मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस विवाद नेविसंघमा अड्कियो : अन्य विषयमा भयो यस्तो सहमति

बिहीबार, ०३ पुस २०७६, २२ : ३४
बिहीबार, ०३ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसमा संस्थापन र इतर पक्षबीचको विवाद मिलाउने प्रयास नेपाल विद्यार्थी संघ (नेविसंघ)को भागबन्डामा आएर अड्किन पुगेको छ । काँग्रेसमा १४ औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय विभागको गठन, नेविसंघको तदर्थ समिति निर्माण र तरुण दलको म्याद बढाउने प्रस्तावसहितको एजेन्डामा सहमतिको प्रयास जारी छ । 

उक्त विषयमा वार्ता गर्न गठित संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू दिलेन्द्र बडु र हृदयराम थानीको टोलीबीच मंसिर २६ गतेदेखि सहमतिको प्रयास जारी छ । सोही अनुसार विहीबार साँझ  सिंहको निवास चाक्सीबारीमा दुई पक्षीय वार्ता टोलीबीच भएको छलफल पनि नेविसंघको विषयमा टुंगो लाग्न नसकेपछि त्यसै टुंगिएको छ ।

वार्ता समितिका सदस्य हृदयराम थानीले अन्य विषयमा मोडामोटी सहमति भए पनि नेविसंघको विषयमा टुंग्गो लाग्न नसकेको बताए । उनले भने, ‘अन्य विषयमा मोडामोटी सहमति भएको छ, बिट मार्न मात्र बाँकी छ । तर नेविसंघको विषयमा सहमति हुन सकेन । संस्थापन पक्षले आफ्नो प्रस्तावमाथिको अडान छोडेन ।’  

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्षसहित १ सय १ सदस्यीय कार्यसमिति गठन गर्न माग गरेको छ । 

अध्यक्षसहित बहुमत सदस्य सभापतिलाई, महामन्त्रीसहित ४० प्रतिशत हिस्सा आफूहरूलार्ई, अन्य पदाधिकारीमध्ये उपाध्यक्ष सिटौला र कोषाध्यक्ष उपसभापति विजयकुमार गच्छदार पक्षलाई भागबन्डा गर्ने पौडेल पक्षको प्रस्ताव छ । 

सभापति शेरबहादुर देउवाले भने अध्यक्ष र चार महामन्त्रीसहित १ सय १ सदस्यीय कार्यसमितिको अडान राख्दै आएका छन् । सोही अडानले आज पनि सहमति हुन सकेन । पौडेल पक्षको वार्ता टोलीले भोलि बिहान ११ बजे पौडेल निवास बोहोराटारमा आजको बैठकको बिफ्रिङ गर्नेछ ।

यता भोलि दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ।  बैठक अघिसम्म सहमति नभए भोलिको बैठकबाट विधान र लोकतान्त्रिक प्रक्रिया अनुरुप बहुमतका आधारमा निर्णय लिने सभापति देउवाले तयारी गरेको बुझिएको छ ।

महाधिवेशन कार्यतालिकामा सहमति

 काँग्रेसमा महाधिवेशनको कार्यतालिकासहित २०७७ सालको फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने सहमति भएको छ । ७७ असोजसम्ममा देशभरीबाट संकलित क्रियाशील सदस्यहरुको नामावली एकीकृत गर्ने र मंसिरभित्र वडा तहदेखि जिल्लातहसम्मको अधिवेशन गरिसक्ने कार्यतालिका बनाइएको छ।

त्यसपछि काँग्रेसले प्रदेश अधिवेशन पुसको पहिलो साता गर्ने र ०७७ फागुन  फागुन ७ गते प्रजातन्त्र दिवसकै दिन १४औं महाधिवेशनको उद्घाटन गर्ने योजना बनाएको छ।

२०७२ साल फागुन २० गतेदेखि २३ गतेसम्पन्न १३ औँ महाधिवेशनबाट आएको वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल यही फागुन १९ गतेदेखि समाप्त हुँदैछ।

तरुण दलमा सहमति

तरुण दलमा वर्तमान अध्यक्ष जितजंग बस्नेत नेतृत्वको दललाई पोखरा महाधिवेशनको भावनाअनुसार ९५ सदस्यीय कार्यसमिति बनाउने प्रस्तावमा दुबै पक्ष सहमत देखिएका छन् । गत भदौ २८ गते अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले एकले अर्कालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेका छन् ।

अध्यक्ष बस्नेत देउवा र महासचिव शाही पौडेलको रोजाइमा बनेका हुन् । अहिले देउवा महासचिव शाहीलाई हटाएर महाधिवेशन गर्न म्याद ६ महिना थप्ने अडानबाट पछि हटेकबो बुझिएको छ ।

 विभाग गठनबारे

देउवाले २८ वटा विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा राखेका छन् ।  ६०– ४०को भागबण्डामा विभाग गठनमा सहमति भएको छ । पौडेल पक्षलाई संगठन, प्रचार, जनसम्पर्क र विदेश विभाग मध्ये एउटा विभागसहित  ४० प्रतिशत हिस्सा दिन देउवा तयार भएको स्रोतले बताएको छ । २८ विभाग मात्र गठन गर्नु पर्ने अडानबाट पौडेल पक्षपछि हटेको बताइएकाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप