लेखक नभएको भए कुण्ठा पालेर बस्थेँ होला !
युवा पुस्तामा निकै चर्चित मानिन्छन् सुविन भट्टराई । सुविनका पाँच कृति कथाकी पात्र, समर लभ, साया, मनसुन र प्रिय सुफी प्रकाशित छन् । प्रेम कथालाई मिठो भाषाशैलीमा लेख्न माहिर सुविनसँग उनको लेखनबारे रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको अंश :
हुन त लेखकहरु लेखन मै व्यस्त हुन्छन्, तै पनि सोधिहालेँ, केमा व्यस्त हुनुहुन्छ आजकल ?
नयाँ किताबको तयारीमा छु । के आउँछ, कस्तो आउँछ भनेर चाहीँ नसोधौं । भर्खर बन्दै छ । पुनर्लेखनको काम हुँदै छ । पछि त्यसको स्वरुप परिवर्तन हुन पनि सक्छ । पाठकलाई ठग्यो भन्ने लाग्ला । सामाजिक विषयबस्तुमाथि युवा पुस्तालाई टार्गेट गरेर नयाँ किताब लेखिरहेको छु ।
तपाईंको किताबले युवापुस्तालाई मात्रै टार्गेट गर्दै आइरहेको छ । नयाँ पुस्तकमा पनि युवा पुस्तालाई नै टार्गेट गरेको छु भन्नु भयो, पाका पुस्ताका लागि तपाईंले किताब नलेख्ने नै हो ?
पठनको लागि युवाहरुलाई नै धेरै विश्वास गरिन्छ । युवाहरुमा त्यो खालको इनर्जी पनि हुन्छ । भन्नुको मतलब युवाबाहेक अर्को पुस्ताले पढ्दैन भन्ने होइन ।
लेखकका टार्गेटका कुरा पनि हुन्छ । युवाहरुका सबै कुरामा हामीले विश्वास गर्नुपर्छ । पाका उमेरका पाठकहरुको रिडिङ प्याटर्न पनि अलि छुट्टै किसिमको हुने गर्छ । म पनि युवा नै भएको हुनाले उनीहरुको मनलाई छुन सक्छु, कतै न कतै भेटाउन सक्छु भनेर नै युवा पुस्ता टार्गेट गरेर किताब लेख्दै आएको छु । योभन्दा बाहेकका अरु विषयमा नलेख्ने भन्ने होइन । सबै विषय, विधामा, सबै कोटीको लेखाइहरु लेख्छु । लेख्दै आएको पनि छु ।
त्यस्ता खालको किताब पाठकले कहिलेसम्म पढ्न पाउलान् ?
पाइन्छ । भर्खर लेखनमा बामे सर्दै छु । सिक्दै छु । सिक्नु प¥यो । अनुभव हुनुप¥यो । त्यसपछि आइहाल्छ ।
सुविन भट्टराईले सेक्स बेच्यो भन्ने आरोप पनि छ नि तपाईं माथि !
यसलाई मैले मेरा किताब सुरुदेखि अन्तिमसम्म नपढी लगाएको आरोप मानेको छु । किनभने पहिलो किताब ‘कथाकी पात्र’देखि पछिल्लो ‘प्रिय सुफी’सम्म आइपुग्दा सबै किताबमा सेक्समात्र छैन ।
प्रेमसँग सम्बन्धित कथा लेख्दा यौन पनि कहिलेकाहीँ जोडिन आइपुग्छ । उदाहरणका लागि ‘प्रिय सुफी’ । यसमा सेक्सका कुरा कत्ति पनि छैन । हरेक किताबमा त गरिएको छैन । तर, जहाँ आवश्यक छ, प्रेमसँगसँगै यौन पनि आउनुपर्ने आवश्यकता भेटिन्छ, स्वतः आउँछ । साहित्यमा यौन आउनु नराम्रो होइन ।
साहित्यमा यौन घुसाउने नयाँ मान्छे म पक्कै पनि होइन । म पनि आफूभन्दा सिनियर लेखकबाट सिक्दै, पढ्दै यहाँसम्म आएको हुँ । विपी कोइरालाले यौन मनोविज्ञानमा आधारित रहेर किताब लेख्न सुरु गर्नु भयो । विजय मल्लले कन्टिन्युटी दिनु भयो । भवानी भिक्षु, रमेश विकलदेखि थुप्रो लेखकले साहित्यमा यस्तो खालको प्रयोग गर्नु भएको छ । पढ्दा आपत्ति नलाग्ने गरी ब्युटिफुल्ली प्रजेन्ट गरिन्छ भने साहित्यमा यौन आउनु राम्रो हो ।
भनेपछि, किताब बिकाउन होइन, स्वाभाविक रुपमा यौन आउने भएकाले तपाईंले यस्तो प्रयोग गर्नु भयो ?
होइन, होइन । किताब बेच्नको लागि यौन घुसाएकै होइन । पाठहरु यौन पढेर आकर्षित हुने होइन । प्रेम कथामा भावुक पक्ष भेटिरहेको हुन्छ । कथामा आफूले आफैँलाई कतै न कतै भेटिरहेको हुन्छ । त्यसकारण पढ्ने हो । उनीहरुको दिनचर्या, विषयबस्तुलाई समेटेर लेखिएको भएर मन परेको हो । यौन भएर पढ्ने होइन । यौन त बिर्सिन्छ । सिनेमा हेरेर, पुस्तक पढेर त्यहाँ प्रयोग भएको यौन बिर्सिन्छ । तर, पछिसम्म सम्झिने अरु चिज हुन्छ । त्यसको लागि इमोसनल्ली कनेक्ट हुनुपर्छ । मैले त्यसमा बढी ध्यान दिईरहेको छु ।
तपाईं स्वयं लभ ट्र्याजिडीमा परेर प्रेम कथा लेख्न सुरु गरेको त होइन नि ?
लभको अनुभुति हामी सबैले गरेका हुन्छौं । अभियस्ली मैले पनि गरेँ । प्रेममा परेर, यसका विभिन्न पाटाहरु अनुभव गरेर नै लेख्न आएको सत्य हो । मैले अघि पनि भनिसकेँ, लेखाइ फरक हुँदै जान्छ । विस्तारै प्रेमभन्दा फरक चिज पनि लेख्छु ।
तपाईं नेपालको बेस्ट सेलर राइटर । के गर्नु पर्दो रहेछ यो बेस्ट सेलर राइटर बन्न ?
बेस्ट सेलर राइटर बन्छु भनेर म लेखनमा आएको होइन । यो गर्दा बेस्ट सेलर राइटर बनिन्छ भनेर टिप्स दिन त म सक्दिनँ । थोरै भए पनि पाठकको मन जितौँ भनेर आएको हो । बेस्ट सेलर बन्ने कुनै सुत्र छैनन् । तपाईंले राम्रो लेख्ने हो । धेरै पाठकको मनमा बस्न सरल मार्ग पछ्याउने हो । सबैलाई कनेक्ट गर्न सक्ने विषयबस्तुमाथि लेख्ने हो । यसरी नै कोही लेखक सफल हुन्छ ।
पाका पुस्ताले तपाईंका किताबलाई किताबै मान्दैनन्, किन होला ?
मान्छेका आ—आफ्नै सोचाई हुन्छन् । के मान्ने, के नमान्ने मेरा पनि स्वतन्त्रता हुन्छन् । म पनि कतिलाई मान्दिनँ । कतिलाई मान्छु । कतिलाई रेस्पेक्ट गर्छु । कतिको कुरा नै सुन्दिनँ ।
यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । कसैलाई म मन पर्दिनँ, कसैलाई पर्छु । म पनि त सीमित लेखकलाई मात्र फलो गर्छु । सीमित लेखकको मात्र किताब पढ्छु । हरेक लेखकलाई पछ्याउने, जो आउँछ उसलाई मान्ने, पढ्ने, वाहवाही दिन सक्दिनँ नि म पनि । मेरो पनि स्वाद हुन्छ । स्वाद अनुसार ग्रहण गर्ने हो । चलचित्र हेर्ने कुरा होस्, किताब पढ्ने कुरा होस् । म अरु ठाउँ नगई किन पोखरा नै आउँछु ? यो मान्छेको छनौट हो । छनौटमा पर्नु र नपुर्नको कुरा हो । कतिको छनौटमा पर्दिनँ । कतिमा पर्छु । स्वाभाविक ढंगले आउँछ ।
साहित्यप्रति लगाव कसरी सुरु भयो ?
सानैदेखि थियो । वान क्लास हुँदादेखि नै म कथा, कविता लेख्थेँ । मास्टर्स डिग्री सकिई सकेपछि फुल टाइम लेखक बनेँ । लेखक बन्छु भन्ने थिएन । एउटा किताब आयो । पाठकहरुले रुचाई दिनु भयो । समीक्षा पनि भए । त्यसपछि प्रेरणा मिल्यो । अर्को किताब लेखेँ । फुल टाइम लेखक भएँ । लेखेरै मेरो जीविका चलिरहेको छ ।
लेखकै बन्छु । म लेख्नको लागि नै बनेको हुँ, मेरो बाल्यकालका दिनहरु सम्झिँदा पनि महसुस हुन्छ । त्यही अनुसार मेरो हुर्काइ, बढाई पनि भयो । मेरो बनौट नै लेखक हुनको लागि भएजस्तो लाग्छ । संसारमा म किन छु ? भन्दा, लेख्नकै लागि छु ।
तपाईं त जागिर नपाएर लेखक भएको रे त !
हो । मास्टर्स डिग्री सकिइ सकेपछि कामको लागि कति ठाउँमा एप्लाई गरेँ । कसैले पनि लायकको सम्झिनु भएन । सायद, जागिर खानको लागि म नालायक नै थिएँ ।
त्यसपछि, लेखिरहेको कथाको फाइलहरुलाई कम्पाइल गरेर किताबको स्वरुप दिएँ । पहिलो किताब ‘कथाकी पात्र’ निकालेँ । त्यसपछि नै हो म औपचारिक रुपम लेखनमा प्रवेश गरेको ।
जागिर नहुनाले एकदमै राम्रो काम ग¥यो मलाई । जागिर भएको भए १०–५ को समयमा अलमलिएर, एकदमै निराशा, कुण्ठा, दिक्दारी पालेर बस्थेँ होला !
अहिले म स्वतन्त्र छु । मसँग कुण्ठा छन् । तर, म ती कुण्ठालाई पोख्न सक्छु । मासिक रुपम हेल्दी पनि छु । जागिर नपाउनु मेरो लागि राम्रो कुरा भयो । तपाईंले देखिरहनु भएको छ, त्यो उडिरहेको प्याराग्लाइडिङ जस्तै उन्मुक्त छु ।
तपाईंलाई आइडल बनाएर लेखनमा प्रवेश गर्ने सोचमा कतिपय नयाँ लेखकहरु हुनुहुन्छ । पाठकहरुलाई पनि कौतुहल हुन सक्छ कि एउटा किताब कसरी तयार हुन्छ ? एउटा कृति तयार हुन कति समय लाग्छ ? बताईदिनुस् न !
मेरो हकमा भन्नुहुन्छ भने ३ महिना पहिलो ड्राफ्ट तयार पार्न लाग्छ । त्यसको बिउ अगाडि कतै न कतै आईसकेको हुन्छ । बिस्तारै खेलाउँदै खेलाउँदै गइएको हुन्छ ।
लेख्न बसि सकेपछि एक, दुई अढाई महिनामा सकेको रेकर्ड छ । तर त्यसलाई पुनर्लेखन गर्न त वर्षैभरि लाग्छ । ग्याप हुन्छ, आराम गरिन्छ । तुरुन्तै काम गर्न मन लाग्दैन । पुनर्लेखन गर्दा पनि कतिपय कुरामा चित्त बुझेको हुँदैन । कहिलेकाहीँ लेख्दा लेख्दै रद्दी भइदिन्छ । दोहो¥याएर पुनर्लेखन ग¥यो । पटक पटक पुनर्लेखन हुन्छ । मेरो हकमा दुई वर्षमा एउटा कृति प्रकाशित गरेको छु ।
लेखनमा आउन चाहने नयाँ पुस्तालाई पहिलो सुझाव, लेखनमा आउन हतार नगर्नुस् । लेखे पनि प्रकाशन गर्न हतार नगर्नुस् । परबाट लेखकको चार्म देखेर किताब प्रकाशन गर्ने होडमा नलाग्नुस् । लेखन भनेको विशुद्ध साधना हो । धेरैभन्दा धेरै पढ्नु प¥यो । लेखि सकेपछि तपाईंको पहिलो पाठक तपाईं स्वयं हो । तपाईंले लेखेको ड्राफ्ट आफैँलाई चित्त बुझेको छैन वा तपाईंलाई सन्देह लागिरहेको छ वा मैले राम्रो लेखेँ या नराम्रो भन्ने कुरा तपाईं आफैँले फिल गर्न सक्नुहुन्न भने तपाईंले राम्रो लखेको होइन ।
राम्रो लेख्दा तपाईंको जिउँमा काँडा उम्रिन्छ । खुसीले तपाईंको मुटु यसरी धड्किन्छ कि तपाईंको शरीरले नै तपाईंलाई सूचना दिईरहेको हुन्छ, राम्रो लेखिदैँछ भन्ने । राम्रो लेखिसकेपछि बल्ल प्रकाशनमा लाग्नुस् ।
नयाँ लेखकको लागि किताब प्रकाशन गृह पाउन कत्तिको गाह्रो पर्छ ?
राम्रो लेखकलाई प्रकाशकको खाँचो छैन । तपाईं राम्रो लेख्नुहुन्छ भने, प्रकाशकले तपाईंलाई आफैँ खोज्छ । प्रकाशकलाई पनि राम्रो किताब छाप्न पाऊँ, धेरै पाठकमाझ आफूले प्रकाशन गरेको किताब पुगोस् भन्ने चाहना हुन्छ ।
पहिलेजस्तो प्रकाशकबाट किताब रिजेक्ट गर्ने भन्ने हुँदैन । प्रकाशकलाई मन परे तुरुन्त छापिई हाल्छ ।
पहिलो किताब प्रकाशन गर्दा मैले जानिनँ । आफ्नै लगानीमा किताब छापेँ । त्यस्तो धेरै पनि छापिएन त्यो किताब । थोरै मात्र छाप्यौँ । दोस्रो किताब प्रकाशन गर्दा त मलाई सजिलो भयो । नेपालको सबैभन्दा राम्रो प्रकाशन गृह ‘फाइन प्रिन्ट’बाट प्रकाशित भयो । तेस्रो किताब पनि त्यहीँबाट छापियो । त्यसपछि, म त्यहीँको एउटा नियमित लेखक पनि भएँ ।
प्रकाशन गृह अरु पनि छन् । राम्रो लेख्नेलाई प्रकाशन गृहले तानातान नै गर्छन् । त्यसमा ढुक्क हुनुस् । तर, जर्बजस्ती लेखक बन्न चाहनुहुन्छ भने त्यसमा तपाईंलाई गाह्रो हुन्छ । त्यसले तपाईंलाई खराब लेखक बनाउँछ ।
लेखकको रुपमा चिनिन थालेपछिको खुसीको क्षणलाई कसरी सम्झिनुहुन्छ ?
‘कथाकी पात्र’ प्रकाशित भई सकेपछि नै पाठकहरुसँग भेटौं भन्ने खालका कुरा हुन्थे । भेट पनि हुन्थ्यो । चिया गफ पनि गरिन्थ्यो । पछि पछि समय पनि मिलाउन गाह्रो पर्दै गयो । समय मिलाउन पनि सकिनँ । पूर्णकालीन लेखक भईसकेपछि त्यहीअनुसार समयको पनि अभाव हुन्छ । समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्रत्येक पाठकसँग भेट्दै हिड्न पनि असम्भव हुन्छ । दायरा फराकिलो हुँदै गईसकेपछि कतिलाई समय दिने कतिलाई नदिने ? यो व्यवस्थापन गर्न धेरै कठिन हुन्छ ।
तर, कहिलेकाहीँ बाटोमै पनि भेटिनु हुन्छ । अस्पतालको शैय्यामा, सरकारी कार्यालय जाँदा कर्मचारीहरु मलाई देखेर मुसुक्क मुस्कुराउनुहुन्छ । मुस्कान साटासाट हुन्छ । यसरी, हरेक ठाउँमा विभिन्न खालका पाठकहरु भेटिइरहनुहुन्छ ।
पाठकसँग यसरी भेट भएर मुस्कुराउन पाएँ भने मेरो दिन राम्रो हुन्छ । बनेको पनि छ । एकदम ऊर्जा मिल्छ । पब्लिक ठाउँमा जाँदा कोही न कोही भेटिईरहनुहुन्छ । फोटो खिचौँ भन्नुहुन्छ । सायद, मैले राम्रो लेखेर नै उहाँहरुलाई छोएँ होला भन्ने लाग्छ ।
अन्तिममा : तपाईंको बहुचर्चित उपन्यास ‘समर लभ’को विषयबस्तुमाथि रहेर फिल्म पनि बन्यो । तर, उपन्यासले जति चर्चा फिल्मले पाउन सकेन । किन यस्तो भयो ? कहाँनेर चुक्नुभयो तपाईंहरु ?
फिल्मप्रति मेरै असन्तुष्टि थियो । कलाकार चयनमा मलाई चित्त बुझेको थिएन ।
चित्त नबुझेको भए, तपाईंले लेखेको कथा हो तपाईंले रोक्न पनि सक्नुहुन्थ्यो नि ! होइन र ?
सकिनँ मैले । मेरो सामथ्र्यले भ्याएन । नेपाली चलचित्रकर्मीहरुसँग मैले नसक्ने रैछु । म पराजित भएँ । कतिपय कुरा मेरो नियन्त्रणको दायराभन्दा पनि बाहिर रह्यो । नदिनु दिई सकेपछि, उहाँहरुले आफ्नै ढंगले बनाउने प्रयास गर्नुभयो । त्यसकारण फिल्म बिग्रियो । मसँग पूर्ण सहमति लिएर, हरेक चिजहरुमा छलफल गरेर, मलाई राम्रो ढंगले प्रयोग गरेको भए, फिल्म यसरी धरासायी बन्ने थिएन । उहाँहरुको दम्भको कारण फिल्म चलेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै