बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

मोफसलका पत्रकार ईश्वर जोशीको पत्रकारिता

सोमबार, ०५ भदौ २०७४, ११ : ०८
सोमबार, ०५ भदौ २०७४

राति पौने ९ बजेपछि बज्ने बीबीसी नेपाली सेवाको समाचार कार्यक्रममा तपाईले एउटा आवाज प्रायः सुनिरहनुभएको होला । 

समाचार पढेपछि अन्तिममा उनले आफ्नो समाचार बाइलाइन यसरी उच्चारण गर्ने गर्छन्– ‘ईश्वर जोशी, बीबीसी नारायणगढ’

यति भनेपछि तपाईंले पक्कै पनि निरन्तर सुनेको एउटा आवाजलाई सम्झनुभयो होला । विगत २४ वर्षदेखि टेलिभिजन र रेडियोमा चितवन र त्यस आसपासको सामाचार सुनाएर हामीलाई सुचनाको भोक मेट्याउँदै आएका ईश्वर जोशीको पत्रकारिता गरेरै कपाल फुलेको छ । चितवनको गर्मीमा हिउँ परेको जस्तो देखिने टाउको, क्यामेरा र झोला बोकेर हिँडिरहेको अग्लो मान्छेको हुलिया भेट्नुभयो भने उनै हुन ईश्वर जोशी जो अनवरत रूपमा नेपाल टेलिभिजन र बीबीसी नेपाली सेवाका लागि समाचार सङ्कलन गर्न कँुदिरहेका हुन्छन् । 

भिडियो क्यामेरा र हवाई दुर्घटनाले बनायो पत्रकार  
ईश्वर जोशी पत्रकारितामा योजना बनाएर आएका थिएनन् । जीवन हरेक संयोगहरूको खेल हो भनिन्छ नि । त्यस्ते ईश्वरको जीवजनमा पनि भइदियो । उनी संयोगबस पत्रकारितामा छिरे र आफ्नो पेसागत धर्म निर्वाह गर्दै जिम्मेवार पत्रिकारितालाई वर्षौंसम्म निरन्तरता दिइरहेका छन् । 

२०५० साल अघिसम्म ईश्वरको पत्रकारितामा जाने उनको कुनै उद्देश्य थिएन । उनी परिवारसँग सानोतिनो व्यापार व्यवसाय गरेर बसेका थिए । कहिलेकाहीँ भिडियोग्राफी पनि गर्थे । भरतपुरको पुल्चोकमा उनको एउटा सानोतिनो कोल्ड स्टोर थियो । त्यहीँबाट उनले भिडियोग्राफी सेवा पनि दिने गरेका थिए । व्यापार व्यवसायसँगै उनले कार्यक्रमहरूमा गएर फोटो तथा भिडियो खिच्ने गर्थे । 

ईश्वरकै शब्दमा ५० सालतिरेको कुरा हो, त्यतिबेला एभरेस्ट एयरलान्सको विमान दुर्घटना भएको थियो । समाचार सङ्कलनका लागि नेपाल टेलिभिजनका पत्रकार त्यहाँ पुगेका रहेछन् । काम गर्ने सिलसिलामा उनीहरूको क्यामेरा बिग्रिएछ । प्रकाशजङ्ग कार्की र एकजना क्यामेराम्यान गएका थिए । उनीहरूको क्यामेरा बिग्रिएपछि चितवनमा नेपाल टेलिभिजनको प्रतिनिधि को छ भनेर सोध्दा मान्छेहरूले ईश्वरलाई देखाइदिएछन् । तर उनी त्यतिबेला नेपाल टेलिभिजनको रिपोटर थिएनन् । त्यतिखेर चितवनमा भिडियो खिच्ने उनी मात्रै थिए । 

उनीहरूले ईश्वरलाई भेटेर आफ्नो क्यामेरा बिग्रिएको गुनासो गरे । क्यामेरा दिएपछि उनको क्यामेराबाट बिमान दुर्घटनाको फुटेज खिचेर उनीहरूले कार्यालयमा पठाएका थिए ।  

जब पारिश्रमिक दोब्बर गर्न प्रस्ताव गरे 
त्यतिबेला नेपाल टेलिभिजनको पोखरामा पनि संवाददाता थिएनन् । जोमसोमका एयरवेज विमान दुर्घटना भएको खबर आयो । नेपाल टिभीको कार्यालयबाट समाचार सङ्कलनका लागि कसलाई पठाउने भन्ने भएपछि भर्खर काम सुरु गरेका उनलाई काठमाडौंबाट फोन आयो । राजिव उपाध्यायले उनलाई फोन गरेका थिए । 

‘तपाईं जोमसोम जानुपर्यो, टिकटको सबै व्यवस्था हामीले गरिदिन्छौँ, तपाईं जसरी पनि जानुपर्यो ।’

भोलिपल्ट पहिलो फ्लाइटमा उनी जोमसोम पुगे । उनलाई समाचार कसरी लेख्ने केही थाहा थिएन् । भिडियो खिच्न आँउथ्यो तर समाचार कसरी लेखिन्छ केही थाहा थिएन् । प्लेन खसेको ठाउँ खोजे । अवतरण गर्ने क्रममा कालीगण्डकीमा प्लेन खसेको रहेछ । 

उनले दुर्घटनामा परेको विमानको भिडियो खिच्नुका साथै एयरपोर्टका कन्ट्रोलरसँग अन्तर्वार्ता पनि लिए तर पोखरा आएपछि भिडियो क्यासेट कसरी पठाउने भन्ने समस्या पर्यो । समाचार लेख्ने कला पनि थिएन । उनले आफ्नै शैलीमा दुर्घटना स्थलमा देखेजति सबै कुरा लेखे । त्यतिबेला एभरेस्ट एयर चल्ने गरेको थियो । पोखराबाट सोही विमानमा उनले भिडियो क्यासेट र घटनाको जानकारी पठाइदिए । 

पोखराबाट चितवन पुगेपछि उनले टिभीमा आफ्नो समाचार हेरेका थिए । त्यो क्षण उनका लागि रोमान्चकारी बनेको थियो । 

उनले भने– ‘टिभीका सम्पादनकलाई नयाँ मान्छे कस्तो काम गर्ने हो भन्ने चिन्ता लागेको रहेछ । त्यतिबेला नेपाल टेलिभिजनका व्यवस्थापक तपानाथ शुक्ला थिए । भिडियो देखेपछि उनी एकदमै प्रभावित भएछन् । उनले ईश्वरको पारिश्रमिक नै डबल गरिदन प्रस्ताव गरेछन् तर प्लेन टिकटमा भएको खर्च बेहोर्नुपर्ने भन्दै प्रशासनका कर्मचारीले मानेनछन् ।’ 

हुलाक र प्लेनबाट समाचार 
अहिलेजस्तो इन्टरनेटको जमाना थिएन त्यो । क्यामेरामा लाग्ने क्यासेट नै ए फोर आकारको कागज जत्रो हुन्थ्यो । भिएचएस क्यामेरा प्रयोग हुन्थ्यो । दृश्य खिचिसकेपछि क्यासेट र समाचार खाममा हालेर प्लेनबाट वा कुरियर गरेर पठाउने चलन थियो । ईश्वरले धेरै वर्ष यसरी नै भिडियो तथा समाचार खाममा हालेर नेपाल टेलिभिजनमा पठाइरहे । 

यसरी समाचार पठाउँदा चितवनको समाचार १ दिन वा २ दिन ढिलो गरी प्रसारण हुने गर्दथ्यो । झन्डै दश बाह्र वर्ष उनले समाचार र भिडियो खाममा हालेर प्लेन तथा कुरियर गरेर काठमाडौँ पठाए । पछि फ्याक्स आयो । उनले समाचार फ्याक्स गरेर पठाउँथे भने भिडियो क्यासेट प्लेन वा कुरियर गरेर पठाउँथे । 

उनी भन्छन्– ‘एक बित्ताभन्दा लामो भिडियो क्यासेटको साइज घट्दै–घट्दै अहिले आएर त मोबाइलबाटै भिडियो खिच्ने जमाना आयो । सबैको हात हातमै अहिले त भिडियो क्यामेरा छ ।’

उनले काम सुरु गर्दा नेपालको एक मात्र टिभी नेपाल टेलिभिजन मात्र थियो । निजी टेलिभिजन च्यानलहरू त धेरै पछि आएका हुन् । 

नेपाल टेलिभिजनको पारिश्रमिक बढेन : २४ वर्षे करारको पीडा 
 

५० सालतिर उनले एउटा समाचारको ३ सय रुपियाँ पारिश्रमिक पाउने गर्थे । पछि ४ सय, ५ सय हुँदै अहिले छ– सात सयमा आएर रोकिएको छ । उनी भन्छन्– पारिश्रमिकको हिसाबमा टेलिभिजन त्यति उपयुक्त चाहिँ छैन्, एउटा संस्थामा काम गरिसकेपछि किन छोड्ने भनेर मात्रै काम गरिरहेको हो ।’

२०५० सालदेखि ७४ सम्म झन्डै २५ वर्ष उनले नेपाल टेलिभिजनमा निरन्तर काम गरिहेका छन् । 

त्यतिबेला दिन छोटो हुने पुस महिनामा समेत उनले १९ ओटासम्म समाचार बजाएका थिए । 

पहिलो समाचार बज्न पनि गाह्रो थियो तर आजभोली पठाउन सक्यो भने जति पनि समाचार प्रसारण हुन्छ । इन्टरनेटको सुविधाका कारण अहिले घरबाट कार्यालयमा समाचार, भिडियो पठाउन सकिन्छ । अहिले पनि महिनामा दस–बाह्र ओटा समाचार बजिरहेका हुन्छन् । 

२०५० सालमा एनटिभीले स्थानीय समाचारदाताका रूपमा करारमा नियुक्ती दिएको थियो । सुरुमा ६ महिनाका लागि नियुक्ति दिएको थियो । त्यसपछि कहिले छ महिना, कहिले १ वर्षको करार दिँदै आएको छ । अनवरत रूपमा उनी २४ वर्षसम्म सरकारी टिभीमा करारमा काम गरिरहेका छन् । जनताका पीर मर्का सुनाउने उनले यसबारे धेरै पटक गुनासो पनि गरे तर सुनुवाइ भएको छैन । 

ईश्वर जस्तै लामो समयदेखि करारमा काम गर्ने अरु पनि छन् । हेटौंडामा उनीभन्दा पनि अगाडिदेखि काम गरिरहेका महेन्द्र श्रेष्ठ पनि अझै करारमा काम गरिरहेका छन् । ईश्वरले नेपाल टिभीमा काम नथाल्दा हेटौंबाट चितवन आएर महेन्द्रले नै समाचार कभर गर्ने गरेको उनी सम्झन्छन् । उदयपुरमा केदार खड्का करारमा काम गर्ने पुराना कर्मचारी रहेको उनले बताए । उनीसँगै नेपाल टेलिभिजनमा काम थालेका धरानका र इलामका समकक्षी साथीले काम छोडेको उनले बताए । 

ईश्वर भन्छन्– ‘पत्रकारिता एउटा नसा जस्तो रहेछ, लागेपछि छोड्न नसक्ने, मैले बीबीसीमा पनि काम गरेको भएर अलि सजिलो भएको छ तर नेपाल टेलिभिजनमा मात्र लागेर बाँच्न सक्ने स्थिति छैन् ।’

बीबीसीमा प्रवेश  
नेपाल टेलिभिजनमा काम गर्न थालेको पाँच–छ वर्षपछि उनले बीबीसी नेपाली सेवामा काम थालेका थिए । बीबीसीका लागि चितवनको समाचार पनि हेटौँडाबाट महेन्द्र श्रेष्ठले हेर्ने गर्थे । उनले काम गर्दिन भनेपछि त्यतिबेलाका बीबीसी नेपाली सेवाका नेपाल प्रमुख सुशील शर्माले ईश्वरलाई काठमाडौं बोलाएर नियुक्ति दिएको उनको सम्झनामा अझै ताजै छ । 

बीबीसीमा कुन घटना वा विषयमाथि समाचार बनाउने हो त्यसबारे अगाडि नै सल्लाहअनुसार समाचार तयार पार्ने चलन छ । कुनै विषयमा भने उनी आफैले पनि कार्यालयमा जानकारी गराएर समाचार बनाउने गर्दछन् । बीबीसीमा स्वतन्त्र ढङ्गले काम गर्न पाएकोमा उनलाई आत्मसन्तुष्टि मिलेको छ । यसबाट केही आर्थिक भरथेग पनि हुने गरेको छ ।  

बीबीसीमा पहिलो दिन : खुसीले समाचार पढ्न सकेनन् 
बीबीसीमा पनि उनले झन्डै अठार बीस वर्ष समय गुजारिसकेका छन् । पहिलो समाचार के थियो उनले यतिबेला बिर्सिसकेका छन् । उनले काम गर्ने समयमा बीबीसी नेपाली सेवामा मणी राणा थिए । उनको शब्दमा मणी राणा एकदमै रमाइला मान्छे थिए । उनको पहिलो समाचारका लागि उनै राणाले फोन गरेका थिए ।

खुसीले ‘एक्साइटेड’ भएर उनले पहिलो समाचार पढ्नै सकेनन् । उनी भन्छन्– ‘पहिलोचोटी बीबीसीमा समाचार पढ्न पाउँदा बढी खुसीको भावनामा बगेर म एक्साइटेड भएछु । मैले समाचार पढ्नै सकिन् । मणी दाइले यति सजिलो तरिकाले सिकाउनु भयो कि सुरु सुरुमा सबैलाई यस्तै हुन्छ, म पनि पहिला पढ्दाखेरी यस्तै भएको थिएँ । मैले समाचारको एक एक लाइन गरेर पढेको थिएँ त्यतिखेर ।’

त्यतिबेला समाचार पनि रेडियोको सर्टवेभमा सुन्नुपथ्र्यो, सुन्न पनि गाह्रो थियो । त्यतिखेर कुनै घटना भएपछि त्यो विषयमा समाचार गर्नुपर्यो भनेर लन्डनबाट फोन आउँथ्यो, समाचार तयार पारेपछि उताबाट फोना आउँथ्यो र पढिन्थ्यो । 

समाचार प्रभाव : एकल महिलाले रातो लगाए, गैँडाको मासु खान रोकियो 
२४ वर्ष लामो पत्रकारिताको दौरानमा उनले कैयौँ समाचार लेखे । उनले लेखेका समाचारबाट धेरै सकारात्मक पहल पनि भएका छन् । 

समाचारमा उनको अर्को रुचिको क्षेत्र वन्यजन्तु तथा निकुञ्ज पनि थियो । सुरुमा उनले वन्यजन्ुत र निकुञ्जबारेमा धेरै समाचारहरू पनि लेखेका छन् । उनले नेपाल टेलिभिजनमा गैँडासम्बन्धी धेरै समाचारहरू लेखेका थिए । त्यतिबेला उनलाई गँैडाको समाचार धेरै लेखेको भनेर ल गैँडा आयो भनेर साथीहरूले जिस्क्याउने पनि गर्थे । उनलाई समाचार लेखनमा रुचिको क्षेत्र पनि वाइल्ड लाइफ नै हो । 

झन्डै एक दशकअघि उनले चितवनको गैँडाकोटमा एकल महिलाले रातो चुरा र कपडा लगाएको बारेमा बीबीसी नेपाली सेवाका लागि १३ मिनेट लामो रेडियो रिपोर्ट बनाएका थिए । त्यसअघि पश्चिमाञ्चल क्षेत्रमा भएको जन्ती बस दुर्घटनामा बेहुलासहित धेरै पुरुष जन्तीको मृत्यु भएपछि उनीहरूका श्रीमतीले रातो पहिरन लगाउन सुरु गरेका थिए । चितवनको गैँडाकोटमा पनि एकल महिलाले रातो लगाएको विषयलाई ईश्वरले उच्च महत्व दिएर रेडियो सामग्री तयार पारेका थिए । पहिरनका आधारमा एकल महिला छुट्टिने भएपछि उनीहरूले सामाजिक विभेद, लाल्छना भोग्नुपर्ने अवस्थालाई परिवर्तन गराउन उनको रेडियो सामग्रीले पनि ठूलो भूमिका खेल्न सफल भयो । 

यसबारेको रेडियो रिपोर्ट प्रसारण भएपछि एकल महिलाले रातो लगाउनेबारेमा अभियान नै सुरु भएको थियो । एकल महिलाहरूले पनि रातो साडी, चुरा लगाउन थाले । उनलाई यसको प्रभाव आफ्नो रिर्पाेट पनि एक हो कि जस्तो लाग्ने गरेको छ । बीबीसीको २५ मिनेटको समयमा एउटै विषयमा १३ मिनेट कार्यक्रम बज्नु भनेको सानो कुरा थिएन । 

उनको उक्त रिर्पोट प्रसारण भएपछि बीबीसीका सुशिल शर्माले निकै राम्रो रिर्पोट भनेर तारिफ गरेको उनको मस्तिष्कमा ताजै छ । यसपछि एकल महिलाले रातो लगाउने बिषय आन्दोलनकै रूपमा नेपाल भर अघि उनलाई लागेको छ । 

उनले बनाएका समाचारको प्रभाव धेरै छन्, जसमध्ये अर्को मरेको गैँडाको मासु हारालुछ गर्न रोकिनु पनि हो । उनले चितवन राष्ट्रिय निकुञ्जमा मरेका गैँडाको मासु खान स्थानीयले हारालुछ गर्ने गरेको भिडियो समाचार तयार पारेर नेपाल टेलिभिजनमा पठाएका थिए । तर टेलिभिजनमा प्रसारण भएन् । प्रसारण नभएपछि उनले उक्त समाचार नेपाल वातावरण पत्रकार समाजलाई उपलब्ध गराए । वातावरण पत्रकार समूहले तयार पार्ने आँखीझ्याल कार्यक्रम मार्फत उक्त सामग्री नेपाल टेलिभिजन मार्फत नै प्रसारण भएको थियो । 

गैँडा कालगतिले मर्यो वा चोरी शिकारीका क्रममा मारियो, खाग चोरी गरेर लगेको अवस्थामा निकुञ्जले गैँडाको छाला तथा खुर निकालिसकेपछि स्थानीयलाई खानका लागि छोडिदिने गरेको थियो । ईश्वरले मासु हारालुछ गरेको, हारालुछ गर्ने क्रममा मान्छेको हात काटेको, गिद्धको समूहले मासु लुछेको जसरी हारालुछ गरेको भिडियो खिचेर समाचार तयार पारेका थिए । 

यस्तो समाचार आँखीझ्याल कार्यक्रमबाट प्रसारण भएपछि गैँडा मरेपछि निकुञ्जले खाल्डो खनेर गाड्न सुरु गरेको थियो । यो उनले तयार पारेको समाचारको प्रभाव थियो । त्यतिबेला निकुञ्जकै कर्मचारीहरूले मरेको गँैडाको सपेटा बोकेर समेत जाने गरेका थिए । उनको यो समाचार आँखीझ्याल  कार्यक्रममा दुई पटक पुनः प्रसारण समेत गरिएको थियो । 

जब राति ९ बजे सेनाले ब्यारेकमा बोलायो 
उनले पत्रकारिताका क्रममा धेरै तीता मीठा भोगाइहरू पनि भोगेका छन् । माओवादी द्वन्द्वको समयमा उनलाई एकपटक सेनाको ब्यारेकबाट फोन आयो । त्यतिबेला रातीको समयमा कफ्र्यु लाग्ने गथ्र्यो । उनलाई ब्यारेकमा तुरुन्त आउनुस भनेपछि सातो गयो । उनले कफ्र्यु लागेको छ भने तर उताबाट केही फरक पर्दैन आउनुुस भनेपछि उनी अप्ठेरोमा परे । राति नौ बजे उनी मोटरसाइकल लिएर पुगे । श्रीमतीलाई उनले मलाई ब्यारेकमा बोलायो, म कतिबेला आँउछु थाहा छैन्, भनेर गए । 

ब्यारेकको गेटमा फलानो कसार्वकहाँ जानुस भनेर पठायो । गएपछि उनलाई थाहा भयो कि सेनाले ३५ किलोको बम फेला पारेर ल्याएको रहेछ । उनीहरूले त्यसको भिडियो खिच्नलाई बोलाएको थाहा पाएपछि उनको होस ठाउँमा आयो । 

आफ्नै व्यवसाय    
नारायणघाटको पुल्चोकमा उनको पहिलेदेखि नै कोल्ड स्टोर थियो । अहिले पछि त्यसलाई बिस्तार गरेर सानो भोजनालयको रूप दिएका छन् । उनी सधँै समाचार लेखनमा मात्रै व्यस्त हुने भएकाले उनकी श्रीमतीले अहिले यो व्यवसाय सम्हालिरहेकी छिन् । उनी भन्छन्– म त भन्छु, हरेक पत्रकारले एउटा एउटा पेसा गर्नुपर्छ, समाचार लेखेर मात्र खान पुग्दैन । 

अहिलेको जुनसुकै सञ्चार माध्यममा हेर्नुस, धेरै दिनेले पनि त्यही बीस हजार दिएको होला एक महिनाको । अब त्यो पैसाले घर परिवार पाल्ने, बालबच्चा पढाउनुपर्यो । श्रीमतीको आवश्यकताहरू पनि पूरा गर्नैपर्यो । पत्रकारिता नै गरेर अहिले बाँच्न सक्ने अवस्था चाहिँ छैन ।  

बिहान र बेलुका फुर्सदको बेलामा उनी आफ्नो व्यवसायलाई पनि समय दिन्छन् ।  

उनका दुई छोराछोरीमध्ये छोराले स्नातक तहको पढाइ पूरा गरेर बसेका छन् । यस्तै छोरी स्नातक तहमा अध्ययन गरिरहेकी छिन् । ईश्वरको परिवारमा बुवा आमा, श्रीमान श्रीमती र दुई छोराछोरी छन् ।  

उतिबेलाको पत्रकारिता नै प्रभावकारी 
 

त्यति बेलाको टेलिभिजन पत्रकारको महत्व यति धेरै थियो कि कुनै कार्यक्रममा मन्त्रीसमेत घन्टौँ कुरेर बसेका हुन्थे । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले ईश्वर जोशीलाई चिन्छन् वा चिन्दैनन् थाहा छैन्, तर ईश्वरको स्मृतिपटमा अझै ताजै छ । तात्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल जिल्ला परिषदको बैठकको उद्घाटन गर्न चितवन गएका थिए । त्यस दिन ईश्वरले सानो क्यामेरा लिएर गएका थिए । अघिपछि उनी ठूलो क्यामेरा लिएर हिँड्थे । रामचन्द्र पौडेलले ठूलो क्यामेरा नदेखेपछि ठूलो क्यामेरा खै भनेका थिए । 

त्यतिबेला चितवनमा औलामा गन्न सकिनेमात्र पत्रकाररु थिए । राष्ट्रिय समाचार समितिमा गणेशशेखर शर्मा थिए । साप्ताहिक पत्रिकामा काम गर्ने विश्वनाथ अधिकारी, महेन्द्र श्रेष्ठ, विष्णु छिमेकीलगायत थिए । राष्ट्रिय दैनिकहरूले पनि त्यतिबेला राष्ट्रिय समाचार समितिको समाचारबाटै काम चलाउने गरेका थिए । 

ईश्वरले २४ वर्षको दौरानमा धेरै समाचार लेखे, धेरै पत्रकार भेटे र अहिलेको आधुनिक प्रविधिसँग भिज्दै नयाँ युवा पत्रकारहरूसँग फिल्डमा खटिएर समाचारको खेती गरिरहेका छन् । अहिलेको पत्रकारिताभन्दा पहिलेको पत्रकारिता नै प्रभावकारी रहेको उनको अनुभव छ । अहिले पत्रकारहरू अरूको प्रयोग भएको उनी बताउँछन् । 

उनी भन्छन्– ‘एकतर्फी समाचार लेखिदिने, एनजीओ, आइएनजीओले कतै घुमाउन लगिदियो भने उनीहरूले भनेको भरमा लेखिदिने, क्रस चेक नगर्ने, पत्रकारहरू अलि प्रयोग भएको हो कि भन्ने अनुभूति हुन्छ ।’

पत्रकारितामा सुधार गर्नुपर्ने धेरै कुराहरू देखेका छन् उनले । पत्रकारले समाचार लेख्दा थोरै भए पनि खोज नगर्ने परिपाटी उनलाई मन नपर्ने कुरा हो । सतही समाचार लेख्ने, कुनै घटना वा विषयको समाचार पुष्टि नगरी लेख्ने, ब्रेकिङको नाममा अपुष्ट समाचार बढी जाने जस्ता विषयमा सुधार हुनुपर्ने उनको ठहर छ । 

ईश्वर भन्छन्– ‘जनताले सुसुचित हुने माध्यम भनेको मिडिया नै हो, त्यसले नै गलत समाचार दियो भने त भोलि के हुन्छ समाज ? त्यही भएर सुधार गर्नुपर्ने कुराहरू धेरै देखिन्छन् । अहिले नयाँ प्रविधि र नयाँ पत्रकार आएका छन् ।  छिटोको नाममा बढी मात्रामा गलत समाचार जाने गरेको छ’ । 

अनलाइनको प्रभाव बढी 
एनालग मिडिया सामग्रीको प्रयोगबाट पत्रकारिता यात्रा सुरु गरेका ईश्वर अहिलेको नयाँ प्रविधि र पुस्तासँग हातेमालो गरेर अघि बढिरहेका छन् । नयाँ प्रविधिसँग उनी पनि परिचित छन् र त्यसको प्रयोगको अभ्यासमा पनि आफूलाई पोख्त बनाइरहेका छन् । पछिल्लो समयमा आएर उनलाई अनलाइन सञ्चार माध्यमको प्रभावकारिता बढ्न थालेको महशुस हुन थालेको छ । उनी भन्छन्– ‘अहिले धेरैको हातमा स्मार्टफोन, इन्टरनेटको सेवाले गर्दा सजिलो भएको छ, पत्रिका हेर्न पनि मान्छेलाई फुर्सद नहुने भयो, दिउँसो, बेलुकाको घटना थाहा पाउन पनि बिहानसम्म कुर्नुपर्ने भयो, अनलाइनमा तुरुन्तै नै आउने भयो । टिभीको पनि क्रेज घटेको छैन तर पत्रिकाको समाचार बासी जस्तो हुने अवस्था पनि छ । किनभने त्यही समाचार रेडियोले पढिसकेको हुन्छ, टिभीमा आइसकेको हुन्छ, अनलाइनमा आइसकेको हुन्छ ।’ छापामा लेखिएको समाचार पछिसम्म हेर्न मिल्ने भएकोले छापा माध्यमको छुट्टै प्रभावकारिता रहेको उनको धारणा छ ।

पत्रकारिता निरन्तर
उनले स्थानीय रेडियो तथा पत्रिकामा कहिले पनि काम गरेनन् । ईश्वरलाई नेपाल टेलिभिजनका लागि समाचार पठाउनका लागि नै भ्याई नभ्याई हुन्थ्यो । पछि फेरि बीबीसी नै थपिएपछि उनले स्थानीय सञ्चारमाध्यममा काम गर्नका लागि समय दिन पनि भ्याउने कुरा भएन् । घर परिवार, व्यवसायलाई पर्याप्त समय निकाल्न नसके पनि ईश्वर व्यावसायिक र मर्यादित पत्रकारिताका लागि दिन रात नभनी निरन्तर म्याराथुनमा छन् । पत्रकारिताले आर्थिक प्रगतिभन्दा पनि समाजको प्रगति र यसबाट आफूले नाम कमाउन सकेकोमा उनी सन्तुष्ट छन् । उनी भन्छन्–‘पत्रकारिताबाट मैले पैसा त कमाइन तर नाम भने कमाए । अहिले म नेपालको जुन ठाउँमा पुगे पनि ऊ फलाना आएछ भनेर चिन्छन् । त्यही हो मेरो कमाइ भनेकै । चाहेर नचाहेर यो पेसामा म लागिहाले अब छोड्न सक्छु जस्तो पनि लाग्दैन् । मेरो जीवनमा अव सकुञ्जेलसम्म पत्रकारिता नै गर्छु ।’
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप