बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के हो Windows-XP को यो वालपेपरको कहानी ? आखिर किन पुनः खिच्न सकिँदैन यो तस्वीर ?

सोमबार, ०७ पुस २०७६, ०८ : २५
सोमबार, ०७ पुस २०७६

यदि तपाईंले केही वर्ष अघि कम्प्युटर चलाउनु भएको थियो भने तपाईंले विन्डोज एक्सपीमा काम गर्नेबेला यसको डिफल्ट वालपेपर पक्कै पनि देख्नुभएको होला । के तपाईंलाई माइक्रोसफ्ट एक्सपीलाई घर–घरमा पहिचान दिलाउने यो तस्बिर कहाँबाट आएको हो भन्ने थाहा छ ? विन्डोज एक्सपीको यो डिफल्ट वालपेपर कम्प्युटर निर्मित नभई एक वास्तविक तस्बिर भएको सुन्दा तपाईंलाई अचम्मै लाग्ला । यो तस्बिर भाग्यवश अस्तित्वमा आएको थियो भनेर थाहा पाउँदा तपाईंलाई थप रोमाञ्चक महसुस होला ।

माइक्रोसफ्टको विन्डोज एक्सपीको यो डिफल्ट वालपेपर सुरुमा निकै रहस्यमय रह्यो । केही वर्षअघि सम्म यो तस्बिर कहाँको हो भन्नेसम्म पनि कसैलाई जानकारी थिएन । कसैले यसलाई फ्रान्सको तस्बिर बताएका थिए भने कतिले स्विटजरल्याण्ड त कतिले आयरल्याण्डको भएको घोषणासमेत गरे ।

विभिन्न कयासबीच यसको वास्तविक कहानीबारे जानकारी लिऔं । यो तस्बिरलाई चार्ल्सले खिचेका थिए । यो तस्बिरबारे अफवाहको बजार निकै तात्तिएको थियो र माइक्रोसफ्टका इन्जिनियर्सले यो विषयलाई चार्ल्स आफैंले सुल्झाउन् भनेर चाहेका थिए । त्यसपछि चार्ल्स आफैंले उक्त तस्वीर अमेरिकाको क्यालिफोर्निया प्रान्तको हो भनेर जानकारी दिए ।

कुरा सन् १९९६ को जनवरीको हो जब चार्ल्स आफ्नी प्रेमिकालाई भेट्न आफ्नो कारमा यात्रा गरिरहेका थिए । अचानक आँधी हुरी आएका कारण उनी केही बेर रोकिनुपर्‍यो । केही बेर रोकिएपछि जब मौसम खुल्ला भयो तब सोनोमा हाइवेमा यात्रा गरिरहेका चार्ल्सको नजर एक पहाडमा अड्कियो । दृश्य यति सुन्दर थियो कि चार्ल्स मन्त्रमुग्ध भए र व्यावसायिक फोटोग्राफर भएको नाताले उनले उक्त पललाई आफ्नो क्यामरामा कैद गरे । चार्ल्सले थोरै समयको अन्तरालमा चारवटा तस्बिर खिचे र फर्किए ।

चार्ल्स त्यसताका नेशनल जियोग्राफिक च्यानलमा काम गर्दथे । उनको च्यानलका लागि यो फोटो कुनै काम लाग्दो थिएन, जसका कारण उनले यो तस्बिर फोटो स्टक गर्ने वेबसाइट कार्बिजमा राखिदिए, जहाँबाट मानिसहरु थोरै पैसा दिएर यसको प्रयोग गर्न सक्थे ।

चार पाँच वर्षपछि एक दिन चार्ल्सलाई अचानक माइक्रोसफ्टको डेभलपमेन्ट टिमको कल आयो । उनीहरुलाई त्यो तस्बिर आफ्नो नयाँ अपरेटिङ सिस्टमको डिफल्ट वालपेपरको रुपमा चाहिएको थियो । उनीहरु यो तस्बिर भाडामा नभई त्यसको ओरिजिनल नेगेटिवसहित खरिद गर्न चाहन्थे । यसो गर्दा कसैले पनि उक्त तस्बिर प्रयोग गर्न नसकून् भन्ने उनीहरुको चाहना थियो ।

माइक्रोसफ्टले उक्त तस्बिरका लागि चार्ल्सलाई जति मूल्यको अफर गरेको थियो त्यो निकै अचम्मित गरिदिने किसिमको थियो । यद्यपि, सही मूल्यको अहिलेसम्म खुलासा गरिएको छैन । चार्ल्सलाई एक गोप्य सम्झौतामा हस्ताक्षर गराइएको थियो । चार्ल्सलाई ओरिजिनल रोल पठाउन भनियो । माइक्रोसफ्टले चार्ल्सका लागि प्लेन टिकट पनि पठायो । चार्ल्स आफैं माइक्रोसफ्टको अफिस गए र ओरिजिनल रोल दिए ।

सुन्दा अचम्म लाग्ला तर स्थान थाहा पाएपछि मानिसहरु त्यहाँ गएर उक्त तस्बिरलाई कैद गर्ने कोसिस गरे तर कोही पनि सफल हुन सकेनन् । सबैभन्दा ठूलो कारण त त्यसपछि त्यहाँ अंगुरको खेती गरियो जसका कारण समथर पहाडको दृश्य देख्न असम्भव भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप