शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेती दोहनले जमिन नै भासिने डर !

शुक्रबार, ०४ पुस २०७६, १० : ३१
शुक्रबार, ०४ पुस २०७६

पोखरा । बर्खायाममा पानीको सतह बढेर सेती किनारको रामघाट तालजस्तै बन्छ । पोखरा महानगरपालिका ९, १० र ११ नम्बर वडालाई छोएको रामघाटबाट हिउँदमा भने सेतीकै बाटो भएर मान्छेहरु सजिलै आउजाउ गर्न सक्छन् । जब बर्खायाम आउँछ, सजिलै आउजाउ गर्न सकिने रामघाट डरलाग्दो बन्छ । यस्तोमा मान्छेहरु यहाँसम्म पुग्न पनि डराउँछन् । शव जलाउने बाहेक मान्छेहरुको उपस्थिति कमै हुन्छ ।

बर्खा सकिन्छ । लगत्तै किनारमा नदीले थुपारेका बालुवा चाल्ने, बेच्ने सिजन सुरु भईहाल्छ । बर्खायाममा पानीको बहावले भरिने रामघाट, हिउँद लागेपछि बालुवा चाल्ने श्रमिकहरुको संख्याले भरिन्छ । झिसमिसेदेखि नै रामघाटमा बालुवा चाल्ने र चालिएका बालुवा गाडीसम्म ल्याउने काम हुन्छ । पूर्वमा सुनसरीदेखि पश्चिममा दाङ, रोल्पासम्मका श्रमिक यो ठाउँमा भेटिन्छन् ।

बालुवा बेच्न महानगरले प्रत्येक वर्ष टेन्डर नै निकाल्छ । यस आर्थिक वर्षमा पनि पोखरा महानगरपालिकाले बालुवा बेच्ने टेन्डर निकालेको छ । महानगरले ६ करोड ६५ लाख रुपैयाँमा राजी कन्स्ट्रक्सनलाई बालुवा बेच्न ठेक्का दिएको छ ।

१० वर्षदेखि सेती बगरमा बालुवा चाल्दै आएका रामप्रसाद पाण्डे बिहान ५ बजेदेखि नै बालुवा चाल्ने, ओसार्ने काम सुरु भईसक्ने बताउँछन् । चिसो पनि बढेको हुनाले ५ बजे बगरमा नआए कामै गर्न नसकिने उनले सुनाए । ‘५ बजे आइएन भने त जाडो छ, जाडोले आउनै सकिन्न,’ उनले भने, ‘मान्छेहरु यो जाडोमा ८ बजेसम्म सुत्छन् । तै पनि जाडो हुन्छ । चाँडै आएर काम गरेपछि, ८ बजे नै खलखली पसिना आउँछ ।’

रामघाट बगरमा अनुमानित १ हजारको हाराहारीमा श्रमिकहरु छन् । एक गाडी बालुवा ६ हजार रुपैयाँमा बिक्री हुन्छ । ६ हजार मध्येबाट ३ हजार ठेकेदार कम्पनीले लिन्छ । बाँकी, समूहमा काम गर्नेले बराबर बाँड्छन् । समूहमा २ देखि ४ जनासम्म सदस्य हुन्छन् । २ सदस्यीय समूहले १ दिनमा १ गाडी बालुवामात्रै पु¥याउन सक्छ । ४ जनाको समूहले भने २ देखि ३÷४ गाडी बालुवा एकैदिनमा पु¥याउँछ ।

बालुवा धेरै भए २ जनाको समूहले एक दिनमा ४ गाडी बालुवा पनि पु¥याउन सक्छ । रामघाटमा सिजनल बालुवा चाल्ने काम गर्दै आएका स्याङ्जाका मनबहादुर थापाका अनुसार बर्खा सकिने बित्तिकै बालुवाको थुप्रो धेरै हुने हुँदा गाडीमा टिप पु¥याउन सजिलो हुन्छ । यस्तोमा कमाई पनि राम्रो हुन्छ । ‘बर्खा सकिनै बित्तिकै काम गर्न पनि सजिलो हुन्छ । बिस्तारै बालुवाको थुप्रो पनि कम हुँदै जान्छ,’ उनले भने, ‘अनि कमाई पनि घट्दै जान्छ ।’

बालुवाको थुप्रो सकिँदै गएपछि उनीहरुले खनेरै भए पनि बालुवा निकाल्छन् । खन्दै जाँदा गहिराई बढेर पानीको सतह भेटिएपछि अर्को ठाउँमा खन्छन् ।

यसरी, श्रमिकहरुले बर्खामा पानीले बनाएको धारलाई नै फेरिदिन्छन् । जुन पर्यावरणीय दृष्टिकोणले उचित छैन । भूगोलविद्हरुका अनुसार पोखराको जमिन यसै पनि कमजोर छ । पृथ्वीको उत्पत्ति हुँदा पोखरामा ठुलो पोखरी रहेको र पछि प्राकृतिक हलचलबाट त्यो पानी पोखरीबाट बाहिरिएपछि पोखरा मानिस बस्न योग्य भएको भन्ने भनाइ पनि छ ।

यद्यपि, बालुवा निकाल्दैमा पर्यावरणीय सन्तुलन बिग्रिने भन्ने होइन । निकालीहाले पनि निश्चित ठाउँसम्म निकाल्दा केही फरक पर्दैन । पोखराको भूगोल सम्बन्धका ज्ञाता इन्जिनियर किसानसिंह गुरुङका अनुसार नदीले बनाएर छोडेको सतहभन्दा पनि तल पुगेर बालुवा निकाल्ने काम गर्दा त्यसको गहिराइ बढ्ने समस्या देखिन्छ । ‘निश्चित लेभल हुन्छ । नदीले जुन किसिमको सतह बनाएर छोडेको छ,’ उनले भने, ‘त्यो भन्दा तल त पस्नै हुन्न । नदी झन गहिरिने समस्या हुन्छ । आफ्नो बाटो बिग्रिएपछि त नदीले अर्को बाटो बनाइ हाल्छ ।’

सम्बन्धित निकायले यो विषयमा चासो देखाउनुपर्ने उनले सुनाए । सेती नदीको हकमा रामघाट (जहाँबाट बालुवा निकालिन्छ) को उत्तर र दक्षिणी भागमा सेती जमिन भित्रै भासिएर बगेको छ । जमिन भित्रैबाट बगेको सेती रामघाटमा ठुलो स्वरुपमा देखिएपछि, दक्षिण पश्चिम पृथ्वीचोक, चाइना पुलपट्टीको भागदेखि फेरि जमिनभित्रै भासिएर बगेको छ ।

यसरी, पहिलेदेखि नै जमिनभित्र भासिएको नदीलाई खोतल्दै जाँदा, नदी गहिरिदै जाँदा कोल्याप्स हुने सक्ने सम्भावना पनि उत्तिकै रहने उनले सुनाए । ‘चाइना पुलबाट पनि तपाईंले देख्न सक्नुहुन्छ, यताउति ब्लक जस्ता झुन्डिएका छन्, भित्रभित्रै अलिअलि पानीको बहाब छ,’ उनले भने, ‘त्यो पनि एउटा जोखिम नै हो । नदीको बहाब फेरिदिने बित्तिकै त नदी अर्कै बाटोबाट हिँड्छ । अर्कै पट्टीबाट पानीको बहाब बढेपछि त्यो ब्लक झर्छ, जसले खोँचलाई कोल्याप्स हुनबाट जोगाईं रहेको छ ।’

गुरुङ यसअघि पोखरा नगर विकास समिति प्राविधिक प्रमुखको जिम्मेवारीमा समेत रहेर काम गरेका थिए ।

यो विषयमा पहिलेदेखि सचेत बनाउँदै आए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । ‘सर्टेन लेभलभन्दा तल नजाऔं भनेर त मैले पहिले नै भनेको हो,’ उनले भने, ‘किनभने, नदीमा त रिचार्ज हुन्छ नि, बालुवा, गिट्टीको मात्रा बढ्छ । त्यो रिचार्ज हुने ठाउँको मात्र निकालौँ, तल निकाल्दा खतरा हुन सक्छ भनेर पहिल नै भनेको थिएँ । तर, अहिलेसम्म सिस्टमेटिक हुन सकिरहेको छैन ।’

पोखरा यसै पनि भौगोलिक रुपमा कमजोर रहेको उनले सुनाए । यहाँको भूभागलाई पानीले सजिलै कटान गर्न सक्ने उनले सुनाए । ‘पानीमा घुल्न पनि सक्छ, पानीको बहाब बढेर आयो पनि सजिलै काट्न पनि सक्छ,’ उनले भने, ‘यहाँको भूभाग त एकदमै संवेदनशील छ ।’

खोँचमा झुण्डिएर रहेका भागलाई निकाल्न सकेमा पोखरा सुरक्षाको दृष्टिकोणले सुरक्षित रहन सक्ने भए पनि त्यो सम्भव नरहेको उनले बताए । यद्यपि, त्यो भागलाई सुरक्षित राख्नुपर्ने उनले सुनाए । ‘त्यो जोगाउनका लागि सर्टेन लेभल मेन्टेन गर्नैपर्छ । गहिरिँदै गयो भने त झनै समस्या हुन्छ ।’

नदीको बहावका दुईवटा बाटो हुने उनले जनाए । एउटा सिधा बाटोमा हिँड्ने, अर्को बाङ्गोटिङ्गो बाटोमा हिँड्ने । अहिले मध्ययम रहे पनि खोतल्दै जाँदा फरक बाटो हुँदै गएर गहिराई बढ्दै जाने र खतरा पनि बढ्ने उनी सुनाउँछन् ।

गुरुङ १२ हजार वर्ष पहिले अन्नपूर्ण हिमालको नजिक रहेका हिमतालहरु फुटेर बग्दै आएका ग्रेगान पोखरामा जम्मा भएर यहाँको भूभाग कमजोर रहेको मत राख्छन् । ग्रेगान र चुनको मात्रा बढी भएको हुनाले यहाँको माटोलाई पानीले सजिलै कटान गर्न सक्ने, पानीमा घुल्न सक्ने उनको दाबी छ । 

पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजराम लामिछानेलाई यस विषयमा झकझकाई रहेको उनी बताउँछन् । टेन्डरबाट उठेको रकमको कम्तिमा पनि २०, २५ प्रतिशत रकम सेती संरक्षणको लागि छुट्याउन आफुहरुले आवाज उठाई रहेको उनले सुनाए । यद्यपि, महानगरले आफूहरुको मागको सुनुवाईं नगरेको उनको भनाइ छ । ‘हामीले त बालुवा झिक्नेमात्रै होइन, महानगरलाई संरक्षणमा पनि ध्यान दिन झकझकाईं रहेका छौं,’ उनले भने, ‘तपाईंहरुले नसके हामीलाई जिम्मा दिनुस्, हामी नै गर्छौं पनि भनि रहेका छौं ।’

रामघाट क्षेत्रमा दुबैतर्फ पर्खाल लगाउँन पनि प्रस्ताव राखेको उनले सुनाए । सेती संरक्षणको लागि बारम्बार बजेट माग गर्दा पनि आफूहरुको माग सुनुवाई नभएको उनले बताए । नदीको गहिराई बढ्दै गएको र त्यसलाई अझ गहिरो बनाउन दिन नहुने पक्षमा कुरा उठाई रहेको उनले सुनाए ।

यस विषयमा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले निश्चित सतहसम्म निकाल्न पाउने भनेर टेन्डर आह्वान गर्दा सहमति गरे पनि नियमित अनुगमन फितलो भएको स्वीकार गरे ।

रातोपाटीसँगको कुराकानीमा उनले यस विषयमा महानगरको ध्यानाकर्षण भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप