मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा ओली–प्रचण्ड छलफल, एमसीसी र सभामुख चयनमा केन्द्रीत

सोमबार, ०७ पुस २०७६, ११ : ३६
सोमबार, ०७ पुस २०७६

काठमाडौँ । स्थायी समिति बैठक सकिएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व सभामुख–उपसभामुखका उम्मेदवार छनोटमा केन्द्रीत भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ ।

संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जनाइसकेको छ । सम्भवत दलहरुको सहमतिमा सोही दिन सभामुख उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ ।

त्यसका लागि अबको चार दिनमा दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्नेछ । यही समयसीमालाई ख्याल गर्दै नेकपा नेतृत्वको ध्यान सभामुख छनोटमा केन्द्रीत भएको हो । तर नेकपाले सभामुखमा उम्मेदवारी दिनुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने हुन्छ ।

‘अब उपसभामुख तुम्बाहाङफेको राजीनामाको विषय कुनै समस्याको विषय रहेन । तर अब सभामुख को हुन्छ भन्ने मुख्य प्रश्न हो’, बालुवाटार उच्च स्रोतले रातोपाटीसँग भन्यो, ‘अबको सभामुख सुवास नेम्वाङ नै हुने ९० प्रतिशत पक्का छ । तर दुई अध्यक्षबीच फाइनल नै भने भैसकेको छैन ।’

त्यसो त तुम्बाहाङ्फेले राजीनामा गरेपछि उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि नेकपामा कायमै छ । यसबारेमा पनि दुई अध्यक्षबीच स्पष्ट हुन बाँकी नै छ ।  नेकपा नेतृत्व तुम्बाहाङ्फेलाई राजीनामा गराउने र नेकपाकै अर्का नेतालाई सभामुख बनाउने योजनामा छ । संसदको सवैभन्दा ठुलो दलको हैसियतले नेकपाले सभामुख नछाड्ने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड सोमबार बिहान बालुवाटार पुगेर आगामी योजनाबारे छलफल गरेका हुन् । सभामुख÷उपसभामुखको चयन र एमसीसीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनीहरुबीच झण्डै दुई घण्टा सभामुख र उपसभामुख चयनबारे छलफल भएको हो । नेकपामा सभामुखका लागि यसअघि तीन जनाको नाम बढी चर्चामा आएको थियो । जसमध्ये नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, हाल उपसभामुख रहेकी शिवमाया तुम्वाङ्फे र नेता अग्नि सापकोटा । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सभामुखका लागि नेम्वाङलाई अगाडि सारेका छन् भने अर्का अध्यक्ष प्रचण्डले नेता अग्नि सापकोटालाई जिम्मेवारी दिन चाहेका छन् । त्यसैगरी तुम्बाहाङ्फेलाई नेकपाकै केही महिला सांसद र राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख बनाउनुपर्ने आशय प्रकट गरिरहेका छन् । पूर्व माओवादी बृत्तबाट सापकोटालाई सभामुख बनाउनुपर्ने चर्को दवाव प्रचण्डलाई छ ।

सोमबार बालुवाटारमा भएको ओली प्रचण्डबीचको छलफलमा आइतबार सम्पन्न स्थायी समिति बैठकको समीक्षाबारे पनि कुराकानी भएको छ ।

खासगरी स्थायी समिति बैठकमा एमसीसीबारे उठेका प्रश्न र बैठकले गरेको निर्णयबारे ठोस धारणा कसरी बनाउने भन्नेमा दुई नेताबीच परामर्श भएको बुझिएको छ । स्थायी समिति बैठकले एमसीसी यथाअवस्थामा स्वीकार गर्न नसकिने र त्यसका लागि इण्डोप्यासिफिक रणनीतिको अङग नभएको अमेरिकाले प्रस्टिकरण दिनुपर्ने स्थायी कमिटीको कार्यदेश छ । त्यसपछि एमसीसीबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिइएको छ । निर्णय गर्नुअघि एमसीसीबारे भएको यसअघिको सम्झौताका केही असमान बुँदा संशोधन गर्नुपर्ने आवाज नेकापाका नेताहरुले स्थायी समितिमा जोडदार उठाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप