सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

भारतमा आन्दोलन जारी, मृत्यु हुनेको संख्य ३ पुग्यो, सयौं पक्राउ (अपडेट)

शुक्रबार, ०४ पुस २०७६, १५ : ०१
शुक्रबार, ०४ पुस २०७६

एजेन्सी ।  भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ ।  राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । 

अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनकारीहरुमाथि प्रहरीले चलाएको गोली लागेर कर्नाटकामा दुई जना र उत्तर प्रदेशमा एकजना प्रदर्शनकारीको ज्यान गएको छ । भारतका सञ्चारमाध्यमहरुले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पछिल्लो निर्णयका कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नुपरेको समाचार सम्प्रेषण गरेका छन् । 

हुनत सो कानुन पारित हुनुअघि नै विशेषगरी आसाममा निकै धेरै संख्याका नागरिक उपस्थित भएर विरोध गरेका थिए । तर सो विरोधको वास्ता नगरी सरकारले कानुन पारित गरेपछि यहाँका विपक्षीहरूको समेत तीव्र विरोध भएको हो । 

बिहीबार सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुश नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । त्यसैगरी भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड पनि गरेको छ ।  शुक्रबार पनि विरोध प्रदर्शनहरु जारी रहेको र पछिल्लो केही दिनयता यहाँको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको बताएका छन् । भारतका केही स्थानमा कर्फ्यू नै लगाइएको बताइएको छ ।

उत्तरप्रदेशको लखनउमा प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाएका थिए । त्यसक्रममा २० जनाभन्दा बढी पक्राउ परेका छन् । यहाँको विरोध प्रदर्शन शुक्रबारसम्म हेर्दा कम्तीमा पनि १० वटा प्रदेशमा जारी रहेको छ । तर पनि अधिकारीहरुले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भागहरु, कर्नाटका, गुजरात, तेलङ्गना र मध्यप्रदेशका अधिकांश नगरहरुमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेको छ । 

त्यसैगरी बेङ्गलुरुमा भने सरकारले कफ्र्यू नै जारी गरेको छ । यहाँ प्रदर्शनकारीहरुले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो । त्यस स्थानमा हिजो प्रहरीको गोली लागेर प्रदर्शनकारीको निधन भएको थियो भने केही घाइते भएका छन् । 

शुक्रबारको प्रदर्शनका क्रममा राजधानी नयाँदिल्लीको लाल किल्लाबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।  उक्त प्रदर्शनका क्रममा केही सामाजिक अभियन्ताहरु पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीहरुले जानकारी दिएका छन् । 

त्यसैगरी प्राप्त अर्को एक समाचारमा राजधानी दिल्लीमा विरोधको क्रम तीव्र तथा आक्रामक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टरनेट सेवा नै बन्द गरिएको थियो ।  हवाई अधिकारीहरुका अनुसार बिहीबारको विरोध प्रदर्शनको क्रम आक्रामक बन्दै गएपछि मुख्य सडकहरु बन्द भएका र यसका कारण दिल्लीको हवाई सेवा पनि प्रभावित भएको थियो । 
अधिकारीहरुले बिहीबार दिउँसोका केही उडान नै स्थगित भएका जनाएका छन् । 

प्रतिबन्धित स्थानमा नागरिकलाई सार्वजनिक ठाउँमा भेला हुन पनि दिइएको छैन । कुनै स्थानमा पाँच जना भन्दा बढी मानिस जम्मा हुनेबित्तिकै प्रहरीले लखेटिरहेका समाचारहरु आइरहेका छन् ।  तर नागरिकतासम्बन्धी सो विधेयकको समर्थनमा निस्किएका व्यक्तिलाई भने प्रहरीले केही गरेको छैन । उता अधिकारीहरुले शुक्रबार पनि बिहानैदेखि विरोध प्रदर्शन शुरु भएको बताएका छन् । 

यस विषयमा थप विवरण भने आएको छैन । आज पनि प्रहरीको धरपकड हुने तथा उक्त विधेयकको विरोधमा जुलुशहरु निस्किने क्रम जारी नै रहने प्रदर्शनकारीहरुले जनाएका छन् । 

प्रमुख विपक्षी दल भारतीय काँग्रेसले यो विरोध प्रदर्शनमा प्रहरीले गरेको व्यापक धरपकडका साथै विभिन्न स्थानमा गरिएका निषेधाज्ञाले सरकारलाई लाज लाग्नुपर्ने बताएको छ ।  तर प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस्ता विरोध प्रदर्शनको कुनै अर्थ नरहेको भन्दै विरोधका कामलाई राजनीतिकरण नगरी शान्त रहन सबैलाई आग्रह गरेका छन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप