शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.थापा ल्याउने तयारी

शुक्रबार, ०४ पुस २०७६, २२ : १०
शुक्रबार, ०४ पुस २०७६

– शुरबहादुर सिंह
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) मा प्रतिष्ठानका डा.निरेश थापालाई ल्याउने तयारी भएको छ । प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका डा.थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै यसअघि नै प्रतिष्ठानले उनलाई शिक्षाध्यक्ष पदमा नियुक्ति गर्ने आन्तरिक गृहकार्य अघि बढाएको थियो । 

निवर्तमान शिक्षाध्यक्ष डा.धर्मराज श्रेष्ठको कार्यवधि जेठ २५ गते सकिएपछि सात महिनादेखि प्रतिष्ठान हालसम्म शिक्षाध्यक्षविहीन छ । प्रतिष्ठानका उपकुलपति प्रा डा. राजेन्द्रराज वाग्लेले उक्त पदको नियुक्तिका लागि डा. थापा, प्राडा भरतमणि पोखरेल र प्रा.डा बद्री बडुको नाम सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिस गरेका थिए। प्रतिष्ठानमा नै योग्य जनशक्ति भएको र कार्यरत जनशक्तिलाई स्थान दिँदा काम गर्ने ऊर्जा मिल्ने भएकाले डा.थापालाई पहिलो नम्बरमा सिफारिस गरिएको उपकुलपति डा. वाग्लेले जानकारी दिए ।

उनका अनुसार डा.थापा शिक्षाध्यक्षका पक्का उम्मेदवार हुन् । ‘प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम उपकुलपतिबाट सिफारिस हुने तीन जनामा सहकुलपतिले चार वर्षे कार्यकालका लागि एक जना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ’, कुराकानीका क्रममा उनले भने, ‘अब केही दिनभित्र सहकुलपतिले शिक्षाध्यक्ष नियुक्ति गरेसँगै प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालनमा सहजता आउनेछ ।’ 

विशेषगरी चिकित्सा क्षेत्रमा ठूला तथा साना दर्जनौँ शल्यक्रिया गरी कर्णालीको कमजोर स्वास्थ्य अवस्थामा सुधार ल्याएर कर्णालीवासीको मन जित्नुभएका डा थापालाई शिक्षाध्यक्ष बनाउन जुम्ला प्रतिष्ठान परिवारसहित सेवा क्षेत्रका नागरिक तथा जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरुको एकमत देखिएको छ । 

प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णालीको भूगोल र यहाँका नागरिकहरुलाई सहज, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा दिएर मन जितेकोले पनि शिक्षाध्यक्षमा डा.थापाको सुनिश्चितता बढेको बताए । ‘यो पदका लागि उहाँ ऊर्जाशील, मेहनती, लगनशील र योग्य उम्मेदवार हुनुहुन्छ’,  कुरा गर्दै रजिष्ट्रार काफ्लेले भने, ‘कार्यरतलाई नै काम गर्ने स्थान दिए त्यसले व्यक्ति, संस्था र समाज सबैलाई हित हुन्छ ।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा प्रतिष्ठानका सिनेट सदस्य लालबहादुर सार्कीले प्रतिष्ठानमा रहेर कर्णालीका नागरिकहरुको स्वास्थ्यमा दिल दिएर काम गर्ने डा.थापाको जिम्मेवारी बढाउने प्रतिष्ठानको योजना प्रशंसनीय रहेको बताए । ‘डा.थापा प्रतिष्ठानका संस्थापक डाक्टर जस्तै नै हुनुहुन्छ । उहाँको विश्वास र कामले प्रतिष्ठानको उचाइ बढेको छ’, प्रमुख सार्कीले भने, ‘यहाँको स्वास्थ्य विकासमा सघाउन कर्णालीलाई माया गर्ने व्यक्तित्वलाई प्रतिष्ठानले अघि सानुपर्दछ ।’

डा.थापाको योगदानलाई मध्यनजर गर्दै उनलाई शिक्षाध्यक्ष बनाउन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सकारात्मक देखिएका छन् । कार्यरतलाई स्थान दिँदा प्रोत्साहन हुने र आर्थिक भारसमेत कम पर्ने भन्दै उनले काठमाडौँमा बसेर कर्णाली दोहन गर्ने संस्कार र पात्रलाई पूर्ण निरुत्साहित पार्न यहाँका नागरिकको स्वास्थ्य क्षेत्रमा जीवन समर्पण गर्ने व्यक्तिलाई सो पदमा ल्याउन जोड दिइएको उनले बताए ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रतिष्ठान पहल समितिका संयोजक नरेश भण्डारी र पूर्वपर्यटन राज्यमन्त्री एवं प्रतिष्ठानका सहसंयोजक बलबहादुर महतसमेत डा थापालाई शिक्षाध्यक्ष बनाउँदा प्रतिष्ठानको विकासमा सहयोग पुग्ने बताउँदै आएका छन् । जुम्लाका युवा मनोज बुढाथोकी मगरले डा.थापा योग्य र समर्पित भएकाले उनको शिक्षाध्यक्ष नियुक्तिले कर्णालीवासीलाई लाभ हुने तर्क गरे ।

को हुन् डा. थापा ?

सैनामैना–६ रुपन्देही निवासी ४० वर्षीय डा निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एशोसियट प्रोफेसर हुन् । उनले सन् (२०१५–२०१९) चीनको उहान विश्वविद्यालयबाट गाईनोकोलोजी, अन्कोलोजीमा विद्यावारिधि गरेका छन् ।

क्रिश्चियन मेडिकल कलेज भेलोर भारतबाट सन् २०१२–२०१४ डिस्ट्यान्स फेलोसिप इन डाइबेटिज म्यानेजमेन्ट, सन् २००९/०१२ मा त्रिभुवन विश्वविद्यालयबाट एमडीजिपी र चीनकै उहान विश्वविद्यालयबाट सन् २०००–२००६ मा उनले एमबिबिएस गरेका थिए । आर्थिक वर्ष २०७१/०७२ देखि डा.थापा प्रतिष्ठानमा कार्यरत रहेका छन् ।

प्रतिष्ठानमा विसं २०७२ मा साविकको महावैपाथरखोला गाविसका जनकबहादुर शाहीको पेटबाट चार वटा फलामका राला (घण्टको डण्डा)को ‘मिराकल अपरेशन’ गरेपश्चात लोकप्रिय भएका उनले दुर्गममा पनि जटिल खालका शल्यक्रिया हुन सक्दो रहेछ भन्ने कुराको बलियो सन्देश दिएका थिए । यसबाट प्रतिष्ठान र स्वास्थ्य सेवालाई उचाइमा पु¥याउन मद्दत गरेको थियो ।

शाहीका साथै आङ खस्ने समस्याबाट आजित हुम्ला दार्मकी टुल्की नेपाली र जुम्ला चन्दननाथ–४ सिमखाडाकी विष्णुकन्या उपाध्याय, सुत्केरी हुन नसकेर उच्च रक्तस्रावले करीब मृत्युको मुखमा पुगेकी रुकुमपूर्व भूमे गाउँपालिका– १ लुकुमकी ४१ वर्षीया मनमाला घर्तीलाई डा थापाले पुनर्जन्म दिएका थिए ।

उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५ जर्नलमा विभिन्न अध्ययन तथा अनुसन्धानसम्बन्धी लेख प्रकाशित भएका छन् । कोरियाबाट सञ्चालित जर्नल अफ गाईनाकोलोजीक अन्कोलोजी जर्नलमा प्रकाशित डा.थापाको लेखअनुसार जुम्लामा एक सय महिलामा ३–४ जनालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुने देखिन्छ ।

यस्तै अन्तर्राष्ट्रियस्तरको विएमसि इन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित उनको लेखअनुसार पाठेघरको मुखको क्यान्सर गराउने एचपिभि भाइरस जुम्लाको महिलामा देशको अन्य ठाउँभन्दा बढी हुने गरेको देखिन्छ । अत्यन्तै महँगो मानिने एचपिभि जाँच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुसन्धानको क्रममा सम्भव गरिएको उनी बताउँछन् । अन्तर्राष्ट्रियस्तरको नेचर जस्ता जर्नलमा उनका १३ भन्दा बढी लेख प्रकाशित भइसकेका छन् । 

कर्णालीमा बसेर सेवा गरेवापत ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड २०७५’ बाट उनी पुरस्कृतसमेत भएका छन्। पाठेघरको मुखको क्यासर विषयमा चीनको प्रसिद्ध उहान विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको डा.थापाले अमेरिककाको हार्वर्ड विश्वविद्यालयबाट अनुसन्धानसम्बन्धी विशेष तालीम लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप