बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपासँगको २ बुँदे सम्झौताले मात्रै सरकारमा जाने बाटो खुल्दैनः राजेन्द्र महतो

शनिबार, ०५ पुस २०७६, १७ : २७
शनिबार, ०५ पुस २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको बताएका छन् । 

शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै संयोजक महतोलेले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट पारेको बताए । 

उनले भने,‘हामी दुई पार्टीबीच भएको २ बुँदे सहमतिलाई लिएर अहिले विभिन्न अड्कलबाजी भैरहेका छन् । तर, ती अड्कलबाजीमा कुनै सत्यता छैन । जे हल्ला फैलाइएको छ, त्यो निराधार, गलत र असत्य हो ।’ उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात सम्वादहीनताको अवस्थाको भने अन्त्य गरेको स्पष्ट पारे । 

उनले भने,‘हामीले सरकारबाट समर्थन फिर्ता लिएपछि डेडलकको अवस्था थियो । यो २ बुँदे सहमतिले सम्वादहीनताको अन्त्य र तोड्ने काम गर्नेछ । देशका समसामयिक राजनीतिक विषयमा पार्टीका माग र मुद्दामा सम्वाद हुन्छ । यो सहमतिले राजपा र नेकपाबीचको संवादलाई पुनः प्रारम्भ गर्नेछ ।’ 

उनले नेकपासँग २ बुँदे सहमति गर्नुको कारणपनि खुलाए । उनले राष्ट्रियसभाको निर्वाचनको लागि नेकपासँग २ बुँदे सहमति गर्नुअघि यअसघिको राजपा, समाजवादी पार्टी र नेपाली कांग्रेसबीचको गठबन्धनलाई नै अघि बढाउने उद्देश्यले आफूले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको सुनाए ।

उनले भने,‘मैले उपेन्द्रजीसँग कुरा गरेको थिएँ, तर उहाँले कांग्रेससँग सम्झौता नगर्ने भनेपछि हामीले नेकपासँग कुरा गरेर सहमति गरेका हौं । अहिले हामीबीच भएको २ बुँदे सहमतिले रिक्त सिट जोगाउन बहुमत पुग्छ । हाम्रो सम्झौता निर्वाचन प्रयोजनको लागि हो । यसले हाम्रो पनि २ सिट सुरक्षित हुन्छ ।’ 

उनले उक्त सहमतिले संघीय सरकारमा राजपा सहभागी हुने भनेर कहीँकतैपनि नबोलेको स्पष्ट पारे । 

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीचको एकताको ढोका खुल्लै रहेको पनि स्पष्ट पारे । 

महतोले संघीय संसदको प्रतिनिधिसभाको सभामुखको निर्वाचन प्रक्रिया पुष ११ गतेबाट सुरु हुने बताउँदै सभामुखमा नेकपाको दाबी रहँदा उपसभामुख प्रतिपक्षलाई जाने स्पष्ट पारे । उनले भने,‘उससभामुख प्रतिपक्षलाई जाने हुँदा हामीलाई पनि आउन सक्छ, राजपा नेपाललाई पनि दिन सकिन्छ, अब कहाँ समझदारी हुन्छ, त्यही अनुसार हुन्छ ।’ उनले प्रदेश नम्बर २ को सरकारले विभिन्न कठनाइका बावजुदपनि आफ्नो काम गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप