शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा सत्ता समीकरण फेरबदलको चर्चा, दाऊमा ‘उपसभामुख’ !

नेकपा–राजापाबीच दुई बुँदे सहमतिको तरङ्ग
सोमबार, ०७ पुस २०७६, ०९ : १८
सोमबार, ०७ पुस २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी, नेपालबीच भएको दुई बुँदे सम्झौताले राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ ।  लामो समयदेखि टाढिएर बसेका दुई दलले राष्ट्रियसभा चुनावमा तालमेल गर्न दुई बुँदे सहमति गरेपछि संघदेखि प्रदेशसम्मको सत्ता समीकरण फेरबदलसम्मको चर्चा शुरु भएको छ । सहमतिपछि प्रदेश नम्बर २ को सत्ता समीकरण नै बदलिन आँकलन गरिएको छ । किनभने हाल समाजवादी पार्टी र राजपा नेपालको संयुक्त सरकार रहेको प्रदेश २ मा गणितीयरुपमा राजपा र नेकपा मिल्दा समाजवादी नेतृत्वको सरकार ढल्न सक्छ ।

उता, राजपाले अख्तियार गरेको पछिल्लो कदमपछि समाजवादी पार्टीले पनि नेकपा मिलेर प्रदेश २ मा सरकार बनाउने कसरत शुरु गरेको । राजपा नेकपासँग मिलेर सरकार परिवर्तन गर्ने खेलमा लागेको खण्डमा समाजवादी पार्टीले पनि त्यस्तै खेल खेलेर नेकपासँग पनि अर्को सरकार बनाउन सक्ने विश्लेषकहरुको बुझाइ छ ।

र, यसको प्रयास पनि भित्रभित्रै भइरहेको स्वयम् समाजवादी पार्टीका नेता बताउँछन् । समाजवादी पार्टीका एक नेताले रातोपाटीसँग भने, ‘यदि राजपाले नेकपालाई प्रदेश २ को नेतृत्व दिनसक्छ भने समाजवादीले किन सक्दैन ? समाजवादीले नेकपालाई मुख्यमन्त्री दिएर आफ्नो सरकार बचाउन पनि सक्छ । राजपाले आफूलाई मात्र खेलाडी हुँ भनेर नसम्झोस् ।’ यद्यपि, तराई मधेशका जनताले प्रदेश २ को सरकार चलाउने म्याण्डेट समाजवादी पार्टी र राजपालाई मात्र दिएको उनको तर्क छ ।

प्रदेश २ को सरकार परिवर्तनमा पनि नेकपामा दुईवटा धार हावी छ । नेकपाका अध्यक्ष प्रचण्ड समाजवादी पार्टीको पक्षमा छन् भने अर्का अध्यक्ष केपी शर्मा ओली राजपा नेपालको पक्षमा छन् । अध्यक्ष ओलीले नरुचाइरहेका उपेन्द्र यादव प्रचण्डका प्रिय पात्र हुन् । यही कारणले प्रदेश २ को सत्ता समीकरण कतातिर ढल्किन्छ भन्नेमा अझै अन्यौल नै रहेको छ ।

आन्तरिक सहमति

राजपासँग २ बुँदे सहमति गर्दा प्रदेश २ को सत्ता समीकरण पनि परिवर्तन गर्ने आन्तरिक सहमति भएको नेताहरु बताउँछन् । नेकपाका नेताहरु भन्छन्, ‘यो हुनसक्छ, यो कुनै नौलो कुरा होइन । प्रदेश २ का सरकार अहिले जसरी सञ्चालन भइरहेको छ, त्यहाँ परिवर्तन आवश्यक देखिएको छ ।’

प्रदेश २ का सरकारको नेतृत्व गरेको समाजवादी पार्टीले भने नेकपा र राजपाबीच भएको २ बुँदे सम्झौताले प्रदेश सरकारमाथि कुनै असर नगर्ने प्रतिकृया दिइरहेको छ । त्यस्तै, राजपा नेपालका नेताहरुले पनि दुई बुँदे सम्झौताले मात्र सत्ता समीकरण हेरफेरसम्मको अवस्था नआउने दाबी गरेको छ ।

प्रदेश २ को सरकार सञ्चालन बारेमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पटक–पटक असन्तुष्टि जनाउँदै आएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कामप्रति प्रधानमन्त्री ओली पहिलादेखि नै सन्तुष्ट छैनन् । केही समयअघि प्रदेश २ मा भएको एक कार्यक्रममा सहभागी हुन पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत प्रदेश २ को सरकार सञ्चालन बारेमा टिप्पणी गरेका थिए ।

प्रदेश २ सरकारमा अनियमितता र भ्रष्टाचार भइरहेको र यसको विकल्प खोज्न सकिने उनले धारणा राखेका थिए । नेकपाले त्यसै बेलादेखि नै प्रदेश २ को सरकार परिवर्तन गर्ने तयारीमा लागेको मधेशको राजनीतिलाई नियाली रहेका विश्लेषकहरु बताउँछन् । यसैका लागि नेकपाले त्यहाँको दुई सत्ता साझेदार दलमध्ये राजपा नेपाललाई रोजेको उनीहरुको भनाइ छ । त्यही अनुरुप नेकपाले राजपा नेपाललाई संघीय सरकारमा सहभागी गराउन पटक–पटक आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीनिकट नेताहरुले राजपा नेपालका नेताहरुसँग पटक–पटक छलफल गरेका थिए । तर, राजपा नेपालले रेशम चौधरीको रिहाइलाई मुख्य एजेण्डा बनाउँदा कुरा बीचकै अड्किएको थियो । तर, यो दुई बुँदे सम्झौताले राजपा नेपालका लागि पनि सत्ता सहकार्यका लागि बाटो खुलेको छ ।

यद्यपी, राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले भने दुई बुँदे सम्झौताले मात्र सत्ता सहकार्य हुने कुनै सम्भावना नरहेको बताउँछन् । उनी भन्छन्, ‘नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैन, राजपा नेपालको माग र मुद्दा सम्बोधन हुने हो भने सरकारसँग सहकार्य हुनसक्छ ।’ दुई बुँदे सहमति प्रदेश २ को सरकारलाई पनि कुनै असर नगर्ने उनले दावी गरे ।

यद्यपी सरकारसँगको सहकार्यको सम्भावनालाई भने उनले नकार्न सकेनन् । उनले भने, ‘सरकारसँगको सहकार्यको सम्बन्धमा सरकारको व्यवहार र क्रियाकलाप र हाम्रो गतिविधिले निर्भर गर्छ । राजपाको माग र मुद्दा सम्बोधन हुने हो भने सरकारसँग सहकार्य हुनसक्छ ।’

नेकपाको धारणा

तर, नेकपा नेता एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले राजपा नेपालसँग ‘थप’ सहकार्यको सम्भावना रहेको बताएका थिए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नेकपा र राजपाबीच भएको सहमति चुनावी गणित नपुगेर गरिएको कार्य नभएको स्पष्ट पारेका थिए । आफूहरुले कसैलाई पनि विपक्षी बनाउन नचाहेको उनले बताएका थिए । दुई बुँदे सम्झौता गराउनमा मुख्य भूमिका खेलेका बास्कोटाले राजपा नेपालसँग सत्ता साझेदारीसम्म हुनसक्ने स्पष्ट संकेत गरेका थिए ।

नेकपाका नेता रामकुमार शर्माले पनि प्रदेश २ को सत्तासमीकरण परिवर्तन हुने सम्भावना रहेको बताए । राजपा र समाजवादी पार्टीले केन्द्रमा नेकपासँग सहकार्य गरे पनि प्रदेशमा अलग राख्ने काम गरेको बताउँदै उनले केन्द्रमा जस्तै प्रदेशमा पनि नेकपाले सहकार्य खोजेको बताए । यदि राजपा नेपालले दुई बुँदे सम्झौताको पालना गरेर अगाडी बढ्यो भने प्रदेश २ को सरकार परिवर्तन हुनसक्ने शर्माले बताए ।

समाजवादीको धारणा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा र राजपा नेपालको दुई बुँदे सहमतिले प्रदेश सरकार परिवर्तन हुने कुराको खण्डन गरे । उनले राजपा र नेपालको सहमतिले प्रदेश २ सरकारलाई कुनै फरक नपर्ने प्रतिकृया दिएका छन् । राजपा नेपाल र समाजवादी पार्टीका लागि संघीय सरकार र प्रदेश सरकार अलग–अलग कुरा रहेको उनले स्पष्ट पारे । राजपा नेपाल संघीय सरकारमा सहभागी भएपनि त्यसको असर प्रदेश सरकारलाई नपर्ने उनले दावी गरे ।

यता, पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ पनि समाजवादी पार्टीसँग एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा नेपाल स्वतन्त्र रहेको बताउँछन् । उनले पनि यो सहमतिले मात्र प्रदेश २ सरकारमाथि कुनै असर नपर्ने बताए ।

प्रदेश २ को सरकारले उदाहरणीय कार्य गरेको पनि उनले दावी गरे । प्रदेश सरकारले शतप्रतिशत समानुपातिक समावेशी हुने गरी विधेयक पारित गर्नुका साथै नयाँ स्थापित हुने उद्योगहरूलाई २० वर्षसम्म कर छुट, सीमान्तकृत शिल्पी, मुस्लीम र विपन्न परिवारलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति, ‘बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत दश हजार छोरीहरूका लागि शिक्षा वीमा जस्तो कार्यक्रम लोकप्रिय भएको उनले दावी गरे ।

दाउमा ‘उपसभामुख’

माघ ९ गते हुने सभामुखको चुनावमा राष्ट्रिय जनता पार्टीले उपसभामुख पदमा दावी गरेको छ । यो कुरा ती पार्टीका नेताले नेकपासमक्ष पनि पुर्याइसकेका छन् । नेकपाले राजपालाई उपसभामुख दिएको खण्डमा प्रदेश २ को सत्ता समीकरण पनि हेरफेर गर्ने सर्त राख्न सक्ने आँकलन गरिएको छ । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महतोले भने, ‘उपसभामुख प्रतिपक्षलाई जाने भएको हुनाले हाम्रो दललाई पनि आउन सक्छ । तर त्यसको बारेमा नेकपासँग सहमति हुन बाँकी रहेको छ ।’

प्रदेश २ को अङ्कगणित

प्रदेश २ मा आएको मत अनुसार कुनै पनि एउटा दलले सरकार बनाउन सक्दैन । प्रदेश २ मा पनि सबभन्दा ठूलो दल नेकपा भएको छ । सरकार बनाउनका लागि ५४ जना प्रदेशसभा सदस्य चाहिन्छ । त्यसमा नेकपासँग ३२, काँग्रेससँग १९, राजपा नेपालसँग २५ र समाजवादी पार्टीसँग ३० जना सदस्य रहेका छन् । त्यहाँ गठबन्धनको सरकार बनाउनु बाहेक विकल्प छैन ।

नेकपा र काँग्रेसले मिलेर सरकार बनाउन सक्दैन । काँग्रेससँग मिलेर सरकार बनाउन अन्य दुईटा दल मिल्नैपर्छ । तर त्यो सम्भावना न्यून छ ।

बाँकी रहेका तीन दलमध्ये कुनै पनि दल एक अर्कासँग मिलेपछि सजिलै सरकार बन्छ । नेकपा र राजपा मिल्यो भने ५७ सीट हुन्छ । त्यस्तै, नेकपा र समाजवादी मिल्यो भने ६२ सीट हुन्छ । अहिले राजपा र समाजवादी मिलेर ५५ सीटका साथ लिएर सरकार बनाएकै छन् ।

पहिला फोरम नेपालसँग २९ सीट थियो । पछि एकजना स्वतन्त्र सीट भएका मोहम्मद शेख अबु कलाम आजाद समाजवादी पार्टीमा प्रवेश गरेपछि ३० वटा सीट भएको हो । त्यसअघि राजपा र समाजवादीको ठ्याक्कै ५४ सीट मात्र पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप