शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा गुट छैन, स्वार्थ समूह मात्रै छ !

विश्लेषक भन्छन्, ‘स्वार्थको राजनीति फापेकाले नेताहरु त्यसैका पछि दौडिए’
मङ्गलबार, ०१ पुस २०७६, १५ : ५४
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा पेश भएकोे राजनीतिक प्रतिवेदनमा पार्टी संस्थागत नभएको र गुटहरू झाँगिदै गएको निष्कर्ष निकालिए पनि राजनीतिक विश्लेषकहरुले भने नेकपामा सैद्धान्तिक, वैचारिक गुट नभएको दाबी गरेका छन् ।

एक वर्षपछि गत आइतबारबाट सुरु नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट पेश भएको राजनीतिक प्रतिवेदनमै गुट झाँगिएको निष्कर्ष निकालिएको छ । तर नेकपाका शीर्ष नेताहरुको निष्कर्षलाई विश्लेषकहरु पत्याउन तयार छैनन् । उनीहरु भन्छन्– ‘नेकपा या काँग्रेसमा पनि सिद्धान्त, विचार र कार्यक्रममा ‘गुट’ छैन ।

राजनीतिक विश्लेषक हरि रोकाका अनुसार कुनै पनि सजीव पार्टीमा वैचारिक र सैद्धान्तिक विचार समूह (गुट) हुन आवश्यक छ । तर, नेपालका पार्टीहरुमा भने विचार र सिद्धान्तमा गुट नभई स्वार्थमा रमाउनेहरुको समूह मौलाएको छ ।

‘कुनै पनि पार्टीमा फरक विचार समूह हुन्छन् । त्यस्ता फरक विचार समूह सिद्धान्त र विचारमा आधारित हुनुपर्छ । तर नेकपा र काँग्रेसकै सन्दर्भमा पनि अहिले भनिएको गुटहरु विचार र सिद्धान्तभित्र पर्दैनन्,’ विश्लेषक रोका भन्छन्, गुट जन्मने भनेको फरक विचारबाट हो ।

विशेषगरी पार्टीहरुमा गुट २ कारणले जन्मने पनि रोकाको भनाइ छ । ‘पार्टीमा आउने फरक विचारहरुको सम्बोधन भएन भने त्यसको पक्ष र विपक्षमा लाग्नेहरुबाट गुटको उदय हुने हो । त्यसकारण फरक मतमा छलफल गर्ने गरिन्छ । तर हाम्रोमा यदि कसैले विचार र सिद्धान्तमा फरक मत राखिहाले पनि छलफल गर्ने प्रवृत्ति नै छैन’, रोकाको विश्लेषण छ । त्यस्तै नेपालका प्रमुख राजनीतिक दलहरुमा रहेको भनिएको गुट खान पाउने र नपाउनेहरु तथा पदमा पुग्ने र पुग्न नपाउनेहरु बीचको स्वार्थको लडाइँ भएको रोकाको बुझाइ छ ।

‘वास्तविक गुटले पार्टीलाई फाइदा नै हुन्छ । तर यस्ता स्वार्थ समूहले पार्टीलाई फाइदाभन्दा घाटा बढी गर्छ । अहिले नेकपामा देखिएको गुट पनि त्यही हो’ रोकाको दाबी छ । उनले पार्टीहरुमा केन्द्रमा देखिएको गुटगत प्रवृत्ति झाँगिँदै जाने र प्रदेश हुँदै स्थानीय तहसम्मै पुग्ने खतरा रहेको पनि बताए ।

‘अहिले त गुटको प्रभाव केन्द्रमा मात्रै जस्तो देखिन्छ । तर यो बढ्दै गएपछि स्थानीय तहसम्म नै पुग्छ र अन्त्यमा पार्टी नै कोल्याप्स हुनसक्छ’, रोकाको बुझाइ छ । त्यस्तै शीर्ष नेताहरुले पार्टीमा गुट झाँगिएको र निदान गर्ने बेलाबेलामा कुरा गर्ने गरे पनि निदान नहुने रोकाको ठोकुवा छ । ‘जसले गुट चलाउँछन् उनीहरुलाई पनि थाहा छ, विचार समूहको गुट होइन भन्ने कुरा । तर पनि उनीहरु गुट नियन्त्रण गर्ने वा निमिट्यान्न गर्छौं भन्छन्, त्यो सम्भव नै छैन’, रोकाको बुझाइ छ । त्यस्तै नेताहरुले गुट निमिट्यान्न गर्छौैं भनेर भन्नु ‘हात्तीको देखाउने दाँत’ जस्तै भएको उनको टिप्पणी छ ।

यस्तो छ प्रतिवेदनको सार 

–आज पार्टी सङ्गठन अन्योलग्रस्त अवस्थामा रहेको छ ।

–पार्टी संस्थागत छैन ।

–बरु विभिन्न प्रकारका गुटहरू झाँगिँदै जान थालेका छन् ।

–पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्तिहरू बढिरहेको छन् ।

–पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ ।

–पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रतिवेदनका केही अंश पोस्ट गर्दै ‘आशा गरौँ रोग पहिचानपछि सही उपचार हुनेछ’, भन्ने अपेक्षाकृत आशा प्रकट गरेका छन् ।

त्यसो त नेकपकामा गुटको प्रसङ्ग यस पटक मात्रै उठेको होइन, यसअघि २०७५ साल मङ्सिरमा सुरु भएको स्थायी समिति बैठकमा पनि गुट रहेको स्वीकार्दै अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा गुट नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । तर नेताद्वयले गरेको यो प्रतिबद्धाता व्यवहारमा भने लागू हुन सकेन र गुटहरु झाँगिँदै गएको दुवैले निष्कर्ष निकाले ।

अर्का विश्लेषक डा. खगेन्द्र प्रसाईं पनि रोकाको भनाइसँग सहमत छन् । प्रसाईंका अनुसार अहिलेको पार्टी सञ्चालनको तरिका हेर्दा निजी स्वार्थका लागि खुलेका गुटहरु निमिट्यान्न हुने भन्दा पनि बढ्न सक्छन् । ‘गुटहरु किन निर्माण भइरहेका छन् ? कसका कारण गुट जन्मेका छन् भनेर खोतल्नुपर्छ’, नेपालका राजनीतिक पार्टीहरुमा विचारहीनता मौलाएको भन्दै उनले पार्टी वा सरकारलाई विचारनिष्ठ ढङ्गले नचलाएसम्म यो अवस्था रहिरहने बताए ।

‘पार्टीलाई विचार प्रधान बनाउनुपर्छ । पार्टी विचार प्रधान भएपछि बल्ल लोकतन्त्र स्थापित हुन्छ । तर अहिले लोकतन्त्र नै कँज्याइएको अवस्था छ’, विश्लेषक प्रसाईंले पार्टी विधानअनुसार बैठकहरु बस्न नसक्नु नै लोकतन्त्र कँज्याउनु रहेको एक उदाहरण भएको बताए ।

उता अर्का विश्लेषक श्याम श्रेष्ठ पनि नेपालका पार्टी त्यसमा पनि खासगरी नेकपामा भएको भनिएको गुट निजी स्वार्थका समूहका आधारमा मौलाएको बताउँछन् ।

श्रेष्ठका अनुसार जुनसुकै पार्टीमा पनि विचार समूह हुनसक्ने भन्दै त्यस्ता विचार समूहले पार्टी र देशलाई फाइदा पुग्ने गर्छ ।

 ‘पार्टीमा रहने अलग अलग विचारको द्वन्द्वले पार्टीलाई फाइदा नै हुन्छ । तर नेपालका पार्टीमा त्यस्तो देखिँदैन । अहिले देखिएको गुट निजी स्वार्थ समूहका हुन् । निजी स्वार्थ समूहहरुले पार्टीलाई कमजोर बनाउँदै लैजान्छन् र अन्ततः पार्टी नै डुबाउँछ’ श्रेष्ठको भनाइ छ ।

स्वार्थ समूहहरु बलियो भएपछि अराजकता बढ्दै जाने र कसैले कसैको भनाइ नसुन्ने, पार्टी, देश र जनताभन्दा पनि निजी स्वार्थका काम मात्रै हुने भएकाले यो प्रवृत्तिले अन्त्यमा पार्टी र देश दुवैलाई ध्वस्त बनाउने खतरा छ । यसबारे दलहरुले सोच्न जरुरी रहेको श्रेष्ठको सुझाव छ । 

रोका, श्रेष्ठ र प्रसाईं बाहेक अर्का विश्लेषक पुरन्जन आचार्यको विश्लेषण पनि उस्तै छ । आचार्यका अनुसार नेपालमा सहमतीय, बहुमतीय र विचारको राजनीति छाडेर गुटको राजनीति फापेकाले नेताहरु त्यसैका पछि दौडेका हुन् । ‘विचारको राजनीति गर्ने पार्टीमा विचारका गुट हुन्छन् । ती विचारहरु पार्टी महाधिवेशनमा प्रकट हुन्छन् । तर नेपालका जुनसुकै पार्टीमा नेता र भक्तगणहरुका लागि गुट निर्माण गर्ने गरिएको छ । जसले कलेक्टिभ बार्गेनिङ पावर बढाउँछ,’ आचार्यले रातोपाटीसँग भने, ‘निजी स्वार्थमा चल्नेहरुले पार्टी चुनावमा हारेपछि पनि अंश खोज्ने प्रवृत्ति कायमै छ । यसले अन्ततः विनासको बाटो रोज्छ ।’

काँग्रेसको उदाहरण दिँदै आचार्यले गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईदेखि हालका शेरबहादुर, रामचन्द्र पौडेल तथा नेकपामा केपी ओली, प्रचण्ड या माधवकुमार नेपालले चलाएका गुट पनि समग्र पार्टीको हितमा नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप