मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : विद्या भट्टराईद्वारा सपथ, नेपाल एयरलाइन्सलाई ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड’

मङ्गलबार, ०१ पुस २०७६, १८ : ५७
मङ्गलबार, ०१ पुस २०७६

विद्या भट्टराईद्वारा सपथ
कास्की क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधसभा सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छिन् । 

मंसिर १४ गते भएको उपनिर्वाचनबाट निर्वाचित भट्टराईले संसद सचिवालयमा उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् । 

सपथपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाएकी छिन् । 

 संविधानले निर्दिष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने बताउँदै भट्टराईले तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता जनाइन् । 

 ‘पाँच वर्षका लागि भएको निर्वाचनमा २ वर्षपछि उपनिर्वाचन भएको छ । तीन वर्ष बाँकी छन् । यो अवधिमा पहिलो नीति निर्माणमा भूमिका खेल्ने हो । दोस्रो विकास निर्माणमा अपूर्ण रहेका कामहरु पुरा गर्ने हो । यी दुबै काम तीन वर्षमा पुरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु । यी कामहरु पुरा गर्छु’, उनले भनिन् । 

नेकपा स्थायी कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ । 

 २९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए । 

 ४ गते संसद आह्वान भएको अवस्थामा छिटो निर्णय गरेर जानुपर्ने धारणा बैठकमा व्यक्त भएको उनको भनाइ छ । 

मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसमेत गरी १३ जनाले आफ्नो विचार राखेका थिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनमाथि सदस्यहरुले आलोचनात्मक टिप्पणी राखेको प्रवक्ता नारायणकाजी श्रेठले दिए । बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने छ । 

ट्राफिक उज्यालो अभियान
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको शुभारम्भ गरेको छ । 

उपत्यकाको ट्राफिक व्यवस्थानलाई सहज बनाई दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले अभियानको शुभारम्भ गरिएको हो ।

कार्यक्रम सडक प्रयोगकर्ता, पैदलयात्री, चालक÷सहचालक र कलेजका विद्यार्थीलाई  लक्षित गरी सञ्चालन गरिनेछ । महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुने महाशाखाले जनाएको छ ।

 अभियानको शुभारम्भमा बोल्दै महानगरीय प्रहरी कार्यालयका प्रमुुख शैलेन्द्र थापाले एक वर्षमा २ हजारको संख्यामा नागरिकको ज्याने गरी दुःखद घटनाहरु घट्ने गरेको बताए । 

बामदेव गौतमको कुरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताएका छन् । 

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय संबन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रममा नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक रहेको बताएका हुन् । उनले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तीको मूल्य तिरेर गर्नुपर्ने समेत बताए ।  उनले चक्लाबन्दी नगरे कृषिमा अन्य मूलुकहरुसँग प्रतिस्पर्धा गर्न नसकिने समेत बताए । 

श्रम सम्झौता कार्यान्वयन भएन
नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले विभिन्न मुलुकहरुसँग भएका श्रम सम्झौताहरु सरकारले कार्यान्वयनमा ल्याउन नसकेको बताएकी छिन् । 

श्रममन्त्री रामेश्वर राय यादवलाई ध्यानाकर्षणपत्र बुझाएपछि संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा संग्रौलाले सामाजिक सुरक्षा कोषको दुरुपयोग भएको समेत बताइन् । 

 सामाजिक सुरक्षा कोष र शून्य लागतका सन्दर्भमा सरकारले गरेका कामहरु समेटेर श्वेतपत्र जारी गर्न उनले माग गरिन् । दुई तिहाईको सरकारले श्रमिक र सर्वहाराको नाममा प्रचार गरेपनि पूँजीपतिहरुको हालिमुहाली रहेको उनको आरोप थियो ।

फ्रि भिसा फ्रि टिकट नेपाली कांग्रेसको नीति भएको र अहिलेको सरकारले शून्य लागतका नाममा सुरु भएपनि कामदारहरुले दुःख पाइरहेको उनले बताइन् । 

विमानस्थलको विजोग
नेपाल भ्रमण सुरु हुन केही दिन मात्रै बाँकी हुँदा नेपालकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था दयनीय पाइएको छ । कर्मचारीको लापरबाहीका कारण विमानस्थलमा रहेको बेथितिबारे बेलाबेलामा चर्चा भइरहने गर्छ । सरकार र विमानस्थल व्यवस्थापनले विमानस्थल सुधारको काम गरिरहेको जनाए पनि अध्यागमन कार्यालयमा देखिएको अव्यवस्थाले पुनः सवैको ध्यान तानेको छ ।

कुनै समय अध्यागमन कार्यालयमा कर्मचारीको तँछाडमछाड हुने गरे पनि अहिले अध्यागमनमा कर्मचारी जान नमानेको खवर बाहिर आएको छ ।

अध्यागमन कार्यालयमा जाने कर्मचारी नपाएर दरबन्दीको एक तिहाइ कर्मचारीकै भरमा अध्यागमन कार्यालय चलाउनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अफिसरहरुको पूर्ति नहुँदा दैनिक कार्य सम्पादनमा अप्ठ्यारो मात्रै परेको छैन, सुरक्षा चेकजाँच र अध्यागमन पार गर्न २ घण्टाभन्दा बढी समय लगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

नेपालकै एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको अवस्थाबारे विमानस्थल र सरकारी पक्ष के भन्छ ? यो समाचार पढ्नुहोस्ः

 


राष्ट्रिय झण्डा दिवस

दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

 राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएको छ । 

नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट यो दिवस मनाउन थालिएको अभियान्ता राजानन्द माण्डव्यले बताए । 


 
नेपाल एयरलाइन्स 

राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । 

‘एयरलाइन्स कृटिज एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड नेपाल वायुसेवा निगमलाई प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समिक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टिपिएस ग्रोबरले जानकारी दिए । 

 त्यस्तै विमानस्थालमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्यका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको उनले बताए । 

त्यस्तै एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ । एसोसिएसनले विगत चार वर्षदेखि एयरलाइन्सहरुको समिक्षा गरी उक्त अवार्ड प्रदान गर्दै आएको छ । यसअघि यो अवार्ड थाइ एयर र फिन एयरले पाइसकेको ग्रोबरले बताए । 

खेलकुद सप्ताह

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौंले ‘खेलकुद सप्ताह २०७६’ आयोजना गरेको छ । 

काठमाडौंको टुडिखेलमा सुरु भएको खेलकुद सप्ताहमा विभिन्न ३४ वटा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । नेशनल प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले खेलकुदलाई शिक्षाको महत्वपूर्ण अंगको रुपमा लिइएकोले नेशनल प्याब्सनले लामो समयदेखि हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

इट्टा उद्योग हटाउन माग
चन्द्रागिरी नगरपालिकाका स्थानीय त्यस क्षेत्रमा सञ्चालित इट्टा उद्योग हटाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले इट्टा भट्टाका कारण आफुहरुको स्वास्थ्यमा गम्भीर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै इट्टा भट्टा हटाउनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले २०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले फेरी आन्दोलन गर्नुपरेको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप