शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग

आइतबार, २९ मङ्सिर २०७६, २३ : ४५
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युतु आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् । भीमसेन थापा गाउँपालिका–४ धावामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी जलाशययुक्त आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले त्यसलाई प्राथामिकता दिएर निर्माण अघि बढाउनुपर्नेमा जोड दिए । 

सांसद अधिकारीले भने, ‘विद्युत् उत्पादन मात्र नभई अब आयोजना वरपरको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी आयोजना निर्माणको अघि बढाउनु आवश्यक छ ।’ उनले आयोजना वरपर चक्रपथ निर्माण गरी त्यसको उचित व्यवस्थापन गर्न सके यो आयोजनाले देशको मुहार नै फेर्न सक्ने बताए ।

सांसद अधिकारीले आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखातर्फका आरुघाट, आर्खेत र धादिङतर्फका विशालटार तथा खहरे क्षेत्रको मुआब्जा निर्धारण भएका केही प्राविधिक समस्यालाई हल गर्न आफूले पहल गरिरहेको बताए । ‘मुआब्जामा निर्धारणमा जनतालाई मर्कामा पर्नु हुँदैन भन्नेमा म पनि प्रतिबद्ध छु’, उनले भने, ‘डुबान क्षेत्रका जनताको पुनर्बास र पुनःस्थापनाका लागि अब राज्यले उचित निर्णय लिनुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप