शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानसेनापति महिला फुटबल: सिक्किमविरुद्ध सावित्राको ९ गोल

सोमबार, ३० मङ्सिर २०७६, १९ : १९
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) की  सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन् । राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सावित्रा एक्लैले नौ गोल गरेकी हुन् । 

लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपिएफले सिक्किमलाई १८–० गोलले हरायो । एपिएफका लागि अनु लामाले चार, अनिता बस्नेतले तीन तथा रेनुका नगरकोटीले दुई गोल गरिन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप आठ गोल गरेको थियो ।  

प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं–२ लाई ३–० गोलले हरायो । पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले एक–एक गोल गरेका थिए । मङ्गलबार प्रदेश नं–५ र भुटानको टोलीबीच खेल हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं–५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली  सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए ।  प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप