शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बेवास्ता, हेलिकोप्टर चार्टर ठूलो रकम दुरुपयोग

शुक्रबार, ०४ पुस २०७६, १४ : २८
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्लाका कतिपय बिरामीहरु सुर्खेत तथा काठमाडौंमा हेलिकोप्टर चार्टर  गरी उपचार गर्न आउने गर्छन् । छोटो दुरीमा रहेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार नगराई सुर्खेत र काठमाडौं जाँदा हेलिकोप्टर चार्टरमा राज्यकोषको ठूलो रकम दुरुपयोग भइरहेको छ । 

कर्णाली प्रदेशको १० वटै जिल्लालाई स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय शैया छन् । प्रतिष्ठानले सबै जिल्लाका बिरामीलाई उपचार गर्न सक्ने क्षमता पनि राख्दछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हेर्दा कुनै विकसित शहरको मेडिकल अस्पताल भन्दा कम लाग्दैन ।

तीन बेडको सघन उपचार कक्ष (आइसीयु) पनि सञ्चालनमा छ । मेडिकल कलेजको रुपमा विकास गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेक किसिमका जटिल रोगहरुको पनि उपचार सम्भव छ । तर छोटो दुरीको प्रतिष्ठानमा उपचार नगराई त्यस क्षेत्रका विरामीलाई सुर्खेत र काठमाडौं लैजाने गरिएको र सो क्रममा राज्यकोषको ढुकुटी दुरुपयोग भएको दाबी जिल्ला समन्वय समितिको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगत विकास तथा प्रविधि समितिको अनुगमन टोलीसँगको अन्तरक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले हेलिकोप्टर चार्टड गर्दा राज्यको लाखौं रुपैया दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराए । नजिकै सुविधा सम्पन्न अस्पताल हुँदाहुँदै उपचारको नाममा भएको रकमको दुरुपयोग रोक्ने प्रयास नगरि राज्यले आफ्नो निरिहता देखाएको आरोप पनि उनले लगाए ।

डोल्पा, हुम्ला लगायतका स्थानबाट आधा घण्टामा प्रतिष्ठानमा हेलिकोप्टरबाट पुग्न सक्ने भएपनि त्यस क्षेत्रका बिरामीलाई सुर्खेत तथा काठमाडौं ल्याइने गरिएको छ । त्यसो गर्दा लामो दुरीका कारण कतिपय बिरामीको बाटोमा नै मृत्यु हुने गरेको छ ।  प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा.पुजनकुमार रोकायले २० जना मेडिकल अफिसर र विशेषज्ञ चिकित्सकहरु सहित २८ जनाले सेवा दिइरहेको बताए ।

दुर्गम हिमाली जिल्ला भएकाले प्रतिष्ठानमा विद्युतको समस्या सबैभन्दा बढी छ । विद्युत कै कारण विभिन्न मेडिकल उपकरणहरु सञ्चालनमा समस्या रहेको डा. रोकायले बताए । उनले हिउँदमा हिउँ पर्ने र वर्षादको समयमा बाटो अवरुद्ध हुने हुुँदा औषधिको अभाव हुन गई बिरामीको उपचारमा कठिनाई हुने गरेको समेत बताए । तर पनि चिकित्सकहरुको सावधानी र विज्ञताले जटिल रोगहरुको उपचार तथा शल्यक्रिया पनि भइरहेको उनले बताए । 

दुर्गम क्षेत्र भएकाले प्रतिष्ठानमा विद्युत् आपूर्ति, औषधी, रगत तथा रगतजन्य सामग्रीहरुको अभाव हुँदा बिरामीको उपचारमा बेला बेलामा समस्या देखिने गरेको छ । यस्ता समस्यालाई सम्बोधन गर्दै उपचार सम्भव भएर पनि ठूलो रकम खर्चेर टाढाको अस्पताल लैजाने प्रवृत्तिको अन्त्य गर्नेतर्फ सरकारले समयमै सोच्नुपर्ने देखिन्छ । अन्यथा प्रतिष्ठान र उपचारको नाममा हेलिकोप्टर चाटर्डमा राज्यकोषबाट हुने दोहोरो खर्च रोकिने देखिदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप