शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्यान बचाउनेले नै ज्यान लिने : एक महिनामै एम्बुलेन्स दुर्घटनाबाट १२ जनाको मृत्यु

आइतबार, ०६ पुस २०७६, १३ : २१
आइतबार, ०६ पुस २०७६

– मंसिर ४ गते गुल्मीमा लु १ झ ३३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट दुई विद्यार्थी घाइते

– मंसिर ९ गते दाङमा रा १ च ७८१ नम्बरको एम्बुलेन्स दुर्घटनामा तीन जना घाइते

–  मंसिर १४ गते प्युठानमा रा १ च ७६४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

– मंसिर १५ गते सुनसरीमा को १ च ९३६४ नम्बरको एम्बुलेन्स ना२ख ९०८२ नम्बरको ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु

– मंसिर २१ गते सल्यानमा १६१ नम्बरको एम्बुलेन्स बा ८ ख ५४२५ नम्बरको ट्रकसँग ठोक्किँदा एम्बुलेन्स चालकसहित दुई जनाको मृत्यु

– मंसिर २३ गते सिरहामा स १ च ६९३ नम्बरको एम्बुलेन्स र स ६ प मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु, एम्बुलेन्स चालकसहित दुई जना घाइते

– मंसिर ३० गते बाराको निजगढमा १०३३ नम्बरको एम्बुलेन्स र ना६ख ४९५४ नम्बरको ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्स चालकको मृत्यु ।

गत मंसिर महिनामा देशका विभिन्न भागमा एम्बुलेन्स दुर्घटना भएको उल्लेखित विवरणअनुसार ती दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । एकै महिनामा एम्बुलेन्स दुर्घटनामा यतिठूलो मानवीय क्षति भएको यो इतिहासमै पहिलो पटक हो ।

एम्बुलेन्स भन्नासाथ जीवनमरणको दोसाँधमा रहेको बिरामीलाई सुरक्षित रुपमा अस्पतालसम्म पु¥याउने वाहनका रुपमा बुझिन्छ । बिरामीलाई अस्पतालसम्म नपु¥याउन्जेलसम्म प्राथमिक उपचारको सुविधा उपलब्ध गराउने र सुविधासम्पन्न अस्पतालमा पु¥याएर थप उपचार प्रक्रिया उपलब्ध गराउने भूमिका निर्वाह गर्ने वाहन नै एम्बुलेन्स हो । एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ अनुसार ‘एम्बुलेन्स’ भन्नाले बिरामी ओसार्ने स्वीकृतिप्राप्त वाहन सम्झनुपर्छ । ‘एम्बुलेन्स’ शब्दले एम्बुलेन्समा जडित उपकरण, चालक र परिचारिकासमेतलाई जनाउँछ भनेर निर्देशिकाको ‘परिभाषा’ खण्डमा जनाइएको छ ।

जीवन मरणको दोसाँधमा रहेको बिरामी वा घाइतेलाई उचित उपचार प्राप्त हुने अस्पतालसम्म लैजाने दायित्व बोकेका एम्बुलेन्स आफैँ किन असुरक्षित भइरहेका छन् ? एम्बुलेन्स दुर्घटनाको एक महिना अवधिको तथ्यांकलाई हेर्ने हो भने हामीले उपरोक्त प्रश्नको जवाफ खोज्नुपर्ने बेला भइसकेको छ । एम्बुलेन्समा चढिसकेपछि बिरामी वा घाइतेमा जीवनको आश बढ्नुपर्नेमा दुर्घटनाको यस्तै तथ्यांक रहने हो भने एम्बुलेन्सप्रतिको भरोसा र जनविश्वास टुट्न सक्छ ।

एम्बुलेन्स दुर्घटना किन बढ्यो ?

सडकमा एम्बुलेन्सका लागि विशेष सुविधा हुन्छ । बिरामी बोक्ने भएकै कारण एम्बुलेन्सलाई सडकमा पहिलो प्राथमिकता दिइन्छ । समयमै अस्पताल पु¥याएर बिरामीको उपचार हुन सकोस्, ढिलो गरी अस्पताल पु¥याइएकै कारण बिरामीको मृत्यु हुन नपरोस् भनेर एम्बुलेन्सलाई सडकमा पहिलो प्राथमिकता दिने गरिएको हो ।

बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पु¥याउनु पर्छ भन्दैमा एम्बुलेन्स चालकले ट्राफिक नियम पालना गर्नै नपर्ने, सडकको अवस्था ख्याल गर्नै नपर्ने भन्ने होइन । सडकको अवस्था हेरेर एम्बुलेन्सको गति निर्धारण गर्ने र ट्राफिक नियम पालना गर्ने प्रवृत्ति घट्दै गएका कारण एम्बुलेन्स दुर्घटना दर बढ्न थालेको हो ।

यस अतिरिक्त एम्बुलेन्स सेवाका लागि प्रयोग भएका सवारी साधनको क्षमता र प्राविधिक पक्षहरुको समेत बेवास्ता हुने गरेको छ । सामान्यतया १२०० सीसी क्षमताको सवारी साधनमात्र एम्बुलेन्स सेवाका लागि प्रयोग हुनुपर्ने हो । तर नेपालमा ८०० सीसी क्षमताका एम्बुलेन्ससमेत सञ्चालनमा छन् । कतिपय सेवा प्रदायकले त ‘मारुती भ्यान’लाई नै एम्बुलेन्स बनाएका छन् । यस्ता सवारी साधन एम्बुलेन्सका लागि प्राविधिक र व्यवहारिक रुपमा उपयुक्त मान्न सकिँदैन । इन्जिनको क्षमता कम हुँदाहुँदै पनि तीव्र गतिका साथ एम्बुलेन्स हुइँक्याउँदा पनि दुर्घटनाको जोखिम बढ्छ ।

हामीमा अझै पनि एम्बुलेन्सलाई बाटो छाड्नुपर्छ भन्ने संस्कारको विकास भएको देखिँदैन । आफूभन्दा पछाडिबाट आएको एम्बुलेन्सका लागि बाटो छाडिदिनु सबै प्रकारका सवारी चालकको दायित्व हो । तर कतिपय सवारी चालकले एम्बुलेन्सलाई सहजै बाटो छोड्ने गरेको पाइँदैन । त्यसैले कतिपय एम्बुलेन्स चालकले जबर्जस्ती ‘ओभरटेक’ गर्नुपर्ने अवस्था आउँछ र दुर्घटनाको जोखिम बढाउँछ ।

एम्बुलेन्स चालक जहिल्यै पनि हतार र तनावमा हुन्छ । हतार यस अर्थमा कि आफूले बोकेको बिरामीलाई समयमै अस्पताल पु-याउन सकियोस्, अस्पताल पु¥याउन ढिला भएकै कारण बिरामीको मृत्यु नहोस् भनेर एम्बुलेन्स चालक हतार गर्छन् । उनीहरु तनावमा यस कारण हुन्छन् कि, एम्बुलेन्सभित्र बिरामी छट्पटाइरहेको हुन्छ भने उसका आफन्त बिलौना गरिरहेका हुन्छन् । कतिपयले त चालकलाई छिटो कुदाउन दबाबसमेत दिन्छन् । यो अवस्थामा चालकले एम्बुलेन्सको स्पिडलाई मात्र ध्यान दिन्छ, सडकको अवस्था, अन्य सवारी साधनलाई सडकमा खासै महत्व दिँदैनन् । जसले गर्दा दुर्घटनाको जोखिम बढ्छ ।

सडक सबैका लागि हो । सडकमा विभिन्न प्रकारका सवारी साधन गुड्छन् । पैदलयात्रीदेखि लिएर ढिलो रफ्तारका मालवाहक सवारी साधन, साइकल, मोटरसाइकल जस्ता सवारी साधनलगायत विभिन्न प्रकार र प्रकृतिका सवारी साधन सडकमा गुड्ने भएकाले आफूलेमात्र सडक प्रयोग गरिरहेको छैन भनेर एम्बुलेन्स चालकले बुझ्नु पर्छ । सडकमा सहायक बाटोहरु पनि जोडिएका हुन्छन् र त्यस्ता बाटोबाट पनि सवारी साधनहरु मुल सडकमा आउन सक्छन् भन्ने हेक्का राखेर एम्बुलेन्स चालकले गति निर्धारण गर्नुपर्छ । विपरित दिशाबाट आइरहेको सवारी साधनको गति, विपरीत दिशाबाट आइरहेको सवारी साधनको पछाडि अरु पनि सवारी साधन हुन सक्ने र उनीहरुले आफू अगाडिको सवारी साधनलाई ओभरटेक गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर एम्बुलेन्स चालक सचेत हुनु पर्दछ ।

बिरामी वा घाइते विभिन्न प्रकृतिका हुन्छन् । सबैप्रकारका रोग वा चोटपटक प्राणघातक वा समयमै उपचार नपाउँदा ज्यान जाने खालका हुँदैनन् । उदाहरणका लागि हृदयघात वा मुटुसम्बन्धी समस्या भएको मानिसको तुलनामा हात–खुट्टा भाँचिएका बिरामी बढी सुरक्षित हुन्छन् । हातखुट्टा भाँचिएका बिरामीलाई एक–दुई घण्टा ढिलोगरी अस्पताल पु¥याएकै कारण ज्यान जानेसम्मको जोखिम रहँदैन । त्यसैले आफूले बोकेको बिरामीको प्रकृति हेरेरमात्र एम्बुलेन्स चालकले सवारी साधनको गति निर्धारण गर्नुपर्छ । सबै प्रकारका बिरामीका लागि अस्पताल पु¥याउन हतार गर्नैपर्छ वा सडकमा जोखिम मोल्नैपर्छ भन्ने मान्यता एम्बुलेन्स चालकले राख्नु हुँदैन ।    

दुर्घटनाको जोखिम कसरी घटाउने ?

एम्बुलेन्स सेवा प्रदायक र चालक स्वयंले पनि एम्बुलेन्सको अवस्था ठिक छ या छैन भन्नेबारे दैनिक चेकजाँच गर्नुपर्छ । सामान्य प्राविधिक कमजोरी देखिएको अवस्थामा पनि त्यस्तो एम्बुलेन्सलाई तत्काल मर्मत गरि दुरुस्त बनाउने र लामो यात्रा तथा हरेक प्रकारका बाटोमा गुडाउन उपुयक्त बनाइराख्नु पर्छ । पैदलयात्रीले बाटो काट्ने ठाउँ, सहायक मार्गबाट सवारी साधन आउन सक्ने अवस्था, कुहिरो, वर्षा लगायतका मौसमी अवस्था ख्याल गरेर एम्बुलेन्स चालकले सवारी साधन गुडाउनु पर्छ ।

अगाडिको सवारी साधनलाई ओभरटेक गर्नुअघि घुम्ती, उकालो, ओरालोलगायत बाटोको अवस्था ख्याल गर्नुपर्छ । चालकले जथाभावी ओभरटेक गर्नु हुँदैन । अगाडिबाट अर्को सवारी साधन आइरहेको छ या छैन, सकेसम्म आफूभन्दा अगाडिको सवारी साधनसँग इशारा लिएरमात्र ओभरटेक गर्नुपर्छ । किनकि, उक्त सवारी साधनको अघिल्तिर अन्य कुनै सवारी साधन छन् कि छैनन्, उसले नै ढिलो गतिको सवारी साधनलाई ओभरटेक गर्न खोजिरहेको छ कि, उसको अगाडि बायाँतर्फबाट कुनै सहायक मार्ग पो छ कि, त्यस्तो सहायकमार्गबाट कुनै सवारी साधन मूल सडकमा आउँदै छ कि ? यी र यी लगायत अन्य सम्भावित अवस्थाहरुको ख्याल गरेरमात्र ओभरटेक गर्ने हो भने दुर्घटनाको जोखिम कम हुन्छ ।

बिरामी बोकेको अवस्थामा बाहेक एम्बुलेन्सले सडकमा हतार गर्नु हुँदैन । कतिपय एम्बुलेन्स चालक ‘बिरामी लिन जान लागेको’ भनेर पनि सडकमा हतार गर्छन् । पछिल्लो समय ट्राफिक नियम उल्लंघन गर्ने रित्तो एम्बुलेन्सहरुका लागि यो एक बहाना नै बनेको छ । यसले पनि दुर्घटनाको जोखिम बढाउँछ ।

एम्बुलेन्सले बिरामी र बिरामीको हेरचाह गर्ने तोकिएको व्यक्तिबाहेक अरुलाई बोक्न हुँदैन । कतिपय दुर्घटना अत्यधिक भारका कारण पनि भएको पाइन्छ । चालकको पछाडि एम्बुलेन्समा सीट राख्न हुँदैन भने बिरामी र एक जना हेरालुभन्दा बढी मानिस बोक्नु हुँदैन ।

सडकमा पहिलो प्राथमिकता पाउने एम्बुलेन्सको चालक उत्तिकै जिम्मेवार हुन जरुरी छ । त्यस्तो चालकले लापरवाही गरेको पाइएमा वा एम्बुलेन्स सञ्चालन निर्देशिका विपरीत सञ्चालन भएको पाइएमा कडा कारवाही हुनु पर्छ । मापसे, सवारी साधनको प्राविधिक कमजोरीका बाबजुद बिरामी बोक्ने लगायतका लापरवाही भएको पाइए एम्बुलेन्स चालकलाई अन्य सवारी चालकको तुलनामा दण्ड र जरिवानाको परिमाण बढाइनु पर्छ । जसले गर्दा एम्बुलेन्स चालकहरु लापरवाही गर्नबाट निरुत्साहित हुन सक्छन् ।

एम्बुलेन्स कस्तो हुनुपर्छ ?

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिकाले एम्बुलेन्सलाई तीन वर्गमा वर्गीकरण गरेको छ । ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग रातो, त्यसबाहेक दायाँ–बायाँको भाग हरियो र पहेँलो रङको ब्याटनवर्ग शैली वा चेसबोर्ड शैलीमा भएको हुनुपर्छ ।

यस्तै ‘ख’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग पहेँलो, त्यसबाहेक देखिने भाग हरियो र रातो रङको ब्याटनवर्ग शैली वा चेसबोर्ड शैलीमा भएको हुनुपर्छ ।

‘ग’ वर्गको एम्बुलेन्समा राष्ट्रिय समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग हरियो, त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङको ब्याटनवर्ग शैलीमा वा चेसबोर्ड शैलीमा भएको हुनुपर्छ । यद्यपि आर्थिक वर्ष २०७३÷७४ सम्म सञ्चालन अनुमति लिने ‘ग’ वर्गका एम्बुलेन्सको हकमा भने आर्थिक वर्ष २०७८÷७९ सम्मको अवधिका लागि सेतो रङको हुन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीताराम हाछेथु
सीताराम हाछेथु

हाछेथु अवकास प्राप्त प्रहरी निरीक्षक हुन् । हाछेथुले ट्राफिक व्यवस्थापनमा २९ वर्ष काम गरेका छन् ।

लेखकबाट थप