बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि....

सोमबार, ३० मङ्सिर २०७६, २२ : २२
सोमबार, ३० मङ्सिर २०७६

सुरुङा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई रु चारलाख जरिवाना तिरेका छन् । यो झापाको घटना हो । 

मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो ।
 
वैवाहिक कार्यक्रमअनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो ।
 
बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुलालाई रु चार लाख जरिवाना लिएका छन् । जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीर भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ । 

बेहुलाले आफू डाक्टर भएको भन्दै बेलुही पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग रु चार लाख  रकम लिएको बुद्धशान्ति  गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताए ।

उनले भने, ‘समाज बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा  गाउँपालिकाको कुनै हात छैन ।’ विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ ।
  
यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो । विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई रु ३५ लाख क्षतिपूर्ति समाजले दिलाएको थियो । जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप