दीक्षित हुँदा उत्साहित विद्यार्थीलाई भविष्यको चिन्ता
काठमाडौँ । अधिकांश महिला सारी र ब्लाउज अनि पुरुष कोट र दौरा–सुरुवालका साथै विभिन्न परम्परागत पोसाकमा सजिएर दीक्षित हुँदा विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । त्यसमाथि कालो गाउन, घाँटीमा थरीथरीका स्काफसँगै शीरमा गोलाकार चुच्चे टोपी समेत पहिरिएका उनीहरुलाई यो अविस्मरणीय क्षण क्यामरा तथा मोवाइलमा कैद गर्न भ्याइनभ्याइ थियो ।
हुन पनि लामो मेहनत र परिश्रमको फलस्वरुप दीक्षित हुन पाइने अवसरले कसलाई पो उत्साहित नबनाउला र ! त्यही उत्साहमा थिए त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोहमा सहभागी १० हजार १ सय ४८ विद्यार्थी ।
ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा उपस्थित भएका उनीहरुको मुहारमा दीक्षित हुन पाउँदाको खुसी प्रष्टै झल्किन्थ्यो ।
यही उत्साहका बीच दीक्षान्त समारोह चलिरहँदा फोटो खिच्नेहरुको भीडमा उस्तै व्यस्त थिए हरिचन्द्र श्रेष्ठ पनि । शंकरदेव क्याम्पसबाट एमबीएस उत्तीर्ण गरेका उनी शारीरिक रुपमा अपाङ्ग हुन् । तर बौद्धिक रुपमा तीक्ष्ण उनले ह्वीलचियरको सहारामै क्याम्पस आउजाउ गरेर आज दीक्षित हुने अवसर पाएका छन् ।
ह्वीलचियरको सहारामा क्याम्पससम्म पुगेर अध्ययन गर्ने क्रममा आएका अनेकथरी व्यवधानलाई भुलेर ४५ औँ दीक्षान्त समारोहमा दीक्षित हुन पाउँदाको खुसीको सीमा वर्णन गरेर नसकिने उनले सुनाए ।
दीक्षान्त समारोहमा श्रेष्ठ जस्तै अपाङ्गता भएका विद्यार्थीहरुको सहभागिता एकदमै न्यून छ । उनी भन्छन्, ‘राजधानी भन्दा बाहिर अध्ययन गर्ने शारीरिकरुपमा अशक्त विद्यार्थी दीक्षान्त समारोहमा चाहेर पनि कम सहभागी हुन पाउछन् ।’ उनले भने, ‘यहाँ म जस्तै २÷३ जना मात्रै विद्यार्थी दीक्षित हुन आउनु भएको छ ।’
तर, दीक्षित हुँदा उनी जति खुसी देखिन्थे त्यति नै पढाइ अनुसारको रोजगारी पाउने/नपाउने टुङ्गो नहुँदा भविष्यप्रतिको चिन्ता पनि उत्तिकै देखिन्यो ।
‘म मात्रै होइन, दीक्षित भएका शारीरिक रुपमा सबल धेरै युवा पनि दीक्षित हुँदा खिचेको फोटो सामाजिक सञ्चालनमा सजाएर विदेश पलायन हुन्छन्,’ उनले भने, ‘राज्यले रोजगारीको अवसर सिर्जना गरेर प्रतिस्पर्धा गर्ने वातावरण बनाउपर्छ ।’
स्नातक तथा स्नातकोत्तर गरेका फरक क्षमता भएका विद्यार्थीको हकमा रोजगारीको लागि कोटा प्रणालीको व्यवस्था गरिएको भएपनि व्यवहारमा राज्य तथा निजी क्षेत्रले लागू नगरेको उनले दुखेसो पोखे ।
उनका अनुसार नेपालका उत्पादन भएका शिक्षित जनशक्तिलाई देशविकास निम्ति प्रयोग गर्न बहस र छलफलको आवश्यकता छ ।
दीक्षित हुनेमध्येकी अर्की एक जना थिइन् थानकोटकी एन्जिला श्रेष्ठ पनि । ७ महिने छोरी अनि श्रीमानसँगै दीक्षित हुन आएकी थिइन् एन्जिला । पद्मकन्या बहुमुखी क्याम्पसबाट बालविकास विषयमा स्नातकोत्तर पूरा गरेकी उनीपनि भविष्यप्रति उत्तीकै चिन्तित देखिन्थिन् ।
यद्यपि छोरीलाई हुर्काउने क्रममा बालविकास विषयमा अध्ययन पूरा गरेको बताउने उनी भविष्यमा उपयुक्त काम पाउनेमा आशावादी नै छिन् । स्नातक, स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र हातमा भएपनि धेरै गृहिणी महिला बेरोजगार रहेको तितो यथार्थ कोट्याउँदै उनी भन्छिन्, ‘प्रमाणपत्र हातमा परेपछि अध्ययन अनुसारको सीप र अंग्रेजी विषयमा कमजोर हुँदा धेरेलाई समस्या छ । पढाई हुनेबेलासम्म पढाई छ भन्ने र पढाई पूरा भएपछि जागिर नपाइने अवस्था छ ।’
त्रिविबाट वर्षेनी विभिन्न संकायका हजारौँ विद्यार्थी दीक्षित भइरहँदा नेपालको शिक्षा क्षेत्रले छरलाङ मारे जस्तो देखिए पनि स्नातक र स्नातकोत्तर गरेका विद्यार्थी खाडी तथा अन्य मुलुकमा अर्धदक्ष कामदारको रुपमा काम गर्न बाध्य छन् ।
वर्षेनी हजारौँको संख्यामा उत्पादन भएका शिक्षित बेरोजगार जनशक्तिलाई नेपालको विकासमा सहभागी नबनाए दुर्घटना हुन सक्ने बताउँछन् अर्का विद्यार्थी डा सरोज थापा मगर ।
मास्टर्स इन जर्नल सर्जरी एमएसी पूरा गरी गरेका उनी आफै भने आफ्नो क्षेत्रमा केही गर्न सक्ने भइसकेका छन् । हाल पाटन अस्पतालमा कार्यरत उनी सीमित व्यक्ति भन्दा पनि विश्वविद्यालयबाट उत्पादन भएका सबै जनशक्तिलाई राज्यले सही रुपमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिन्छन् ।
बिहीबार राजधानीसँगै देशका विभिन्न स्थानबाट १० हजार १ सय ४८ विद्यार्थी दीक्षित भएका छन् । उत्कृष्ट अङ्क ल्याउने विभिन्न ३१ विद्याका विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
-
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
-
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा
-
लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा
-
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी