बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठ कार दुर्घटना : मापसे गरेर चलाएको कारमा को थिए ती दुई युवती ?

पटक–पटक सोध्दा पनि बोल्दैन प्रहरी
शनिबार, ०५ पुस २०७६, १७ : ००
शनिबार, ०५ पुस २०७६

काठमाडौँ । गत शनिबार बूढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकैको सडकमा एउटा कारले ठक्कर दिँदा गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भयो । देवकोटालाई ठक्कर दिने गाडी चालक हुन् पृथ्वी मल्ल ।

घटनाको चार दिनअघि मात्र पृथ्वी मल्ल अमेरिकाबाट नेपाल आएका हुन् । सम्पन्नशाली परिवारका मल्लको नेपाली कला क्षेत्रका नायिकाहरुसँग राम्रै चिनजान रहेको पाइएको छ । अमेरिकाबाट आएको भोलिपल्टै पृथ्वी रमाइलो गर्न भन्दै साथीहरुसँग राति बाहिर समेत निस्किएका थिए ।

बाँकी २ दिन पृथ्वीले परिवारलाई समय दिए । अमेरिकाबाट आएको चौंथो दिन पृथ्वी फेरि बाहिर निस्किए । उनी ३ जना साथीसँग शिवपुरी गए । जोडी–जोडी ।

त्यहाँ उनीहरु मदिरा पिएरै रात बिताए । कतिबेला उज्यालो भयो उनीहरुलाई त्यतिसम्म हेक्का भएन । नसाकै तालमा उनीहरु शिवपुरीबाट बुढानिलकण्ढ हुँदै घरतिर आउँदै थिए ।

चालक पृथ्वीको सिटसँगै अर्को सिटमा एक युवती र पछाडी अर्को जोडी थियो । मदिराले लठ्ठ उनीहरुलाई कार कतिको स्पिडमा गुडिरहेको समेत हेक्का थिएन । कारमा युवतीसँग मस्त रमाइलो गर्दै आइरहेका पृथ्वीले कारको गति समेत नियन्त्रण गर्न सकिरहेका थिएनन् ।

अन्ततः पृथ्वीले चलाएको बा१४च ६१२३ नम्बरको सुजुकी कार बुढानीलकण्ठ स्कुलको गेटैमा पुगेपछि दुर्घटना भयो । सडक छेउमा हिँडिरहेकी देवकोटालाई ठक्कर दियो । देवकोटा गम्भीर घाइते भइन् ।

मृतक लिला देवकोटा ।

देवकोटालाई ठक्कर दिएपछि पनि तीव्र गतिमा रहेको कार अझै रोकिएन । अलि पर रहेको बिजुलीको पोलमा गएर ठोक्किएको कारले दुईवटा मोटरसाइकललाई समेत ठक्कर दियो । कारभित्रका तीनजना बाहिर निस्किएर भागे । चालक पृथ्वी भने बाहिर निस्कन सक्ने अवस्थामा थिएनन् ।

तत्कालै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको टोली घटनास्थलमा पुग्यो । प्रहरीले गम्भीर घाइते देवकोटालाई न्युरो अस्पतालतर्फ लिएर गए । तर, अस्पताल नपुर्याउँदै उनको मृत्यु भयो । चालक पृथ्वीलाई प्रहरीले नियन्त्रणमा लियो ।

चालक पृथ्वीविरुद्ध प्रहरीले सवारी ज्यान मुद्दा दर्ता गरेर जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

पृथ्वीका पिता युएन ह्याबिट्याटमा काम गर्छन् भने आमा पनि एनजिओमा काम गर्छिन् । पृथ्वीमाथि अमेरिकामा पनि मादक पदार्थ पिएर पटक–पटक वितण्डा मच्चाएको आरोप छ ।

घटनाप्रति सबैको चासो

सामाजिक सञ्जालमा समेत बुढानिलकण्ठ दुर्घटनालाई विभिन्न तरिकाले टिकाटिप्पणी गरिएको छ । कोहीले गाडीमा रहेका अन्य तीनजना को–को थिए ? भनेर चासो गरेका छन् ।

सामाजिक सञ्जालकर्ताहरुले भीआईपी परिवारको घटना भएको भन्दै शक्तिको दुरुपयोग गरेर मल्ल परिवारले पीडितलाई अन्यायमा पारेर केस उल्टाउन सक्ने आशंका गरेका छन् । यो सबैको लागि चासोको विषय पनि हो । प्रहरीले सत्यतथ्य अनुसन्धान गरेर पीडित परिवारलाई न्याय दिन्छ कि दिँदैन त्यो केहीदिनमै थाहा होला ।

कारमा को–को थिए अन्य तीनजना ?

कारमा सवार तीन जनामध्ये एकजना पृथ्वी मल्लको साथी करिश मास्के थिए । करिश र पृथ्वी बच्चादेखिको साथी हुन् । भागेका करिशलाई प्रहरीले तत्कालै समातेको थियो ।

कारमा रहेका अन्य २ जना युवती को थिए त ? उनीहरु कहाँ भागे ? प्रहरी किन उनीहरुको नाम बताउन चाहँदैन ? पटक–पटक प्रहरीलाई सोध्दा पनि प्रहरी किन उनीहरुको नाम भन्न आलटाल गरिरहन्छ ?

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख हुन् डीएसपी उमेश लम्साल । पृथ्वीविरुद्ध महाराजगञ्ज वृत्तबाट नै मुद्दा चलेको छ । महाराजगञ्ज वृत्तले नै पृथ्वीविरुद्ध अनुसन्धान गरिरहेको छ । अनुसन्धान गर्ने क्रममा प्रहरीले पृथ्वीलाई कारमा रहेका युवतीहरु को–को थिए भनेर सोध्न मिल्दैन ?

सबैको चासोको विषय रहेको कुरामा प्रहरी यस्ता घटना लुकाउँछ ? किन तत्पर हुन्छ ? भीआईपी परिवारको घटना हो भन्दैमा प्रहरीले यस्ता कुराहरु लुकाउनु कतिसम्म न्यायोचित छ ?

यस विषयमा लम्साललाई सोध्दा ‘दुर्घटना गराउने चालक मल्ल प्रहरी नियन्त्रणमा छन् । कारमा अन्य व्यक्ति को–को थिए भनेर चासो गर्न आवश्यक छैन । उनीहरुले कार चलाएको होइन ।’ भन्दै पञ्छिन खोजे ।

सामाजिक सञ्जालमा युवतीको चर्चा

सामाजिक सञ्जालमा पृथ्वीसहितको एउटा फोटो भाइरल भइरहेको छ । जुन फोटोमा नेपाली चलचित्र क्षेत्रकी नायिका परमिता राणा राज्यलक्ष्मी र पृथ्वीलाई देख्न सकिन्छ ।

स्रोतका अनुसार उक्त फोटोमा देखिएका चारैजना शनिबार शिवपुरीबाट फर्किदै थिए । पृथ्वी मल्ल, करिश मास्के, परमिता राणा राज्यलक्ष्मी र एलिना थापा हुन् ।

कारभित्र रक्सीको बोतल र गाँजा

प्रहरीका अनुसार कारभित्र रक्सीका बोतल समेत भेटिएको थियो । तर, कारभित्र गाँजा नभेटिएको प्रहरी बताउँछ । यद्यपी, बुढानिलकण्ठ दुर्घटनाबारे महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले पनि राम्रोसँग प्रतिक्रिया दिएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप