केन्द्रीय संस्करण
विज्ञान जानकारी

जाडो र गर्मी : एउटै मौसम तर कसैलाई कम, कसैलाई बेसी किन लाग्छ ?

person explore access_timeमंसिर ३०, २०७६ chat_bubble_outline0

 

भरखर भरखरैको कुरा हो, एउटा विवाह भोजमा जाने निम्तो आयो । निम्तो मान्न हामी सपरिवार भोजमा सरिक भयौं । जाडोको महिना हामी सबैले बाक्लै लुगा लगाएका थियौं । तर सो विवाहमा सरिक केही महिलाहरु भने विपरीत पोशाकमा थिए । उनीहरुको पातलो पोशाक देखेर मेरी १० वर्षीया छोरीले मसँग बालसुलभ प्रश्न गरिन् ः बाबा, हामीलाई त जाडो लागिरहेको छ, तर आन्टीहरुलाई चाहिँ जाडो लाग्दैन हो ?

उनको बालसुलभ प्रश्नको ठोस उत्तर मसँग थिएन । त्यसैले फिस्स हाँसेर टारिदिए ।

सत्य कुरा चाहिँ के हो भने जाडो सबैलाई लाग्ने गर्छ । कुरा कम बेसी मात्राको मात्रै हो ।

हो, एउटै वातावरणमा पनि कसैलाई कम जाडो लाग्ने, कसैलाई बेसी जाडो लाग्ने चाहिँ अवश्य हुन्छ । यस्तो किन हुन्छ त ? आउनुहोस्, जाडोको बारेमा केही चर्चा गरौं ।

सन् २०१९ को जुलाइ २९ को दिन फ्रान्सको इतिहासमै तापक्रम अति वेसी ४५.९ डिग्री सेन्टिग्रेट पुग्यो । त्यो भनेको ११४ फरेन्टहाइट हो । प्रचण्ड गर्मीका कारण जनजीवन आकुलव्याकुल भयो । तर त्यस्तो प्रचण्ड गर्मीमा पनि केही मानिसहरुले चाहिँ त्यस्तो गर्मी महसुस गरेनन् । उता केही मानिसहरु चाहिँ यस्ता पनि हुन्छन्, चाहे जुनसकै मौसम किन नहोस्, सधैं जाडो लाग्ने गर्छ ।

यसरी एउटै मौसममा पनि कोही मानिसलाई बढी जाडो लाग्ने र कसैलाई कम लाग्ने वा लाग्दैनलाग्ने हुनुका पछाडि वैज्ञानिक कारण छन् । यो थाहा पाउनको लागि हाम्रो शरीरको तापक्रमले कसरी काम गर्छ भन्ने थाहा पाउनु जरुरी छ ।

सर्वप्रथमतः स्तनपायी जनावरहरु र चरा तातो रक्तसमूहका प्राणीमा पर्दछन् । यसको अर्थ के हो भने यो रक्त समूहका प्राणीहरुले आफ्नो शरीरको तापक्रमा आफैं नियमन र नियन्त्रण गर्न सक्छ । स्वभाविक रुपमा मानिसमा पनि यो क्षमता हुन्छ किनभने मानिस आफैं पनि स्तनपायी प्राणी हो । त्यसको विपरीत चिसो रक्तसमूहमा पर्ने प्राणीहरु जस्तै, सर्प, छेपारो, गोहीहरुले चाहिँ आफ्नो शरीरको तापक्रमलाई नियन्त्रण र नियमन गर्न सक्दैन । उनीहरु शरीरको तापक्रमलाई चाहिने मात्रामा राख्नको लागि वरिपरिको तापक्रममा भरपर्नुपर्ने हुन्छ ।

हाम्रो शरीरमा तापक्रमलाई नियन्त्रण र नियमन गर्ने काम हाम्रो मस्तिष्कको एउटा खास भागले गर्ने गर्छ, जसलाई हाइपोथालामस भन्ने गरिन्छ । मस्तिष्कको यो भागले हाम्रो शरीरको लागि थर्मोसेटले जस्तै काम गर्ने गर्छ । मानिसको शरीरको लागि औसत तापक्रम ९८.६ डिग्री फरेनहाइट हो । तर शरीरको तापक्रमलाई नियमन गर्ने कुरा भनेको हिटर वा एसीमा जस्तो बटन थिचेको चाहिएको तापक्रम प्राप्त गरे जस्तो सहज नभई यो अलि जटील प्रक्रिया नै हो । शरीरको तापक्रमलाई ठिक्कको अवस्थामा राखिराख्नको लागि हाइपोथालामासले शरीरका विभिन्न भागहरुलाई नियन्त्रण र यस कार्यको लागि सञ्चालन गर्ने काम गरिरहनु परेको हुन्छ । कुनै पनि कारणले यी अंगहरुबीचको समन्वयमा गडबढी आयो भने हाम्रो शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट भन्दा तलमाथि हुन जान्छ ।

शीरको तापक्रमलाई ठिक्क राखिराख्नको लागि के गर्नुपर्छ भन्ने कुराको सबैभन्दा ठूलो सूचना हाम्रो शरीरको छालाले मस्तिष्कलाई दिइरहेको हुन्छ । वास्तवमै, मानव शरीरमा छाला यस्तो प्रमुख अंग हो, जसले शरीरका अन्य अंगहरुको तुलनामा सबैभन्दा पहिले र बेसी बाहिरी संसारका चीजबीजहरुसँग सम्पर्कमा रहेको हुन्छ । 

जब वाहिर तापक्रम हाम्रो शरीरलाई चाहिनेभन्दा बढी हुन्छ, हाम्रो शरीरमा भासोडाइलेसन (Vasodilation) को प्रक्रिया शुरु हुन्छ, जसले गर्दा हामीलाई पसिना आउन थाल्छ । यसरी पसिना आउँदा सम्पन्न हुने वाष्पीकरणको प्रक्रियाले हाम्रो शरीरको तापक्रमलाई घटाउन मद्दत गर्छ ।

त्यसको ठीक विपरीत जब बाहिर शरीरलाई चाहिने तापक्रमभन्दा कम चिसो बढेर जान्छ, त्यसबेला हाम्रो छालामा भासोकन्स्ट्रिक्सन (Vasoconstriction) को प्रक्रिया शुरु हुन्छ । यो बेलामा हाम्रो छालामा काँडा उम्रन्छ । वास्तवमा, त्यो काँडा उम्रनु (Goosebumps) भनेको पनि शरीरले तापक्रमलाई सन्तुलित राख्ने क्रममा सिर्जित स्वभाविक प्रक्रिया नै हो ।

केही मानिसहरुमा अटोनोमिक डाइसरेफ्लेक्सिया नाम गरेको अवस्था सिर्जना हुन्छ, जुन अवस्थामा उनीहरुको स्नायु प्रणालीले त्यो अवस्थाका विरुद्धमा अलि बढी नै प्रतिक्रिया जनाउँछ । त्यो वस्थामा उनीहरुको शरीर अनावश्यक रुपमै भासोडाइलेसनको स्थितिमा पुग्छ र अति बढी मात्रामा पसिना निस्कन थाल्छ । फेरि त्यसको ठीक केहीमा चाहिँ अति नै जाडो लागेर बढी नै काँडा उम्रने हुन्छ ।

त्यसो त कसैलाई बढी जाडो वा गर्मी लाग्ने र कसैलाई कम लाग्ने हुनुमा अरु कारणहरु पनि हुन्छन् । सामान्य रुपमा भन्दा पुरुषको तुलनामा महिलाहरुलाई बढी जाडो लाग्ने गर्छ । हात मात्रै छाम्दा पनि औसत रुपमा महिलाको हातको तापक्रम पुरुषको भन्दा ३ डिग्री फरेनहाइट कम नै हुन्छ । यसो हुनुको पछाडि कारण छ । यसो हुनको कारण चाहिँ पुरुषको शरीमरा मासुको मात्रा बढी हुनु र महिलाको शरीरमा चाहिँ तुलनात्मक रुपमा बढी बोसो हुनुलाई मानिएको छ । सामान्यतः मांसपेशीहरुले काम गर्दा तापक्रम पैदा गर्छ भने बोसोका कोषहरुले चाहिँ तापक्रमलाई सञ्चय गर्ने काम गर्छ । जाडो हुँदा हामी काम्नुको कारण पनि यही नै हो । जाडोमा हामी काम्दा मांसपेशी चाँचाँडो चल्न थाल्छ, फलतः शरीरमा तातोपन बढेर जान्छ ।

हाम्रो शरीरमा तापक्रमलाई नियन्त्रित गर्ने एउटा मुख्य पक्ष भनेको रगतको बगाइ पनि हो । सम्भवतः यही प्रक्रियाबाट नै तातो रक्तसमूह भन्ने शब्द आएको हुन सक्छ ।

त्यसकारण, हाम्रो शरीरमा रक्त सञ्चारलाई उत्प्रेरित गर्ने वा बढाइदिने कुनै पनि कामले तपाईंको शरीरमा तापक्रमको मात्रालाई प्रत्यक्ष प्रभावित गर्ने गर्छ । उदाहरणको लागि, बढी कोलेस्ट्रोल खानेकुराहरुले हाम्रो शरीरमा रक्तसञ्चारको प्रक्रियालाई सुस्त बनाइदिन्छ । रगतमा कोलेस्ट्रोल बढी हुँदा हाम्रो हात खुट्टाहरुमा तातो रगत पुग्न कठीन हुन्छ । यही कारण नै बढी कोलेस्ट्रोल हुने मानिसहरु आफ्नो हातखुट्टाका औंलाहरु चिसो भएको गुनासो अरुको तुलनामा बढी गर्ने गर्छन् ।

हामी बुढो हुँदै जाँदा हाम्रो प्राकृतिक प्रणालीको प्रभावकारिता पनि कमजोर हुँदै जान्छ । यो कुरा हाम्रो शरीरको तापक्रम नियन्त्रण गर्ने प्रणालीमा पनि लागू हुन्छ । कम रक्तचाप, शरीरमा कम मासु र कमजोर पाचन प्रणालीले पनि हाम्रो शरीरको तापक्रम नियन्त्रण गर्ने प्रणालीलाई झनै खराब बनाइदिन्छ । सामान्य मानिसहरुको तुलनामा बुढापाका उमेरका मानिसहरुलाई बढी जाडो लाग्नुको एउटा कारण यो पनि हो ।

त्यसकारण, आफ्नो शरीरको अवस्थाका बारेमा ख्याल राख्नु अति जरुरी हुन्छ । तपाईं कुनै अरु प्राकृतिक वा बाह्य कारण बेगर नै पनि जाडो महसूस गर्न थाल्नु हुन्छ भने तपाईंलाई विरामी भएको महसुस हुन्छ र ज्वरो आउँछ । त्यसैगरी, जाडो लागिबस्ने स्थितिले पनि तपाईंलाई डायबिटिज लगायत अन्य कुनै गम्भीर रोग लागेको कुराको संकेत पनि हुन सक्छ । अति धेरै तातो हावाहरु चलेको बेलामा पनि लगातार चिसो महसूस भइरहनु चाहिँ आरामदायी नै हुन सक्छ तर त्यसबाट झुक्किनु हुँदैन । हाम्रो शरीरले निश्चित तापक्रममा मात्रै सही ढंगले काम गर्न सक्छ । यस अर्थमा हाम्रो शरीरका प्रणालीले ठीक ढंगले काम गरिरहेको छ भन्ने कुरा निश्चित गर्नु महत्वपूर्ण हुन्छ ।

घरको तापक्रम सुनिश्चित गरिबस्ने एयर कन्डिसनर, हिटर जस्ता चीजहरु विग्रियो भने बनाउनको लागि हामी मेकानिक बोलाउने गर्छौं । ठीक त्यसै गरी, तपाईंले अनावश्यक रुपमा र बिनाकारण चिसो महसूस गरिरहनुभएको छ भने सबैभन्दा जरुरी कुरा चिकित्सकसँग सल्लाह गरिहाल्नुपर्छ । त्यसो गर्दा तपाईंको शारीरिक अवस्था ठीक रहे नरहेको तथा शरीरको तापक्रम ठीक अवस्थामा राख्ने प्रणालीले सही ढंगले काम गरे नगरेको पहिचान गर्न सकिन्छ ।   

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...