बराबरीमा रोकियो बार्सिलोना
साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगामा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा बार्सिलोना २–२ को निराशजनक बराबरी खेल्न बाध्य बनेको हो ।
खेलमा चौथो स्थानमा रहेको सोसिडाडलाई मिकेल ओयारजाबालले खेलको १२ औँ मिनेटमा पेनाल्टीबाट अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर एन्टोनी ग्रिजमानले खेल बराबरी गरे ।
दोस्रो हाफको सुरुवातसँगै कप्तान लियोनेल मेस्सीको पासमा लुइस सुवारेजले बार्सिलोनालाई अग्रता दिलाए । तर, खेलको ६२ औँ मिनेटमा अलेक्सान्डर इसाकले पुनः खेल बराबरी गरे ।
बराबरीपछि बार्सिलोना १६ खेलबाट ३५ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम रहेको छ । एक खेल कम खेलेको रियल म्याड्रिड ३४ अंकसहित दोस्रो स्थानमा छ । भ्यालेन्सियाबिरुद्धको खेल जिते रियलले बार्सिलोनालाई उछिन्नेछ । उता, सोसिडाड भने २८ अंकसहित पाँचौ स्थानमा खस्किएको छ ।
शनिबार नै भएका अन्य खेलमा एथ्लेटिको म्याड्रिडले ओसासुनालाई २–० गोलअन्तरले पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।
त्यस्तै, लेभान्तेले ग्रानाडालाई २–१ गोलले हरायो भने एथ्लेटिक बिल्बाओ एबारसँग गोलरहित बराबरीमा रोकियो ।