बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजको सम्पादकीय : अरुको देखेर नचेतेकाहरु तस्करको फन्दामा, सडक दुर्घटनाको त्रासदी

मङ्गलबार, ०१ पुस २०७६, ०७ : ३५
मङ्गलबार, ०१ पुस २०७६

आज प्रकाशित मुख्य दैनिक पत्रिकाहरुले मनग्य आर्जन गर्ने लालसामा लागेका नेपालीहरु मानव तस्करको फन्दामा परेको, कूटनीतिक नियुक्तीमा देखिएको समस्या र हालै भएको सडक दुर्घटनालगायतका विषयमा सम्पादकीय लेखेका छन् । 

कान्तिपुर दैनिकले ‘जसरी पनि अमेरिका !’ शीर्षकमा लेखेको सम्पादकीयका अनुसार अमेरिका–सपनाको अवैध बाटोमा हिँडेर सर्वस्व गुमाउने नेपालीको सूची लामै भइसक्यो । तैपनि यसमा नामहरु थपिन रोकिएको छैन । अरुको देखेर नचेतेकाहरु आफैं मानव तस्करको फन्दामा परिरहेका छन् । घरको आर्थिक संकट टार्न र केही कमाउन होइन, मनग्य आर्जन गर्ने लालसामा उनीहरु जोखिम बाटो हिँडिरहेका छन् ।

यसको मुख्य सवाल मानव तस्करीमा संलग्नहरुको सोझो सम्बन्ध राजनीतिक र शक्तिकेन्द्रहरुसित भएकाले उनीहरु कारबाहीको दायरामा सजिलै आउँदैनन् । तसर्थ, अरु धेरै विषयमा जस्तै यस विषयमा पनि सुधारको पहल राजनीतिक नेतृत्वले नै गर्नुपर्छ ।

अन्नपूर्ण पोस्टले पार्टीकै दलीय कार्यकर्ता र नाता–गोता खोज्ने खराब शासकीय मतीले तीब्र रुप पाएसँगै राजदूत पदको मर्यादा र गरिमा ह्वात्तै घटेको उल्लेख गर्दै ‘विजोगको कूटनीति’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा राजदूतको सफलता योग्यताले निर्धारण गर्ने भएकाले नियुक्त गर्दा योग्यता र क्षमतालाई ध्यान दिनुपर्नेमा जोड दिइएको छ । 

उता नयाँ पत्रिकाले पनि आइतबार भएको सडक दुर्घटनाको विषयमै सम्पादकीय लेखेको छ । ‘सडक दुर्घटनाको त्रासदी’ शीर्षकमा देखिएको सम्पादकीयमा कडा टिप्पणी गर्दै भनिएको छ– हाम्रो सार्वजनिक यातायातको क्षेत्र यात्रुलाई सेवा दिनभन्दा तिनको हुर्मत लिन र हत्या गर्न सञ्चालनमा आएको जस्तो देखिन्छ । सवारी अवस्था ठीक नहुँदा पनि चलाईरहने सवारीचालक, सवारीको अवस्था ठीक नहुँदा पनि चलाउन लगाउने सवारीधनी, अयोग्य सवारीचालकलाई नियुक्त गर्ने कम्पनी या सवारीधनीसहित सबै यस मामिलामा उत्तिकै  उत्तरदायी छन् । 

त्यस्तै नागरिक दैनिकले आइतबार पुनः बस दुर्घटनामा १५ जनाले ज्यान गुमाएको विषयलाई लिएर ‘असावधानीको अफसोस’ शीर्षकमा  सम्पादकीय लेखेको छ । सम्पादकीयमा यो दुर्घनाको विषयमा थप अनुसन्धान गर्नुपर्ने र स्थानीय तहले पाएको छानविनको अधिकार सदुपयोग गरेर समस्याको चुरो पत्ता लगाउनुपर्नेमा जोड दिइएको छ । त्यसैगरी गोरखापत्रले पनि सोही दुर्घटनाको विषयलाई केन्द्रित हुँदै ‘दुर्घटनाको समाधान’ शीर्षकमा सम्पादकीय लेखेको छ । दुर्घटनाका कारण परिणामले सडक यातायातमा देखिएको घट्दो जनविश्वास पुनःस्थापना गर्न तत्कालै प्रभावकारी कदम चाल्न सम्पादकीयमा सुझाव दिइएको छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षामा कोषमा सूचीकृत हुन दबाब दिएपछि नेपाल वित्तीय संस्था कर्मचारी संघ यसको विरोधमा उत्रिएको उल्लेख गर्दै आर्थिक अभियानले ‘सामाजिक सुरक्षाको असुरक्षा’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– प्रत्येक कर्मचारीबाट १ प्रतिशतका दरले कट्टी गरिँदै आएको सामाजिक सुरक्षा करको अर्बौँ रुपैयाँको हिसाबकिताब पनि सरकारले देखाएको छैन । यस्तोमा आफूले खाइपाई जम्मा गरेको रकमको सुरक्षा हुन्छ भन्ने विश्वास योगदानकर्ता कर्मचारीमा देखिएको छैन । 

कारोबारले ‘कमजोर लगानी र समृद्धिको सपना’ शीर्षकमा सम्पादकीय देख्दै नेपालीहरुमा खर्च गर्ने बानी र आम्दानी गर्ने क्षमताको विकास भएकाले लगानीकर्तालाई आकर्षित गर्न सकिने सुझाव दिएको छ । त्यस्तै सम्पादकीयमा भनिएकोछ, ‘विदेशी लगानी आए चन्दा दिन्छ भन्ने राजनीतिकर्मीको सोच, साझेदार बन्न आउनेलाई ‘मुर्गा’को रुपमा लिने निजी क्षेत्रको सोच र विदेशीले वैधानिक रुपमा नाफा  कमाए पनि ‘देशै लुटेर लग्यो’ भन्ने सर्वसाधारणको सोचमा पनि परिवर्तन आउन जरुरी छ ।’ 

काठमाडौँ महानगरपालिकाले सुरुवात गर्नेरको परम्परागत बाजागाजाका गुरुसम्मानको प्रशंगलाई प्रष्ट्याउँदै नेपाल समाचारपत्रले अमूर्त संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । ‘अमूर्त संस्कृतिको जगेर्ना’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ– अमूर्त संस्कृतिको महत्वालाई बुझेर त्यसको सिर्जनात्मक निरन्तरताको सुनिश्चितता गर्नैपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप