शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीसँग किन भयो ओलीको ‘ब्रेकअप’ ?

शुक्रबार, ०४ पुस २०७६, १४ : ५३
शुक्रबार, ०४ पुस २०७६

काठमाडौँ । समाजवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यो दलले नेतृत्व गरेको सरकारसँग वार्ता गर्नका लागि चार सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन गरेको एक महिना भइसक्यो । तर, हालसम्म एकपटक पनि वार्ता भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्मा हेरफेर गर्दा समाजवादी पार्टीसँग कुनै सल्लाह नगरेको भन्दै सरकार छाड्न पार्टीमा दबाब परेपछि नेकपा र नेकपा नेतृत्वको सरकारसँग वार्ता गर्न पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समितिमा अध्यक्ष भट्टराईका साथै अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशाके राइ र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् ।

यसरी एउटा दलले शीर्ष तहको नेता राखेर वार्ता समिति गठन गरेको नेपाली राजनीतिमा पहिलो घटना हो । यसैबाट पुष्टि हुन्छ कि समाजवादी पार्टीले वार्ता र संवादलाई कति महत्त्व दिएको छ । तर समितिले वार्ताका लागि प्र्रधानमन्त्री ओलीको तर्फबाट अझैसम्म केही ‘सिङ्गल’ पाएको छैन ।

पार्टीका महासचिव गङ्गा श्रेष्ठका अनुसार पार्टीले वार्ता समिति गठन गरेको कुरा सम्बन्धित पक्षलाई जानकारी गराइसके पनि तर हालसम्म कुनै रेसपोन्स आएको छैन ।

अध्यक्ष यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा सहभागी छ । तैपनि सरकारको नेतृत्व गरेका दलसँग वार्ता हुनसकेको छैन । प्रधानमन्त्री आली नेतृत्वको मन्त्रीपरिषद्मा उपेन्द्र यादव भएपनि दुवैजनाको बीचमा भेटघाट नभएको महिनौँ भइसक्यो । अध्यक्ष उपेन्द्र यादवले छलफल गर्न पटक–पटक टाइम माग गरे पनि प्रधानमन्त्री ओलीको अस्वस्थताको कारण देखाउँदै त्यसलाई टार्ने काम भइरहेको छ ।

समाजवादी पार्टीलाई समय दिन आनाकानी गरिरहेका प्रधानमन्त्री ओलीले हालै राष्ट्रिय जनता पार्टी नेपालसँग भने वार्ता गरेर दुई बुँदे सम्झौता गरेका छन् । सत्ता साझेदार दललाई वार्ताका लागि समय नदिएर राजपा नेपालसँग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई फुर्सद हुनु भनेको प्रधानमन्त्री पार्टीसँग सन्तुष्ट नरहेको संकेत भएको समाजवादी पार्टीका नेताहरु बताउँछन् ।

समाजवादी पार्टीका एक नेताले भने, ‘प्रधानमन्त्री अ‍ोली समाजवादी पार्टीलाई नरुचाएको कुरा मन्त्री हेरफेरले नै पुष्टि गरेको थियो । यति पनि शीर्ष तहका नेताले बुझ्दैनन् भने अरु के भन्नु ?’

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा रहेर पनि सरकारको बचाउ नगरेको र उल्टै सरकारको आलोचना गरेको कारण प्रधानमन्त्री अ‍ोली उनीमाथि रुष्ट रहेको बताइन्छ । यादवले सरकार भ्रष्टाचारमा लिप्त रहेको कुरा सार्वजनिक मञ्चबाट पटक–पटक भन्दै आएका थिए । जुन कुरा प्रम ओलीलाई मन परेको थिएन ।

प्रधानमन्त्री ओलीले यसअघि नै उपेन्द्र यादवलाई ‘सरकारमा बस्ने र उल्टै सरकारको आलोचना पनि गर्ने ?’ भन्दै सरकारमा बस्न मन नभए सरकार छाड्न समेत भनेका थिए ।  त्यति मात्र होइन, स्वास्थ्य मन्त्रालयको प्रगति पनि सोचे अनुसार नभएको गुनासो प्रधानमन्त्री ओलीले गरेका थिए ।

यादवले सकभर सरकार छाडेर गए हुन्थ्यो भन्ने प्रधानमन्त्री ओलीको चाहना रहेको छ । तर, समाजवादी पार्टीका अध्यक्ष एवं कानुन मन्त्री यादवको नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग राम्रो सम्बन्ध रहेको कारण अझै पनि सरकारमा टिकिरहेको नेकपाकै नेताहरु बताउँछन् ।

यता, अध्यक्ष बाबुराम भट्टराईले पनि प्रधानमन्त्री ओली र उनको नेतृत्व सरकारको आलोचना गरिरहेका हुन्छन् । उनले यादवभन्दा पनि कडा शब्दमा टिप्पणी गरिरहेका हुन्छन् । त्यसकारणले पनि प्रधानमन्त्री ओलीले समाजवादी पार्टीबाट टाढिएको समाजवादी पार्टीका नेताहरुको बुझाइ छ । यता, प्रधानमन्त्रीको सचिवालय स्रोत भन्छ, ‘समाजवादी पार्टीसँग वार्ताको प्रसंग निस्किदा प्रधानमन्त्री ओलीले सरकारमा रहेर सरकारकै आलोचना गर्ने दलसँग के–को वार्ता भनेर जवाफ दिएका थिए ।’

नेकपाका एकजना स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘उपेन्द्र यादव पनि सरकार छाड्न चाहनुहुन्छ । तर, अध्यक्ष प्रचण्डले हतार नगर्न भनेको कारण मात्र उहाँ टिकिरहनु भएको छ । तर त्यसरी कतिदिनसम्म टिक्नुहुन्छ थाह छैन ।’

पार्टीभित्र पनि डा. बाबुराम भट्टराई पक्षले यादवलाई सरकारबाट बाहिरिन दबाब दिइरहेको छ । यादवले संविधान संशोधन गर्ने आशा देखाउँदै सरकारमा बसिरहेको भन्दै पार्टीभित्रै उनको आलोचना भइरहेको छ । यता, यादवकै दवावमा वार्ता समिति गठन भएको थियो । तर हालसम्म एकपटक पनि वार्ता नहुँदा त्यसले पार्टीमा झन् अन्योल सृजना गरेको पार्टीका नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप