शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ संसदको हिउँदे अधिवेशनको तयारी : पहिलो वा दोस्रो बैठकपछि नयाँ सभामुख

सोमबार, ३० मङ्सिर २०७६, १७ : ००
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ । संघीय संसदका दुबै सदन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । सभामा माइक व्यवस्थापन, साउण्ड सिस्टम, लाइटिङ सिस्टम, पानी, बत्ति, प्रत्यक्ष प्रशारण लगायतका सम्पूर्ण तयारी पूरा गरिएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यो वर्षको हिउँदे अधिवेशन आह्वान भइसकेको छ । आउँदो पुस ४ गते दिउँसो ४ बजे संघीय सदनको दुबै सदनको बैठक डाकिएको छ । यसका लागि संसद सचिवालयले गर्ने प्राविधिक सम्पूर्ण तयारी गरिसकेको संघीय संसदका सूचना अधिकारी दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए । 

अधिवेशन आह्वान गर्नुपूर्वका काम र पछि गर्नुपर्ने कामको तयारी पूरा भएको छ भने संघीय संसद भवनमा गर्नुपर्ने प्राविधिक तयारी पनि सकिएको उनले बताए । 

उनले भने, उनले भने, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यलाई बैठकबारे जानकारी समेत गराइएको छ । लगभग सबै काम पूरा भइसकेको छ हामी अधिवेशनलाई पर्खेर बसेका छौँ ।’

यसरी सुरु हुन्छ पहिलो बैठक
संघीय संसदका दुबै सदनको पहिलो पूर्व कार्यव्यवस्था समितिको बैठक बस्छ । 

राष्ट्रिय सभाको कार्यव्यवस्था समितिको बैठक अघिल्लो दिन बस्ने तय भइसकेको छ । पुस ३ गते ११ बजे राष्ट्रिय सभाका अध्यक्षको अनुरोधमा कार्यव्यवस्था शाखाले सूचना जारी गरिसकेको छ । 

यता प्रतिनिधि सभामा सभामुख नभएका कारण कार्यव्यवस्था बैठक तय भइसकेको छैन । 

बैठकमा सुरुमा राष्ट्रपतिबाट हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची रहन्छ । यस्तै मन्त्रिपरिषदमा मन्त्रीहरु हेरफेर भएकोले सो बारेको जानकारी गराउने अर्र्को कार्यसूची रहन्छ । 
यस्तै पहिलो बैठकमा संसदीय दलका नेताहरुले स्वागत मन्तव्य राख्नेछन् । 

पहिलो बैठकपछि दोस्रो बैठकहरुमा संसदमा विचाराधीन भएका विधेयकहरु र समितिमा छलफल गरेर टुग्याइएको अवस्थाका विधेयकहरुलाई प्रक्रियामा लगिन्छ । चौथो अधिवेशनमा पारित भइ प्रमाणित हुन बाँकी ५ विधेयक रहेका छन् । 

यसका साथै सभामा सांसदहरुले विभिन्न प्रश्नहरु राख्ने व्यवस्था छ । संसद सचिवालयले त्यसको व्यवस्थापन गर्ने, सांसदहरुले जरुरी महत्त्वको प्रस्ताव, संकल्प प्रस्ताप पनि दर्ता गर्न सक्नेछन् । त्यस्ता प्रस्तावहरु दर्ता भएमा त्यसलाई प्रक्रियामा लाने काम हुन्छ । 

यस्तै नियमित रुपमा चल्ने शून्य समय हुन्छ भने सांसदहरुले मागेमा विशेष समयको पनि व्यवस्था हुन्छ । 

पहिलो वा दोस्रो बैठकपछि सभामुखको निर्वाचन 
प्रतिनिधिसभाको पहिलो बैठक वा दोस्रो बैठकपछि सभामुख चयनका लागि निर्वाचन हुनेछ । पहिलो बैठकबाट सभामुख पदको निर्वाचन मिति निर्धारण हुनेछ । पहिलो बैठकको कति दिनपछि सभामुखको निर्वाचन गर्ने भन्नेबारेमा राजनीतिक सहमतिबाट समय निर्धारण गरिने छ । 

उपसभामुख डा. शिवामाया तुम्बाहाम्फेले सभामुखको निर्वाचन मिति हिउँदे अधिवेशनको पहिलो बैठक सुरु हुनुभन्दा अगाडि बस्ने कार्यव्यवस्था समितिको बैठकले तय गर्ने बताएकी छिन् ।  

सभामुखको निर्वाचनका लागि दलहरुबाट उम्मेद्ववारी दर्ता गर्ने, उम्मेद्ववारी फिर्ता लिने समय राखेर सूचना सार्वजनिक हुनेछ र तोकिएको दिन निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ र विजयीलाई सभामुखको घोषणा हुनेछ । 
अघिल्लो अधिवेशनमा दुबै सदनबाट पारित भएर प्रमाणीकरण हुन बाँकी विधेयकहरु नयाँ सभामुख चयनसँगै प्रमाणित हुनेछन् । 

सभामुखबारे अनेक अड्कलबाजी, उपसभामुखको पनि दावी
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ । यसअघि निर्वतमान सभामुख र उपसभामुख एउटै दल नेकपाबाट रहेपछि अब हुने निर्वाचनपछि भने फरक फरक दलबाट हुनुपर्नेछ ।  

सत्तापक्ष दल नेकपाले सभामुख पद लिने हो भने उपसभामुख पद छोड्नुपर्ने हुन्छ । त्यसका लागि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । सभामुखका लागि नेकपाभित्र विभिन्न नेताहरुको नाममा अड्कलबाजी सुरु भएको छ । एकातिर संविधानसभाका सभामुख सुवाचन्द्र नेम्वाङको चर्चा छ भने अर्कोतिर यसअघि पूर्वमाओवादीको भागमा सभामुख पद रहेको हुँदा पूर्वमाओवादी नेताहरु अग्नि सापकोटा, देव गुरुङ र पम्पा भुसालको नाम पनि चर्चामा छ । सभामुखबारेमा पार्टीभित्र औपचारिक ढंगले छलफल भएको कुरा भने बाहिर आएको छैन । 

दलभित्रबाट सभामुखका लागि विभिन्न नेताहरुको नाम चर्चामा आइरहेका बेला उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि सभामुखका लागि दावी गरेकी छिन् । 

यदी उनले सभामुख पद नपाउने हो भने राजीनामा गर्छिन् कि गर्दिनन् भन्ने कुराहरु आइरहेको सन्दर्भमा गत बिहीबार भएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टीको तर्फबाट जुनसुकै पदमा पुगेकाहरुले पार्टीको निर्णय मान्नुपर्ने बताएका थिए । 

तर उपसभामुख तुम्बाहाम्फेले भने यसबारे पार्टीसँग कुनै छलफल नभएको बताउँदै छलफलको प्रतिक्षामा रहेको बताएकी छिन् । आफूलाई दलको नेता, उपनेता, सरकारको प्रतिनिधि कसैले पनि छलफलका लागि नभनेको उनको भनाइ छ । 

उनले अहिलेको उपसभामुख पनि क्षमता भएको व्यक्ति रहेको बताउँदै सभामुखमा दावी रहेको उल्लेख गरेकी छिन् ।

 आवश्यकता र क्षमताका आधारमा आफ्नो दावी रहेको तुम्बाहाङ्फेको तर्क छ । उनले सभामुखले गरेको गल्तिमा आफू किन सति जानुपर्ने भन्दै नेतृत्वप्रति प्रश्न समेत तेर्साएकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप