गणतन्त्रको यात्रा
वरिष्ठ राजनीतिज्ञ नरहरि आचार्यद्वारा लिखित गणतन्त्रको यात्रा दैनिकीबाट बनेको पुस्तक हो । ६३६ पृष्ठ भएको यस पुस्तकभित्र नेपालमा गणतन्त्र भित्र्याउनु अघिको त्यो कठिन समयको यात्रा लेखिएको छ । त्यसमा लेखकले बन्दी जीवनमा भोग्नुपरेका कठिनाइ, विताएको दिनचर्या, परिवारसँग टाढिदाको पीडा, आफन्तजनसँग भेटको अभाव र देशको विग्रँदो राजनीतिक अवस्था जस्ता कुराहरु समावेश गरिएका छन् । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाही घोषणाकै दिनदेखि १५५ दिन र २०६२÷६३ को जनआन्दोलनमा ९९ दिन गरी २५४ दिन बन्दी बनाइएका नरहरि आचार्यलाई यस पुस्तक पढेर निडर, साहसी, कर्मठ र इमानदार राजनीतिक योद्धाको उपनाम दिन सकिन्छ ।
यस पुस्तकका प्रमुख पात्रहरुमा शारदा शर्मा लेखककी श्रीमती, अनामिका आचाय (ऋचु) ठूली छोरी, अपराजिता आचार्य (दिकु) सानी छोरी र भाइका रूपमा रामचन्द्र घिमिरेलाई लिन सकिन्छ । यसका साथै अन्य थुप्रै व्यक्तिहरुको प्रसङ्गातः नाम हेर्दा अरू पनि महत्त्वपूर्ण व्यक्ति किताबभरि हुनुहुन्छ । यस पुस्तकको भूमिका कृष्ण खनालले लेख्नुभएको छ । खनालको भूमिका बडो आकर्षक र रोचक शैलीले प्रस्तुत गरिएको छ, पढ्दा रोमाञ्चित बनाउँछ ।
पुस्तकलाई ३ भागमा विभाजन गरिएको छ, बन्दी वृत्तान्त १, बन्दी वृत्तान्त २ र चिठीपत्र । पहिलो भागमा २०६१ माघ १९ देखि २०६२ असार २१ गतेसम्मको बन्दी जीवनको दिनचर्या प्रस्तुत गरिएको छ । त्यसैगरी बन्दी वृत्तान्त भाग २ मा २०६२ माघ ४ गतेदेखि २०६२ वैशाख १२ गतेसम्मको दैनिकी समावेश गरिएको छ । पढ्दा एउटा कुरा अनौठो लाग्छ, आचार्यलाई अन्तिमसम्म एक्लै राखेर थुन्नुको कारण के थियो होला ? यो किताब पढ्दा त्यसको उत्तर भेटिएन । अन्तिम चिठीपत्र पाटोमा विभिन्न पेसा, समुदाय, संस्थाहरुसँग आबद्ध र आफन्त एवं प्रबुद्ध वर्गहरुलाई लेखिएको चिठी राखिएको छ । चिठी राजनीतिक र घरायसी कुरा भए पनि पढ्दा दुःखी र नरमाइलो लाग्ने गर्छ । बौद्धिक र सरल मानिसलाई किन यस्तो गरेको होला भन्ने लाग्यो मलाई । राजनीति त्यति नबुझे पनि राजनीतिक चिठी पढ्दा रमाइलो हुँदोरहेछ ।
हाम्रो देशमा गणतन्त्र आएको पनि ११ वर्ष भइसक्यो । गणतन्त्र बुझाउने यो पुस्तक लेखकको बन्दी जीवनको वृत्तान्त हो । अब यस्तो बन्दी जीवन कसैले बस्नु नपर्ला । तर बन्दी जीवनमा धेरै कठिनाइहरु र असहजताहरु भोग्नु पर्दोरहेछ भन्ने शिक्षा यो किताबले दिन्छ । बन्दी जीवनमा त्यहाँको समय तालिका अनुसार चल्नुपर्छ । जेल जीवनमा खानपिन मुख्य विषय बन्ने रहेछ । त्यसैले लेखक लगायत बन्दी हुनुभएका व्यक्तिहरुले उठ्ने, सुत्ने समय तालिका बनाउनु भएको छ । लेखक राति चाँडो ८ः३० देखि ९ः३० सम्ममा सुत्ने र बिहान ३ः३० देखि ४ बजेसम्ममा उठ्ने गर्नुहुँदो रहेछ । त्यसमा बिहान उठेर आफ्नो नित्यकर्म, व्यायाम, ध्यान सक्ने कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ ।
लेखक साकाहारी भए पनि साकाहारी र मांसहारी दुवैथरी मिलेर बसेको यो पुस्तक पढ्दा पाइन्छ । त्यहाँ मुसुरो र रहरको दाल मिसाएर पकाइने रहेछ, एउटा तरकारी, अचार, मासु खानेलाई हप्ताको ३ पटक मासु र मासु नखानेलाई दूध दिने व्यवस्था रहेछ । सुरुका दिनमा जाडो मौसम, ककनीको ठण्डीमा नुहाउन कठिन भएको देखिन्छ । ककनीबाट दुवाकोट सारेपछि सशस्त्र प्रहरीले प्रयोग गर्ने तातोपानी मागेर लेखकले नुहाउने व्यवस्था मिलाउनुभएको छ । साथै समय समयमा लेखक लगायत सबैको स्वास्थ्य परीक्षण पनि गरिएको छ ।
बन्दी जीवनमा लेखकको अधिकांश समय विभिन्न पुस्तक पढ्ने र लेख्ने गरेर वितेको छ । नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यसमितिलाई राजनीतिक प्रस्ताव लेखकले जेलबाट पठाउनु हुन्छ । त्यो प्रस्ताव रामचन्द्र घिमिरेले काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र महामन्त्री सुशील कोइरालालाई पुर्याउनु हुन्छ । त्यही प्रस्ताव कालान्तरमा नेपाली काँग्रेसको गणतन्त्रको प्रस्ताव बन्छ ।
हामी पाठकलाई दुःखको अनुभव कहाँ हुन्छ भने त्यो बन्दी जीवनमा एकातिर परिवारसँग विछोडिएर बस्नुपरेको पीडा छ । अर्कोतिर त्यहाँको समय तालिकासँग चल्नुपर्ने बाध्यता छ । त्यसमाथि थप देशको राजनीतिक वातावरणले रेडियो, टीभी र पत्रपत्रिका पढ्न, सुन्न र हेर्न नदिइने अवस्थाले सूचना शून्य भएर रहनुपरेको छ । आफूले नियन्त्रणमा लिइसकेपछि थुनिएका मानिसहरुलाई पत्रपत्रिका पढ्न किन नदिइने रहेछ ? थुनिएको मानिसले के नै गर्न सक्छन् र ? किन यस्तो कठोरता विम्बित गरिन्छ ? यो मेरो मनमा उठेको प्रश्न अनुत्तरित छ । अर्कोतर्फ माओवादीबाट सुतिरहेको अवस्थामा आक्रमण हुने हो कि भन्ने डर पनि छ ।
यस पुस्तकमा अधिकांश साथी, भाइले भेट्न नपाएको पढिन्छ । भेट्न पाउनेमध्ये भाइ रामचन्द्र घिमिरेले भेटेर आएको जताततै उल्लेख छ । भेट्न जाँदा आवश्यक कपडाहरु, खानेकुराहरु, कपी, कलम, पढ्ने किताबहरु, शारुको चिठी, अपराजिता, अनामिकाको इमेल लिएर जानु हुन्छ । यी सामग्री पाउँदा लेखकलाई जेलभित्रै भए पनि आफू खुसी भएको लेख्नुभएको छ । रामचन्द्र घिमिरेका बारेमा लेखक भन्नु हुन्छ एक दशक भन्दा बढी समयदेखि रामचन्द्र मसँगै रहेको छ । बिहान बेलुकी जुनसुकै समयमा पनि आफूलाई सहयोग गर्दै आएको छ । अहिलेको परिस्थिति र त्यसले उत्पन्न गरेको कठिनाइले रामचन्द्र घिमिरेलाई समेत व्यक्तिगत हिसाबले पनि राजनीतिक चुनौती थपेको छ । पढ्दा अधिकांश कुरा रामचन्द्र घिमिरेसँग भएको पाइन्छ । सायद आफ्नो विश्वासिलो मान्छे भएको हुँदा लेखकको जिम्मेवार र भरोसा पूर्ण पात्रका रूपमा यहाँ रामचन्द्र घिमिरेलाई देख्न सकिन्छ ।
श्रीमती शारदा शर्माले पठाएको चिठीमा– तिमी आफ्नो काम प्रेमले गर्नु, हामी सबै तिम्रा पक्षमा छौँ र तिमीलाई अत्यन्तै माया गर्छौं भनेर लेखिएको वाक्यले लेखकलाई भरोसाका साथै व्यावहारिक समस्यादेखि ढुक्क बनाएको कुरा पढ्न पाइन्छ । हामी पाठकलाई भने यो पढ्दा नरमाइलो र आँशु आउने परिस्थिति बन्छ । किताबमा डुब्दा दुःख लाग्छ ।
लेखकलाई आफन्त, परिवार, साथीहरु समय समयमा भेट्न आउँदा खुसी लागेको लेख्नुभएको छ । यस किताबलाई गहिरिएर पढ्दा बेलाबेलामा थाहै नपाई आँशु झर्छ, रोइन्छ । तर लेखकलाई भने शारदा शर्माले पठाएको खानेकुराहरु र अन्य सामानहरुले त्यो दुःखद् क्षणमा पनि रमाइलो अनुभूति गराउँछ भन्नु हुन्छ ।
लेखकले छोरीहरुको पनि मूल्याङ्कन गर्नुभएको छ । ठूली छोरी अनामिका बढी रमाइली, अल्लि सोझी भन्नु भएको छ । कान्छी छोरी अपराजिता बढी गम्भीर र निकै अन्तरमुखी स्वभावको भएको भन्नु हुन्छ । फेरि दुवै फरक स्वभावका भए पनि उनीहरु एक आपसमा साथी जस्ता छन् र उनीहरु बीचको सल्लाहले लेखकलाई सन्तोष प्राप्त हुने भन्नु हुन्छ । छोरीहरुले इमेलमा आफ्नो चिन्ता नलिन भनेको कुराले लेखकको मन आनन्दित हुन्छ । छोरीहरु परिपक्व हुँदै गएको र चुनौतीपूर्ण परिस्थितिलाई सहज तरिकाले अपनाएको अनुभव गर्दा ठूलो सन्तोष मिल्छ लेखकलाई ।
समग्रमा लेखकको जेल जीवनको अवस्था राजनीतिक दृष्टिकोणले चुनौतीपूर्ण रहेको देखिन्छ भने अर्कोतर्फ व्यावहारिक रूपले सहज भएको पुष्टि पनि हुन्छ । आज हामी लोकतान्त्रिक गणतन्त्र अभ्यास गर्दैछौँ । यसका लागि कति धेरैले दुःख, कष्ट बेहोर्नु पर्यो होला । यो त्यसै आएको रहेनछ भन्ने यो किताब पढ्दा थाहा हुन्छ । मैले राजनीतिक विषय त्यति धेरै बुझ्न नसकेको हँुदा मेरो लेखमा घर परिवारका कुरा धेरै छन् । घर परिवारको कुराभन्दा धेरै राजनीतिक कुरा किताबमा छ ।
अन्त्यमा यस पुस्तक पढ्न सबैलाई आग्रह गर्छु । यो किताब रोचक शैलीमा प्रस्तुत गरिएको छ । भाषा सरल र मीठो छ । लेखकको जीवनको यथार्थको ऐनाका रूपमा पनि यो किताब झल्किन्छ । जसले गर्दा पाठकको ध्यान यो पुस्तक तर्फ केन्द्रित भइरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय