केन्द्रीय संस्करण

सन्ना मरिनको सत्तारोहण र युवा नेतृत्वको खोजी

person explore access_timeपुस १, २०७६ chat_bubble_outline0

गत डिसेम्बर १० तारिखका दिन युरोपेली मुलुक फिनल्यान्डको प्रधानमन्त्रीमा चौंतीस वर्षीया सन्ना मरिन आसिन भएपछि उनी एकाएक विश्वभर चर्चित भइन् । छोटो समयको राजनीतिक जीवनबाट महत्त्वपूर्ण सफलता हात पारेकी मरिनले सन् २०१५ मा सांसद पदमा निर्वाचित भएपछि यातायात तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । फिनल्यान्डको राजनीतिक आकाशमा आएको अप्रत्यासित परिवर्तनले मरिनलाई मुलुककै प्रमुख कार्यकारी पदमा पुर्याइदियो । उनको सालीन स्वभाव र कठिन मिहिनेतले निकै कम उमेरमा सफलताको शिखरमा पाइला टेकेको छ । 

संसारका प्रमुख शक्तिशाली देशका कार्यकारी प्रमुखका तुलनामा मरिनको उमेर निकै कम हो । उमेर र कम अनुभवका कारण उनले भावी दिनमा फिनल्यान्डको राजनीतिक गतिलाई कसरी सही दिशामा हाक्लिन् ? त्यो बहस वा प्रतीक्षाको विषय हुन सक्ला । तर उनको युवा जोस र जाँगरले फिनल्यान्डको राजनीतिक वृत्तमा केन्द्रीय भूमिका निर्वाह गर्ने जुन मौका पायो, त्यो संसारका अन्य मुलुकका निम्ति पनि नजिर बन्न सक्ने सम्भावना उत्तिकै बलियो छ । शरीर र सोचले जीर्ण भएर पनि राजनीतिक रसाशक्तहरूले मुलुक र जनताको भविष्यमाथि धोका दिएका उदाहरण प्रशस्तै छन् । खास गरी विकासोन्मुख र कम विकसित राष्ट्रले उमेर र सोचले थाकेका नेतृत्वबाट मुक्ति नपाएका कारण देश विकासले सही गति नलिएका दृष्टान्त यत्रतत्र भेटिन्छन् । 

सन्ना मरिनले फिनल्यान्डको सत्ता सम्हालेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट बाहिरिएसँगै नेपाली युवाजगतमा यसले एक किसिमको हलचल पैदा गरिरहेको छ । खास गरी सामाजिक संजालहरूमा युवा नेतृत्वको खोजीका बारेमा बहस भइरहेका छन् । विश्वका अति पुराना स्वतन्त्र राष्ट्रको सूचीमा परेर पनि नेपालले अक्षम नेतृत्वका कारण गरिबी, अभाव र अशिक्षाजस्ता मानवीय शत्रुहरूसँग एक्काइसौँ शताब्दीका प्रारम्भिक दशकहरूमा पनि निरन्तर सामना गर्नु परिरहेको छ । नेपालको धरातलीय समस्या र यथार्थसँग अहिलेको युवा पुस्ता राम्रैसँग जानकार छ । 

नेपाली राजनीतिको घिनलाग्दो संस्कृतिबाट युवाजगतमा नैराश्यको बादल मडारिनु अस्वाभाविक होइन । कुनै पनि नागरिकको अन्तिम सहारा देश र त्यहाँको सरकार हो । नेपालमा यस किसिमको जिम्मेवारी बोधभएको सरकार विगत र वर्तमानमा भेटिएको छैन । सरकार र राजनीतिक दलहरू देशको शक्ति हातमा लिएपछि गरिब जनताका झुपडीहरूबाट कोसौँकोस टाढा बस्छन् । उनीहरूको कथनी र करणीमा मेल नखानु जनताले अविश्वास गर्ने प्रमुख आधार हो । युवाहरूले देश भ्रष्टाचारको गर्तमा चुर्लुम्म डुब्दा नबोली बस्ने हो भने अक्षम नेतृत्वले सिङ्गो देशलाई बर्बाद पारेर छोड्छन् । र एक दिन मुलुकको सार्वभौमसत्ता कहिल्यै नफर्कने गरी परचक्रीको हातमा पुग्छ । 

सचेत नेपाली युवाहरू देशको भविष्यप्रति चिन्तित छन् । विगत छ वर्षदेखि टोकियोमा बस्दै आएका सल्यानका अनुपम गिरीकै शब्द सापटी लिएर भन्ने हो भने ‘मुलुक भ्रष्टहरूको लुट्ने खजाना’ बनेको वर्षौं भयो । जसरी हुन्छ आफू बन्ने घिन लाग्दो सोच बोकेर मुलुकको नेतृत्वमा पुग्दा जनताको जीवन स्तरले प्रगतिको सिँडी उक्लने प्रश्नै आउँदैन । व्यवस्था परिवर्तन मुलुकको बाहिरी आवरण मात्रै हो । मुलुक त एउटा विधि र पद्धतिको सरल रेखामा निष्कण्टक रूपमा बेगिनु पर्छ । जसमा इन्धनको काम युवाहरूले गर्दछन् । सोच फराकिलो नभई युवाजगत शक्तिमा रूपान्तरण हुँदैन । युवा शक्तिबिना मुलुकले प्रगतिको शिखर चुम्दैन । युवा निराश हुनु नेतृत्वको दोष हो । यो देशका निम्ति शुभ सङ्केत होइन । 

फिनल्यान्डको राजनीतिक वृत्तमा सन्ना मरिनको सत्तारोहणको बहसले नेपाली युवाहरूमा निराशालाई आशामा बदल्ने देखिन्छ । राजनीतिक जीनवमा उमेर हदको बहस यो विषयमा सँगै जोडिन आउँछ । उमेर र स्वास्थ्यले ओरालो लागेकाहरूले विश्रामको बाटो लिन स्पष्ट नीति र बाध्यकारी कानुनको आवश्यकता देखिन्छ । राजनीति बुढापाकाहरूको क्रीडास्थल वा उमेर बिताउने विषय होइन । यो त मुलुक र आम नागरिकको वर्तमान र भविष्यको गहन प्रश्न हो । सिङ्गो देशको भविष्य केही रहरको राजनीति गर्नेहरूका हातमा छोड्नु भावी सन्ततीहरूका निम्ति पनि गम्भीर धोका हो । यसको फैसला स्वयं युवापुस्ताहरूले मात्र गर्न सक्छन् । युवापुस्ताको सही फैसलाले सिङ्गो मुलुकले अभूतपूर्व फाइदा लिनसक्छ । हाम्रोजस्तो तेस्रो विश्व भनिने मुलुकका निम्ति युवापुस्ता शीघ्रातिशीघ्र एकजुट हुनुको विकल्प छैन । 

कतिपय मानिसहरूले यो विषयलाई गलत उदाहरणमार्फत आलोचना गर्न पनि सक्छन् । मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिर चौरानब्बे वर्षमा पुनः प्रधानमन्त्री बने । अमेरिकी राष्ट्रपतिको उमेर चौरहत्तर वर्षपुग्यो । चीन र भारतका प्रधानमन्त्रीहरू पनि छ दशक पार गरेका छन् । यस्ता तर्क गर्नेहरूसँग मेरो विमति आज मात्र होइन सधैँ रहन्छ । यस्ता कुराहरू तर्कका लागि नभएर काम नभएका बेला गरिने फोस्रा गफ मात्र हुन भन्नेमेरो बुझाइ छ । उमेरले डाँडा काटेकाहरू आफ्नै शरीरका सेवक बन्न योग्य हुन्छन । देश हाँक्ने काम दाइँमा गोरू घुमाएजस्तो आँखा चिम्लेर घुमाए पनि हुने विषय होइन । यो त समग्र देशको मुहार बदल्ने सोच, तागत र प्रतिफलको एकीकृत रूप हो । नेपालका प्रत्येक युवाले देशको आर्थिक समृद्धि र कायाकल्पको स्पष्ट आभाष दिनसक्ने युवा नेतृत्व आफ्नै भीडबाट खोज्नुपर्छ । ताकी वर्तमान र भविष्य दुवै सुरक्षित हुन सकोस् ।

राजनीतिलाई व्यक्तिगत वा पारिवारिक फाइदाको सङ्कीर्ण घेरामा मात्र बुझ्ने केही कुपमण्डुकहरूले मेरो यो बहसलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको घुमाउरो आलोचनाका रूपमा बुझ्न सक्छन् । म तिनीहरूलाई के भन्न चाहन्छु भने यो बहस केपी ओली वा अरू कसैप्रतिको कटाक्ष नभएर तिमीहरूकै अन्धताको भ्रमलाई चिर्ने र नेपाली राजनीतिक आकाशको अन्धकारलाई नष्ट पार्ने देदीप्यमान प्रकाशको खोजी हो । दियालोको भन्दा टुकीको उज्यालो निकै भरपर्दो हुन्छ । टुकीको भन्दा बिजुलीबत्ति कैयौँ गुना भरपर्दो हुन्छ । यो बहस दियालोको उज्यालोमा बसेको मुलुकलाई बिजुलीबत्तिको चम्किलो प्रकाशसम्म पुर्याउने कोसिस हो । वर्तमानको राजनीतिक फाइदाका जीर्ण र सङ्कीर्ण घेरामा घुमिरहेका राजनीतिक दल आबद्ध युवाहरूका निम्ति यो गहन सोच र सुवर्ण अवसर पनि हो । तिनीहरूकै सुन्दर भविष्य र भावी पुस्ताको आगमनको स्वागतार्थ पूर्वतयारी पनि हो । 

मलाई के लाग्छ भने वर्तमान नेतृत्वको जाँगर र सोचभन्दा वर्तमान युवापुस्ताको जाँगर, साहस र सोचको धरातल निकै फुर्तिलो, हिम्मतिलो र फराकिलो छ । प्राविधिक ज्ञान र गहन चिन्तन आजका युवाहरूका निम्ति सामान्य विषय बन्दै गएको छ । अनुभव पुरानो पुस्तासँग धेरै होला तर आधुनिक ज्ञान युवा जमातसँग भरपुर छ । छरिएर कमजोर बनेको युवा ज्ञान र सकारात्मक सोचलाई एकीकृत गरेर बलियो शक्तिमा रूपान्तरण गर्न कुशल नेतृत्वको खोजी पनि युवाकै भीडबाट गरिनुपर्छ । युवाहरूको प्राविधिक ज्ञान र सकारात्मक सोचको एकीकृत तागतबिना मुलुकले समृद्धिको उडान भर्नु सिसिफसको कथाजस्तै निरर्थक हुन जान्छ । 

सक्षम युवा नेतृत्व मुलुकको वर्तमान आवश्यकता र खोजीको विषय हो । यसको विधि लोकतान्त्रिक पद्धति अनुरूप हुनुपर्छ । यसलाई बहसको विषय बनाइनु हुँदैन । मुलुकले ताजा र युवा नेतृत्वबाट अनन्त सम्भावनाका द्वारहरू पहिल्याउन सक्छ । परनिर्भरता र भ्रष्टाचारको चरम दलदलमा भासिएको मुलुकलाई जतिसक्दो बाहिर निकाल्न सकिन्छ त्यति नै वर्तमान र भावी सन्ततिको भविष्य सुरक्षित हुन्छ । नेता र कर्मचारीहरूले आफूखुसी लिने सुविधाहरू तत्काल कटौती नगरे देशको अर्थतन्त्र थप धराशयी बन्दै जाने सुनिश्चित छ । 

फिनल्यान्डका आम मतदाताहरू र सांसदहरूले मुलुकको आवश्यकता अनुरूप जुन निर्णय गरे त्यसको प्रतिफल उनीहरूले नै लिन पाउँछन् । मदन भण्डारीको सक्षम नेतृत्वको सम्झना आज पनि हामी गरिरहन्छौँ । हुनत उनी कुनै पदमा बसेर काम गरेका व्यक्ति होइनन् । पद बाहिर प्रतिष्ठा कमाएकाहरू पदासीन हुँदा आम जनताको नजरबाट गिरेका उदाहरणहरू देशभित्र थुप्रै छन् । भण्डारीलाई पनि हामी दुवै कोणबाट विवेचना र विश्लेषण गर्न सक्छौँ । व्यक्तिको देवत्वकरण मेरो रुचिको विषय होइन । हुनसक्छ आम नेपालीहरूको स्व विवेकले खोजी गर्ने हो भने निकै कुशल र सक्षम युवा नेतृत्व मुलुकले भेट्टाउन धेरै समय लाग्दैन ।

हिजो र आजका नेतृत्वकर्ताहरूले व्यवस्था परिवर्तनका निम्ति अभूतपूर्व योगदान गरेको सत्य हो । अर्को सत्य के पनि हो भने व्यवस्था परिवर्तनको नाममा बेथितिको माकुरीजालमा देशलाई फसाएको पनि तिनैले हो । यसो हुनुमा तिनीहरूका हृदयमा लुकेर बसेको व्यक्तिगत र पारिवारिक स्वार्थ प्रमुख देखिन्छ । प्रथम दक्षिण अफ्रिकी अश्वेत राष्ट्रपति नेल्सन मन्डेलालाई त्यहाँका आम नागरिकले पुनः राष्ट्रपति बन्न आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । नेपालमा पटक पटक मन्त्री र प्रधानमन्त्री बनेकाहरूलाई मसिनो गरी विश्लेषण गर्ने हो भने उनीहरूको पदीय लाभ या त परिवारका सदस्यहरू या त आफन्त र वरिपरि घुमेर चाकडी गर्नेहरूले मनग्गे उठाएका छन् । जुन लाभ दूरदराजका सर्वसाधारणले पाउनुपर्ने थियो । यस्तो सङ्कीर्ण वृत्तमा घुमिरहेको राजनीतिक चक्र नतोडे मुलुकले थप क्षतिका अनगिन्ति शृङ्खलाहरू बेहोर्दै जानुपर्ने हुन्छ । 

विकेन्द्रीकरणको स्तरीय रूप मानिने सङ्घीय प्रणालीअनुरूप मुलुक चलिरहँदा केन्द्रका विशेषाधिकारहरू गाउँघरसम्म पुगेका छन् । ‘माथिका अधिकार तल’ ग्रामीण समाजको उत्थानका निम्ति युगीन आवश्यकता र माग हो भन्ने कुरा निर्विवाद छ । तथापि यसका नाममा मौलाएको बेथिति र भ्रष्टाचार यति विकराल बन्दैछ कि यसलाई अविलम्ब नरोक्ने हो भने मुलुकले या त वैदेशिक ऋणको थप बोझिलो भारी बोक्नुपर्ने हुन्छ या त देशको भविष्य अन्धकारको भुँमरीमा छोडिदिनुपर्ने हुन्छ । देश हामी सबै चढेको पानी जहाज जस्तै हो । जहाज डुब्यो भने हामी कोही पनि रहने छैनौँ । तसर्थ फिनल्यान्डका नागरिकले जस्तै युवा नेतृत्वको खोजीमा सिङ्गो मुलुकलाई जुरुक्कै उठाउन हामीले पनि ढिला गर्नु हुँदैन । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.