मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा विवाद थप चर्कने संकेत : कस्तो रहला पौडेलको आगामी ‘एक्सन’

आइतबार, २९ मङ्सिर २०७६, १४ : १६
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं ।  नेपाली काँग्रेसभित्र झांगिदो विवादले सहजै  निकास नपाउने संकेत देखिएको छ । संस्थापन र इतर पक्ष महाधिवेशनमा आफू कसरी हाबी हुन सकिन्छ भन्ने रणनीतिमा लागेपछि विवाद थप चर्कने देखिएको हो ।

सभापति शेरबहादुर देउवा १४ औँ महाधिवेशनको संघारमा विभाग गठन, नेविसंघ, तरुण दललगायत भ्रातृसंस्थाको गठन र विस्तारसँगै केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति गठनको तयारीमा  समेत जुटेका छन् । 

यता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने यी सबै विषयको औचित्य सकिएको भन्दै महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । 

तर देउवा अहिले नै महाधिवेशनको कार्यतालिका ल्याउने मुडमा देखिँदैनन् । आगामी महाधिवेशन आफू अनुकुल बनाउन देउवाले पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिन खोजेको देखिन्छ । 

जसबाट आफू निकट नेताहरुको व्यवस्था हुँदा महाधिवेशनमा चुनौती कम हुने देउवाको बुझाइ रहेको पाइन्छ । यता पौडेल भने देउवा कार्यकालको असफलतालाई १४ औँ महाधिवेशनमा एजेण्डाका रुपमा स्थापित गर्ने रणनीतिमा छन् । 

देउवालाई यतिखेर रोक्नसके महाधिवेशनमा आफूहरुलाई सहज हुने पौडेल पक्षको बुझाइ छ । 

पौडेललाई फकाउने प्रयास असफल 
सभापति देउवा भने भागबण्डाको ‘अश्त्र’ लिएर शनिबार पौडल निवास बोहोराटार पुगेका थिए । उनले बिहीबारको केन्द्रीय समिति बैठकमा पेस भएको एजेण्डा अनुरुप पार्टीका विभागहरु गठन तथा नेविसंघ, तरुण दल लगायतका भ्रातृ संस्थाको गठन र विस्तारमा भागबण्डाको सहमति खोजेका थिए । 

तर, जवाफमा पौडेलले आफूले महाधिवेशनको कार्यतालिका लगायतका विषय समाधान नगरी विभाग र भ्रातृ संस्थाकोबारेमा कुरा गर्न नलाग्न सुझाव दिएका थिए । 

छलफलको सुरुमै देउवाले भने, ‘रामचन्द्रजी तपाईँ मेरो सहकर्मी र नजिकको साथी पनि हो । तपाईँले मलाई पार्टीमा सहयोग गर्नुपर्छ । म तपाईँसँग मिलेरै पार्टीलाई गति दिन चाहन्छु ।’

बैठकमा सहभागी पौडल पक्षीय नेता हृदयराम थानीका अनुसार जवाफमा पौडेलले सहमति बेगर किन विभागको संख्या बढाउन खोजेको भन्दै प्रश्न गरेका थिए । 

पौडेलको प्रश्नको उत्तर दिँदै देउवाले भने, ‘पार्टीमा केन्द्रीय सदस्यहरुको संख्या पनि ठूलो छ । सबैलाई मिलाएर जिम्मेवारी बाँडफाँट गर्न मैले विभागको केही संख्या बढाएको हो । अब विभाग गठनको लागि तपाईँले सहयोग गर्नु पर्यो ।’

देउवाले भ्रातृ संस्थाहरुको नेतृत्व अभावमा संगठन प्रभावित भएकोले  नेविसंघ गठन र तरुण दल विस्तारमा पौडलसँग सहयोग मागेका थिए । तर पौडेलले देउवासामु अरु सबै विषय गौण भएको भन्दै महाधिवेशनको सुनिश्चिततासहित कार्यतालिका आफ्नो पहिलो प्राथमिकता रहेको जिकिर गेरे ।  

पौडेललाई आश्वस्त पार्दै देउवाले भने, ‘महाधिवेशन गर्ने कुरामा मेरो कहिँकतैै असहमति छैन । मैले महाधिवेशन नगर्ने कुरा कहाँ गरिरहेको छु र ? विधान बमोजिम समायोजनको प्रक्रिया टुंगो नलागेसम्म निर्वाचन समितिले कार्यतालिका कसरी ल्याउने ? जतिसक्दो चाँडो निर्वाचन समितिले समायोजनको प्रक्रिया टुंग्याउँछ त्यति चाँडो महाधिवेशनको कार्यतालिका आउँछ । निर्वाचनसम्बन्धी कार्यतालिका ल्याउने निर्वाचन समितिले हो । समितिले समायोजनको काम सम्पन्न गर्न बाँकी छ ।’ 

देउवाले आफू महाधिवेशनको पक्षमा रहेको भने पनि राधेश्याम अधिकारीको नेतृत्वमा रहेको निर्वाचन समितिलाई संघीय संरचना अनुसार समायोजनको प्रक्रिया टुङ्ग्याउन सकेको छैन ।

देउवाले एक घण्टासम्म पनि कन्भेन्स गर्दा पनि पौडल महाधिवेशनको कार्यतालिका वेगरका एजेण्डमा छलफल गर्न राजी भएनन् । 

तर संस्थापन इतरका नेताहरुलाई पौडेलले सम्झौता गर्ने चिन्ता छ ।

संस्थापन इतरका एक नेताले रातोपाटीसँग भने, ‘पौडेलले पार्टी पदाधिकारी मनोनयनमा दह्रो ढंगले अडान लिन नसक्दा सभापतिले एकलौटी गरे । यतिबेला उहाँले सभापतिका निर्णयहरुलाई रोक्न सक्ने ल्याकत राख्नुपर्छ । अब भागबण्डामा सम्झौता गरिने काम नहोस् भन्ने हो । उहाँ भागबण्डाको सम्झौतमा फसे दुर्भाग्य हुन्छ ।’ 

ती नेताका अनुसार शुक्रबार सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले पनि केन्द्रीय समितिमा महाधिवेशनको कार्यतालिका बेगरका एजेण्डामा हुने छलफल सहभागी नहुने निष्कर्ष निकालेको थियो । 

शनिबार देउवासँगको भेटमा पौडेलले सोही अडानमा कायम राखे । पौडेल पक्षका वार्ता टोली सदस्य थानीले आफूहरु पनि पौडेलकै अडान अनुसार वार्तामा बसेको बताए । तर चाक्सीबारीमा भएको वार्तामा सहमति जुट्न नसकेको बताए । 

उनले सहमतिको सम्भावना कम रहेको पनि संकेत गरे । यता देउवा पक्षले भने अब धेरै समय पौडेल पक्षलाई कुर्न नसकिने बताएको छ ।

पौडेलसँगको भेटपछि देउवाले वार्ता टोलीबीच सहमति नभए पनि पार्टीका रोकिएका निर्णय र हुन नसकेका सबै काम अगाडि बढाउने सिग्नल दिएको सहमहामन्त्री डा. प्रकाशरण महतले बताए ।

‘सभापतिज्यू यतिबेला अब गरेन भन्ने र गर्न पनि नदिने रणनीतिमा फस्न हुन्न भन्ने निष्कर्षमा पुग्नु भएको छ,’ उनले भने, ‘केन्द्रीय समितिको बैठक सुरु नहुन्जेलसम्म सहमतिको प्रयास गरिन्छ । सहमति भएन भने आफ्नो ढंगले अगाडि  बढ्छौँ ।’ 

यता पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा  पक्षको अडानपछि पौडेल पक्षले बिहीबारको बैठक बहिस्कार गरेको थियो ।
यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति थियो । 

पौडेल पक्षको बहिस्कारकाबीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो ।

विभाग गठन र महाधिवेशन कार्यतालिका विवाद समाधानका लागि देउवा पक्षबाट उपसभाति निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा वार्ता टोलीले थप छलफल गरेको थियो । उक्त छलफलमा सहमति नभएपछि आइतबार बिहान उपसभापति निधिले महामन्त्री सशांक कोइरालाको निवासमा इतर पक्षका नेताहरुसँग सहमतिको प्रयास गरेका थिए । उक्त प्रयास पनि सफल हुन सकेन ।

केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेता सिंहसँग पार्टी कार्यालयमा सहमतिका लागि देउवा पक्षले छलफल गर्ने प्रवक्ता शर्माले बताए ।

यता पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले भने पौडेल पक्षबीच सहमति हुन नसकेपनि आइतबारको बैठक नरोकिने बताए । ‘सहमति भएन भने पनि बैठक बस्छ । बैठकमा प्रस्तुत गरिएका एजेण्डमा छलफल हुन्छ । संस्थापन पक्षले विवाद नभएका एजेन्डाहरु केन्द्रीय समिति बैठकबाट पारित गर्छ,’ उनले भने ।

पौडेल पक्ष विना आइतबारको बैठक बसेको खण्डमा तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको समितिको जस्तै अवस्था आइलाग्नेछ । 

पार्टीका विभिन्न निकायमा सभापति कोइरालासँग भागबण्डको कुरा नमिल्दा देउवाले पनि कयौँ बैठक बहिस्कार रहेका थिए । त्यतिबेला पनि देउवा पक्षको अनउपस्थितमा बैठक हुने गरेको इतिहास छ । 

यतिसम्मकी भागबण्डा नमिल्दा देउवाले सदस्यबाटै राजीनामा दिएर तीन महिनासम्म सानेपा पार्टी कार्यालय जान समेत छोडेका थिए । पछि शक्ति सन्तुलनमा भागबण्डा मिलेपछि देउवाले राजीनामा फिर्ता लिएको नजिर छ । सहमति विना देउवा अगाडि बढे पौडेलले कस्तो ‘एक्सन’ लिन्छन् त्यो भने खुल्दै जानेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप