठाउन रुचि नदेखाउने स्थानीय जागेश्वरी यादवले बताए । उनले भने, ‘पहिलो कुरा त प्राधानाध्याक सातामा २÷३ दिनमात्र उपस्थित हुन्छन्, उपस्थित भएको दिन पनि १२ बजेभन्दा पहिला आउँदैनन्, यस्तो पाराले विद्यार्थीको पढाई हुन्छ ? पढाइ नै नहुने भएपछि किन विद्यार्थी पठाउने ?’ 

विद्यालयमा सञ्चारकर्मीहरु पुग्दा प्रअ रामकुमारी यादव भेटिइनन् । तर,उनको रजिष्टरमा शैक्षिकसत्र सुरु भएदेखि अहिलेसम्म विरलै अनुपस्थित भएको देखिन्छ । उनी आफू पनि सधैं विद्यालय आउने दावी गर्छन् ।  विद्यालयको रजिष्टरअनुसार कक्षा १ मा ४१, कक्षा २ मा ५८, कक्षा ३ मा ३५ र कक्षा ४ मा ४२ जनाको नामाङ्कन गरिएको छ । हामी  विद्यालयमा पुग्दा कक्षा एक र २ मा चार जना र कक्षा ३ र ४ मा गरी १० जना गरी १५ जना विद्यार्थीको उपस्थिति रहेको थियो । त्यहाँ रहेका शिक्षक घाम तापेर बसिरहेका थिए भने विद्यार्थीहरु क्यारेम्वोर्ड र पीङ खेलिरहेका थिए ।

हाम्रा नानीहरु नियमित विद्यालय गएपनि पढाईमा खासै प्रगति नगरेको सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत नन्ददीकी आमा ललिता यादवले बताइन् । उनले भनिन्, ‘घरको मुख्यमान्छे नै उपस्थित नभएपछि कसरी चल्छ ? यो विद्यालयमा त्यस्तै भएको छ । हेडमाष्टर नै आँदैनन् । उनीनै नआएपछि विद्यालयको अवस्था कसरी सुधार हुन्छ ।’

अर्का अभिभावक रामदुलारी यादवले विद्यालयबाट विद्यार्थी कहाँ गए ? कतिखेर गए भन्ने समेत वास्ता नहुने बताए । विद्यालय गएका नानीहरु कोही १२ बजे नै घर आईपुग्छ । कोही १ बजे नै आउँछन् । यसरी विद्यालय चलाएर विद्यार्थीको भविष्यमाथि नै खेलवाड भएको अभिभावक रामदुरी यादवले आरोप लगाइन् ।

विद्यालयका शिक्षकले भने विद्यालयमा पिउने पानीको समेत सुविधा नभएकाले पानी पिउँने निहुँमा घर गएका विद्यार्थी फेरि फर्केर नआउने स्वीकारे । उनीहरुले भने, ‘विद्यालयमा पिउने पानीको समेत सुविधा छैन, विद्यालयभन्दा करिव ३ सय मिटर पर गाउँछन्, पानी पिउन गएका धेरै नानीहरु फर्केर आउँदैनन्, उनीहरुलाई सधै लिन जान पनि सकिदैन ।’

विद्यालयका प्रधानाध्यमपक रामकुमारी यादवले भने धेरै मुसहर÷दुसाद (दलित) बालबालिका अध्ययन गर्ने भएकाले सवै विद्यार्थी नियमित नआउने स्वीकार गरिन् । ‘प्राय साना जातिका छोराछोरीहरु पढ्छन्, कतिपयले निजी विद्यालयमा पढ्ने र यता पनि नाम दर्ता गराएकोले रजिष्टरमा बढी देखिएको हो’ प्र.अ. यादवले भनिन् ।

प्रअ यादव यही क्षेत्रका सासंद तथा पूर्वसूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवका बहिनी हुन् । सासंद यादवको घर पनि यहि वडामा पर्दछ ।  उनले गाउँमा पटक–पटक गएर विद्यार्थी नियमित पठाइदिन अनुरोध गर्दा पनि अभिभावकले नियमित पठाउने नगरेको आरोप लगाइन् । उनले भनिन्, ‘मैले सकेको जति कोशिस गरिरहेकी छु, तर पनि विद्यार्थी राम्रो उपस्थित हुन सकेको छैन ।’

नियमित विद्यालय आउने सवालमा भने उनले आफू नियमित विद्यालय आएको जिकिर गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव यादवले कम विद्यार्थी उपस्थित हुने गरेको स्वीकार गरे । ‘मैले पनि कतिपटक प्रअलाई समयमै उपस्थित हुन र विद्यालयको पढाई सुधार गर्न भनेपनि त्यस्तो हुन सकेको छैन’ उनले भने  । उनले थपे, ‘म पनि आफै काम गरिखाने मान्छे, सँधै विद्यालयमा टाइम दिन सकिँदैन, प्रअले पनि समय नदिँदा समस्या भएको हो ।’

अध्यक्ष यादव यस विद्यालयका अभिभावक भने होइनन् । उनका छोराछोरी मिर्चैयाको एक निजी विद्यालयमा पढ्छन् । उनले आफूलाई अध्यक्ष नबनाउ भन्दा भन्दै प्रअले जबरजस्ती बनाएको समेत सुनाए । नरहा गाउँपालिका शिक्षा शाखाका देवशंकर यादवले आफूले पनि यस्तो अवस्था देखेको बताए ।

उनले भने, ‘म भर्खरै आएको हुँ, पहिले के अवस्था थियो, मलाई थाहा छैन, म एकदुई पटक पुग्दा न्यून विद्यार्थी उपस्थित हुने गरेको देखेको छु, मैले उपस्थिति अनुसार नै सेवा सुविधा दिने योजना बनाई रहेको छु ।’ विद्यालयमा प्रधानाध्यमपकसहित ३ जना राहत शिक्षक र एक कार्यालय सहयोगी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप