आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल हेर्दै बाटो काट्दै पैदलयात्रु, जेब्राक्रसमा हुत्तिएर आउँछन् सवारी

पछिल्लो चार महिनामा २३ पैदलयात्रुको मृत्यु
आइतबार, ०६ पुस २०७६, ११ : २०
आइतबार, ०६ पुस २०७६

काठमाडौँ । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म राजधानीका सडकहरु व्यस्त हुन्छ । दैनिक लाखौँको सङ्ख्यामा सर्वसाधारण र हजारौँको संख्यामा सवारी साधनहरुले सडक प्रयोग गरिरहेका हुन्छन् । पैदलयात्रु र सवारी चालक सँधै हतारमा हुन्छन् । यही हतारले काठमाडौँमा अधिकांश दुर्घटना निम्ताउने गरेको छ ।

दुर्घटनाको जोखिमको हेक्का नराखी पैदलयात्रु दाँयाबाँयाबाट आउने सवारीको  समेत ख्यान नगरी मोबाइल हेर्दै बाटो काट्छन् । उता, सवारी चालकहरु पनि जेब्राक्रसमा हुत्तिएर गाडी चलाउने गर्छन् । जेब्राक्रस रहेका ठाउँहरुमा चालकहरु गाडीलाई झन् स्पिडमा चलाउने गर्छन् । पैदलयात्रुले बाटो काटिरहेको छन् भन्ने कुरा समेत उनीहरुले हेक्का राख्दैनन् ।

कतिपय घटना पैदलयात्रुको लापरवाहीका कारण हुने भएपनि धेरै घटनामा भने सवारी चालकको लापरवाही देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल बताउँछन् । उनले भने, ‘नियम उल्लङ्घनदेखि बढी दुर्घटना संख्याका हिसाबले मोटरसाइकल छ ।’

महाशाखाले विभिन्न कलेजमा पढ्दै गरेका विद्यार्थीलाई सहभागी गराएर अहिले उपत्यकाको विभिन्न स्थानमा ट्राफिक स्वयम्सेवक खटाएको छ । विहान र बेलुकाको सवारी चाप हुने कार्यालय समयको तीन–तीन घण्टा स्वयम्सेवक खटिन्छन् ।

यस्तै पुस १ गतेदेखि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी तीन महिने ट्राफिक उज्यालो अभियान सुरु समेत गरेको छ ।

ट्राफिक उज्यालो अभियान कति सार्थक होला ?

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पु-याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महाशाखाले ट्राफिक उज्यालो अभियान शुरु गरेको हो ।

ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी चालक, कानूनलाई आत्मसात गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियान सुरु गरिएको एसएसपी ढकालको भनाइ छ ।

अभियानका क्रममा समुुदाय प्रहरी साझेदारीसँग समन्वय गरी पर्चा पम्प्लेट, स्टिकर विरण र श्रव्यदृष्य प्रदर्शनी  ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्ष लिने र स्कूल/कलेजका विद्यार्थीलाई विद्यालयमै गएर कक्षा लिने विधि बनाइएको छ ।

पुस, माघ र फागुन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने महाशाखाले विश्वास लिएको छ । अभियान कति सार्थक होला त्यो तीन महिनापछि थाहा होला ।

पछिल्लो चार महिनामा २३ पैदलयात्रुको मृत्यु

पछ्रिल्लो चार महिनामा उपत्यकामा सवारीको ठक्करबाट २३ पैदलयात्रुको ज्यान गएको ट्राफिक महाशाखाको तथ्याङ्कमा उल्लेख छ । झण्डै ५०० भन्दा बढी घाइते भएका छन् ।

नियमानुसार गाडी चलाउने र जेब्राक्रसबाट पैदलयात्रुले बाटो काट्ने हो भने झण्डै ७० प्रतिशत दुर्घटना आफैँ रोकिने महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठ बताउँछन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘ट्राफिक प्रहरीलाई स्वयम्सेवकले ठूलो सहयोग गरिरहेका छन् । जेब्राक्रसिङबाट जथाभावी बाटो काट्न दिँदैनन् । पिक एण्ड ड्रपमा छिटो सवारी पठाउन खटिन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप