मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

लैंगिक समानताको सूचकाङ्कमा नेपालले भारतलाई उछिन्यो, भारत अघिल्लो वर्षभन्दा चार स्थान खस्कियो

बुधबार, ०२ पुस २०७६, १८ : ५६
बुधबार, ०२ पुस २०७६

एजेन्सी । महिला र पुरुषबीचको समानताको सूचकाङ्कमा नेपालले अघिल्लो वर्षभन्दा केही सुधार गरेको देखिएको छ । अघिल्लो वर्ष १०५ औं स्थानमा रहेको नेपालले समानताको मापनमा सुधार गरेर १०१ औं स्थान हासिल गरेको छ । 

यो अवधिमा भारतको महिला र पुरुषबीचको समानताको सूचकाङ्कमा ¥हास देखिएको छ । यही कारण भारत चार स्थान झरेर ११२ औं स्थानमा पुगेको छ । अघिल्लो वर्ष भारत १०८ औं स्थानमा थियो । सुचकाङ्कमा नेपाल दक्षिण एशियाली देशहरुमध्ये तुलनात्मक रुपमा राम्रो अवस्था देखिन्छ । नेपाल दक्षिण एशियाली देशमध्ये श्रीलंकाभन्दा अगाडि आएको छ । नेपालभन्दा अघि रहेको बङ्ग्लादेश ५० औं स्थानमा छ । 

यो महिला पुरुषबीचको खाडलको सूचकाङ्क समावेश गरेको रिपोर्ट ‘वल्र्ड इकोनोमिक फोरम’ले मंगलबार सार्वजनिक गरेको थियो ।  रिपोर्टअनुसार लैंगिक सामनाताको मुद्दामा आईसल्याण्ड पहिलो स्थानमा छ । आइसल्याण्डपछि नर्वे दोस्रो र फिनल्याण्ड तेस्रो स्थानमा छ । 

वल्र्ड इकोनोमिक फोरमको जेण्डर ग्याप रिपोर्टमा चीन (१०६औं स्थानमा), श्रीलंका (१०२औं स्थान),  ब्राजिल (९२औं स्थान),  इण्डोनेशिया (८५ औं स्थान) र बंग्लादेश (५० औं) स्थानमा छ । उता पाकिस्तान रिपोर्टको लगभग पुछारतिर अर्थात १५१ औं स्थानमा छ । पाकिस्तान पछाडि सूचीमा इराक १५२ औं स्थान र यमन १५३ मात्र छन् ।

वल्र्ड इकोनोमिक फोरमले रिपोर्टमा भनेको छ , ‘पहिले लैंगिक असमानता अन्त्य हुनको लागि १०८ वर्ष समय लाग्ने आङ्कलन गरिएको थियो । तर अहिले जसरी विभिन्न क्षेत्रमा महिलाको सहभागीता बढेको छ, यसले भेदभाव ९९.५ वर्षमा अन्त्य हुने प्रक्षेपण निक्लिएको छ । तथापि महिला र पुरुषबीचमा शिक्षा, स्वास्थ, रोजगारी र राजनीतिको क्षेत्रमा थप असमानता छ ।’

राजनीतिक असमानता अन्त्य हुन ९५ वर्ष 

जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संगठन ‘वल्र्ड इकोनोमिक फोरम’ को रिपोर्ट हेर्दा महिलाको राजनीतिक अवस्थामा निक्कै सुधार भएको छ ।   रिपोर्टले महिला र पुरुषबीचको राजनीतिक असमानता करिब ९५ वर्षमा अन्त्य हुने लेखेको छ । अघिल्लो वर्ष यस प्रक्षेपणअनुसार १०७ वर्ष लाग्ने भन्ने थियो । 

अहिले संसारभरका संसदको तल्लो सदनमा महिलाहरुको हिस्सेदारी २५.२ प्रतिशत छ भने मन्त्रालयमा हिस्सेदारी २१.२ प्रतिशत देखिन्छ । जबकि अघिल्लो वर्ष यो क्रमशः २४.१ प्रतिशत र १९ प्रतिशत थियो । 
तथापि आर्थिक असमानतामा क्षेत्रमा भने महिला पुरुषबीचको खाडल विकराल छ ।

अघिल्लो वर्षको तथ्याँकका आधारमा महिला पुरुषबीचको आर्थिक असमानता अन्त्य हुन २०२ वर्ष लाग्ने प्रषेपण गरिएकोमा नयाँ तथ्याँकले यो लक्ष्य झन् बढेर २५७ वर्ष लाग्ने देखिएको छ ।  भावी दिनमा रोजगारीको मुख्य क्षेत्र हुने विश्वास गरिएको क्लाउड कम्प्युटिङ, इन्जिनियरिङ, तथ्याङ्क र एआईमा महिलाको न्युन सहभागिता चिन्ताजनक भएको रिपोर्टले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप