बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा भ्रमण वर्ष-२०२० को तयारी तीव्र

बिहीबार, ०३ पुस २०७६, १३ : ३६
बिहीबार, ०३ पुस २०७६

कैलाली । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सुदूरपश्चिम प्रदेश सरकारले तयारी तीव्र बनाएको छ । 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन तयारीलाई तीव्र बनाएको हो । 

मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिको समन्वयमा विभिन्न उपसमिति गठन गरी छुट्टाछुट्टै जिम्मेवारी दिई तीव्रतामा जुटेको पर्यटन विकास शाखाका प्रमुख भोजराज पाठकले जानकारी दिए ।

उनले पौष १६ गते धनगढीमा औपचारिक समारोहको आयोजना गरी भ्रमण वर्षको उद्घघाटन गर्ने कार्यतालिका रहेको बताए । सुदूरपश्चिममा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन प्रदेश सरकारले विशेष पहल गर्ने तयारी भइरहेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि प्रदेशभरी सूचना केन्द्र स्थापना गरिने भएको छ । 

सूचना केन्द्र स्थापनले आन्तरिक तथा बाह्य पर्यटकका लागि यहाँ रहेका पर्यटकीय स्थलको बारेमा जानकारी लिन महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयले अपेक्षा गरेको छ । 

मन्त्रालयले सूचना केन्द्र स्थापना गर्न प्राविधिक समेत खटाइसकेको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय स्थल पर्याप्त मात्रामा भएकाले त्यसको प्रचार प्रसार गर्न सके पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने पाठकको भनाइ छ । 

पर्यटकीय स्थलमा भौतिक पूर्वाधारको विकास र प्रचार प्रसारका लागि गुरु योजना बनाई पूर्वाधार विकास गरिने पर्यटन मन्त्री माया भट्टले बताए । प्रदेश सरकारले त्रिवर्षीय योजना बनाएर पूर्वाधार विकास नभएका पर्यटकीय स्थलमा पुर्वाधार विकास विस्तार गरिने र स्थापना भइसकेका क्षेत्रमा सुधार गरी पर्यटन प्रवद्र्धन गरिने  उनले बताए । 

उनले सुदूरपश्चिममा आन्तरिक र बाह्य  पर्यटक भित्र्याउने गरी तयारी थालिएको बताउँदै भ्रमण वर्ष सफल बनाउन प्रदेशवासीलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे । 

भ्रमण वर्ष सफल बनाउन प्रदेश सरकार मात्र होइन यहाँका स्थानीय तहहरुले पनि कार्ययोजना बनाई अघि बढी रहेका छन् । 

कैलालीको चुरे गाउँपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका लगायतका स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारप्रसारका लागि आवश्यक बजेट विनियोजन गरेका छन् ।

पर्यटकीय क्षेत्रको विकासका लागि चुरे गाउँपालिकाले रु. ९ लाख रुपैयाँ बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको पहिचान गरिरहेको प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले बताए ।

सुदूरपश्चिममा खप्तड, रामारोशन, घोडाघोडी ताल, शुक्लाफाँटा बन्यजन्तु आरक्ष, दोधरा चाँदनी झोलुङ्गे पुल, शैपाल हिमाल, अपिनाप्पा हिमाल, चिसापानी पुल, टिकापुर पार्क लगायत थुप्रै धार्मिक पर्यटकीय क्षेत्रहरु रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप