केन्द्रीय संस्करण
शनिबार विशेष

यस्ता छन् नेपाली चलचित्रमा प्रयोग हुने थरीथरीका किक !

person explore access_timeपुस ५, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

एउटा चलचित्र पूर्ण हुनका त्यसभित्र फाइट, नृत्य, गीतसङ्गीत, कमेडी लगायत विभिन्न पाटा समेटिएको हुन्छ । नेपालमा निर्माण भएका चलचित्रको कुरा गर्ने हो भने फाइट नभएका चलचित्र पाउन मुस्किल छ । हिरोपात्रको हिरोगिरी देखाउन, कथालाई टर्निङ गर्नदेखि चलचित्रको क्लाइमेक्स (अन्त्य) गर्नसमेत फाइटको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । धेरैलाई लाग्न सक्छ चलचित्रमा प्रयोग हुँदै आएका फाइट एकै प्रकारका हुन्छन् । तर होइन ।

त्यहाँ विभिन्न प्रकारका फाइट प्रयोग हुने गरेको द्वन्द्व निर्देशक अष्ट महर्जन बताउँछन् । महर्जन पछिल्लो समयका निकै व्यस्त द्वन्द्व निर्देशक हुन् । चलचित्रको फाइटरका क्षेत्रमा प्रवेश गरेका महर्जनले मुख्य द्वन्द्व निर्देशककै रूपमा १०० भन्दा बढी चलचित्र काम गरिसकेका छन् । केही भोजपुरी चलचित्रको समेत द्वन्द्वको जिम्मेवारी बहन गरिसकेका अष्ट पछिल्लो समय सबै निर्माता निर्देशकका रोजाइका द्वन्द्व निर्देशक पनि हुन् ।

मार्सल आर्ट खेलबाट चलचित्रको द्वन्द्वमा प्रवेश गरेका अष्टको काम अन्यभन्दा फरक भएकाले पनि धेरैले उनलाई लिने गरेको पाइन्छ । महर्जन अहिले आफूलाई फिल्म निर्देशकका रूपमा पनि उभ्याउने कोसिसमा छन् । निर्माण भइरहेको चलचित्र ‘गुन्जन’का उनी निर्देशक पनि हुन् । द्वन्द्व निर्देशनबाट हासिल गरेको अनुभव निर्देशनमा उतार्दै गरेको महर्जनले बताए ।

महर्जनले आफ्नो चलचित्र ‘गुन्जन’मा पनि आफैले द्वन्द्व निर्देशन गरेका छन् । हरेक चलचित्रमा भिन्नभिन्न एक्सन प्रयोग गर्ने अष्टकै शब्दमा नेपाली चलचित्रमा प्रयोग हुने थरीथरीका किक

मायागिरी किक:  यो दुस्मनको मुटुमा ताकेर हान्ने किक हो । यो सीधा हान्ने किकका रूपमा पनि लिइन्छ । यो किक पावरफुल हान्यो भने मानिस उछिट्टिएर धेरै पछाडि पुग्छ । यो किक लागेपछि मानिस हत्तपत्त उठ्न सक्दैन । चलचित्रमा धेरै प्रयोग हुने किकमध्ये यो पनि एक हो। दुस्मन अगाडि बढ्यो भने सीधा हानेर फटाफट ढाल्ने किक पनि हो यो । मैले जति पनि काम गरेँ सबै चलचित्रमा यो किक प्रयोग गरेको छु । म मात्र होइन, जुन फाइट निर्देशकले पनि यो किक प्रयोग गर्ने गर्छन् । 

जम्प–टर्निङ किक : फाइट सुरु भएको केही समयमै भिलेनलाई नक आउट गर्न यो किक प्रयोग गर्ने गरिन्छ । जम्प गरेर जमिनबाट माथि उठेर फन्को मार्दै हानिने भएकाले पनि यसलाई जम्प–टर्निङ किक भनिएको हो । जति पनि द्वन्द्व निर्देशक चलचित्र क्षेत्रमा छन्, ती सबैले प्रयोग गर्ने प्रमुख किक मानिन्छ यो । टाउकाको एकातिर कन्चटमा लाग्ने भएकाले यो किक लागेको मानिस ढलेपछि उठ्न मुस्किल हुन्छ । खेलाडीबाहेक अरूले यो किक हान्न मुस्किल हुने भएकाले नायकका लागि पछाडिबाट हुकको प्रयोेग गरेर फाइटको सुटिङ गरिन्छ ।

टर्निङ किक : एउटा खुट्टा भुइँमै राखी शरीरस“गै घुमाएर हानिने किक हो यो । यो पनि टाउकाको कन्चटमा हान्ने गरिन्छ । यसको पावर जम्प–टर्निङ किकभन्दा केही कम हुन्छ । चलचित्रमा यो किक गालामा लगाएको जस्तो गराउन प्रयोग हुँदै आएको छ । किकबाट भिलेनलाई नकआउट देखाउन क्यामरामा हाइस्पिड सट लिने गरिन्छ । लगातार फाइट हानेर भिलेनलाई ढलाउन र फाइटलाई राम्रो देखाउन यो किकको प्रयोग गर्ने चलन छ । 

जम्प ब्याक किक: यो दर्शनीय किक हो । कराँतेमा समेत प्रयोग हुँदै आएको यो खासगरी तेक्वान्दोको किक हो यो । सीधै जमिनभन्दा माथि उठेर पछाडि हानिने किक । यसरी हान्दा यो मान्छेको मुटु भएको भागमा र च्युँडोमा लाग्छ । चलचित्रमा भिलेन नकआउट गराउन क्यामराको लो एङ्गल लगाएर फाइटलाई राम्रो देखाउन प्रयोग गर्ने गरिन्छ । म आफै मार्सल आर्टको खेलाडी भएकाले प्रायः चलचित्रमा यसको प्रयोग गरेकोे छु । 

ब्याक किक : जम्प नगरी एउटा खुट्टा जमिनमै राखेर अर्काे खुट्टाले पछाडिबाट हान्ने किक हो । चलचित्रमा फाइट एक राउन्ड देखाउन मात्र यसको प्रयोग गरिन्छ । कसैलाई किक लाग्यो भने त्यो मानिस फेरि रिपिट आउनका लागि यसको प्रयोग गर्ने चलन छ । यसका लागि कुनै प्रकारको सामग्री जरुरी छैन । यो किक चलचित्रमा मेजर किक मानिन्छ ।

साम्मफाङ किन: यो उस्सुबाट भित्रिएको किक हो । यो हावामा उडेर दुईवटै खुट्टाले हान्ने किक हो । यो किक जो पायो त्यसले हान्न सक्दैन । यो किक उस्सु खेलाडीले मात्र हान्न सक्ने किक हो । हावामा उडेर हान्ने किक भएकाले यो किक हान्दा शरीरको ब्यालेन्स गर्नु निकै महत्त्वपूर्ण हुन्छ । नेपाली चलचित्रमा यो किक कम मात्रमा प्रयोग हुने गरेको छन् । मैले पनि त्यस्तै ५, ६ वटा फिल्ममा यो किक प्रयोग गरेको छु ।  
 
साइड किक: चार पाँच जनालाई एकै पटक ढाल्नका लागि प्रयोग गरिने यो किक मार्सल आर्ट खेल्ने नायकले सजिलै हान्न सक्छ भने अन्यलाई सिकाउँदै हान्न लगाउनु पर्छ । यसलाई प्रायः कोख भएको हिस्सामा हान्न प्रयोग गरिन्छ । चार पा“च जनाले एकै पटक आक्रमण गरेका खण्डमा यो प्रयोग गरिन्छ । चलचित्रमा पेटमा हान्न यसको प्रयोग गरिन्छ । यो किक लागेपछि कलाकारको रियाक्सन राम्रो आउ“छ । 

हुक किक : नायकले फाइट गर्दागर्दै नसक्ने अवस्था आयो भने यो हुक किकको प्रयोग गरिन्छ । निधारमा हानिने किक हो यो । यसरी हानेको किक लागेका मान्छे सम्हालिन गाह्रै पर्ने हुन्छ । चलचित्रमा सजिलोका लागि यो किक छातीमा हान्न प्रयोग हु“दै आएको छ । यसरी हानेको किक लाग्यो भने फाइटरलाई जोखिम हुने भएकाले फाइटरलाई रोल गरेर ढालेपछि छातीमा हानेर मुखबाट रगत निकाल्ने गरिन्छ । चलचित्रमा मैले यो किक टाउकोमा नै हान्न प्रयोग गर्ने गरेको छु ।

माउसे किक : यो कराँतेको किक हो । चलचित्रमा यसलाई स्ल्याप किक पनि भन्ने गरिन्छ । एउटा खुट्टा टेक्ने र अर्काले गालामा हान्ने किक हो यो । यो किक छाती र पेटमा हान्न पनि प्रयोग हुन्छ । चलचित्रमा फाइटरलाई रोल गरेर ढलाउन वा पालैपालो ढलाउन प्रयोग गर्ने गरिन्छ । नर्मल किकका रूपमा चलचित्रमा यो प्रयोग हुँदै आएको छ । चलचित्रका लागि कम्पल्सरी छ । जुनै द्वन्द्वनिर्देशकले पनि चलचित्रमा यसको प्रयोग गर्ने गरेका छन् । यसको प्रयोगले फाइटर तथा नायक कसैलाई पनि जोखिम छैन ।

बटरफ्लाई किक : पुतलीझैँ हावामा उडेजसरी उडेर हान्ने भएकाले यसको नाम बटरफ्लाई किक राखिएको हो । यो किक हान्ने मान्छेले छत्तीस डिग्रीमा शरीरलाई ढल्काएर हान्नुपर्ने हुन्छ । चलचित्रमा राम्रो देखाउन छातीमा हान्ने गरिएको छ भने भिलेनलाई फाइटबाट नकआउट गर्न फेसमा हान्ने गरिएको छ । यो किक नर्मल फाइटर र हिरो दुवैले हान्नसक्ने किक हो । सबै चलचित्रमा यसको प्रयोग भएको पाइन्छ । पहिले राजेन्द्र खड्गीले चलचित्रमा यसको प्रयोग गरे पनि अहिले सबै द्वन्द्व निर्देशकले प्रयोग गर्ने गरेका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...