शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शोक सभामा पनि आरोप–प्रत्यारोप

शनिबार, २८ मङ्सिर २०७६, १८ : ४५
शनिबार, २८ मङ्सिर २०७६

बुटवल । दिनैभरको  मौसम अन्धकार थियो ।  दुई चार मिटर अलिपरको मानिस चिन्न पनि मुस्किल पर्ने अवस्था थियो । सिमसिमे पानी परिरहेको  र अत्यन्तै चिसो हावा चलिरहेको  थियो । पश्चिम नेपालमा गत तीन दिनदेखि आज बिहान अवेरसम्मको खराब मौसमका कारण जनजीवन अस्तव्यस्त थियो । मानिसहरु बाहिर निस्केर हिड्न सकिरहेका थिएनन् ।

तर पूर्व निर्धारित कार्यक्रम अनुसार गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टसहितको टोली केही दिनअघि बाग्लुङ्गमा १६ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनाले  शोकमग्न गाउँ पैयाँपाटा कार्की टोल लाग्यो ।

इस्मारजस्थलबाट करिव आधा घण्टाको पैदल यात्रापछि पूर्वमन्त्री बिष्टसहितको टोली त्यस कार्की  टोलको डाँडामा पुग्यो । त्यहाँ पुग्दा  आमाको काज किरियामा  रहेकी १६ बर्षीया किशोरी  इसा कार्कीसहित ७ कार्की परिवार काज किरियामा व्यस्त थिए ।

चिसो हावा थप मडारिन थाल्यो र पानी पनि थप वर्षन थाल्यो । त्रिपाल मुनी चिसोले काँप्दै बसेका किरियापुत्रीहरु झै अर्को त्रिपालमा ओतियो पूर्वमन्त्री बिष्ट लगायतको टोली । 

त्यसपछि ईस्मा गाउँपालिकाले आयोजना गरेको शोक सभाको औपचारिक कार्यक्रम सुरु भयो । त्यही बेलामा नेपाली काँगेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ लगायतको टोली पनि श्रद्धाञ्जली सभामा  बाटोमा आउँदै छन भन्ने खबर गरे ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले । सभापति श्रेष्ठ आई सकेपछि  ईस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले शोक सभाको औपचारिक कार्यक्रम  सुरु गरे । 

ढिलो गरी सभा सुरु भएपछि दलको तर्फबाट कोही नबोल्ने र जनप्रतिनिधीको तर्फबाट पूर्वमन्त्री बिष्टले मात्रै शोक मन्तब्य तयारी थियो । तर सभापति श्रेष्ठ बोल्ने  रुची राखेपछि उनलाई पहिलो वक्ताका रुपमा बोलाइयो ।  गर्नु थियो शोकाकुल परिवार प्रति शोक ब्यक्त, तर श्रेष्ठ सत्तारुढ दलबिरुद्ध ओइरिँदै निकै चर्का चर्का भाषण छाँट्न थाले ।

‘यति धेरै जनाको ज्यान जाने गरि भएको दुर्घटनामा सरकारले वास्ता गरेन, के कारणले दुर्घटना भयो भनेर छानविनमा  समेत चासो देखाएन । सरकारलाई  दुर्घटनामा भएको यति धेरैको मृत्यु  पनि सामन्य जस्तै लाग्यो । यो सरकारले  अब ती सबै मृतकहरुका परिवारको पालन पोषणको जिम्मा लिनु पर्दछ,’ उनले भन ।

शोक सभामा राजनीतिक घोचपेचको  भाषणले नेकपाका कार्यकर्ता मुन्टो मर्काउँदै थिए भने पूर्वमन्त्री बिष्ट आकाश तिर आँखा ओछ्याउँदै चकित मुद्रामा देखेन्थे । 

त्यसपछि नेकपा  जिल्ला सचिवालय सदस्य हिरा एसीले बोले । उनले दोहरी खेल्न चाहेनन । नेकपा  र जनप्रतिनिधीहरुतर्फबाट उद्धार कार्यमा भएको काम बारे जानकारी दिँदै र शोक ब्यक्त गर्दै छोटो समय मै मन्तब्य सके ।

 श्रेष्ठलाई पूर्वमन्त्रीको जवाफ 

त्यस पछि पूर्वमन्त्री बिष्टको बोल्ने पालो आयो ।  घुमाउरो  पाराले श्रेष्ठलाई जवाफ दिँदै भने, ‘म भाषण र वक्तब्य बाजीमा बिश्वास राख्दिन काममा विश्वास गर्छु । यहाँ  दुर्घटना न्युनिकरणका लागि भाषण छाँट्ने अनि यहाँबाट हिडे पछि बिर्सने गरिन्छ । त्यसको कुनै अर्थ छैन । यो शोकाकुल गाउँको उद्धारमा यो दल र त्यो दल भनिरहनु आबश्यक छैन ।’

उनले थपे,‘ जहाँसम्म सरकारले केही गरेन भन्ने लाग्छ भने म जानकारी गराउँद छु । दुर्घटना भएको थाह पाउन साथ म बिरामी थिएँ र पनि सेनाको हेलिकप्टर तत्काल लिएर गम्भीर घाइतेलाई बचाउनका लागि हेलिकप्टरमा राखेर काठमाण्डौं लिएर गएँ चार जनालाई । चार जना मध्ये एक जना महिलालाई बचाउन सकिएन ।  अरु अहिले खतरा मुक्त भई उपचार गराइ रहेका छन् । उनीहरु सबैको उपचार खर्च सबै सरकारले व्यवस्था गर्ने छ । त्यसको जिम्मा म लिन्छु ।’

दुर्घनामा आमा गुमाएर कुनोमा रहेकी ईशा कार्की  र उनकी बहिनीको  पढ्नको जिम्मा आफुले लिने उनले बताए । त्यसपछि कार्यक्रमको अध्यक्षता गरिरहरका इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले भने  –‘दुर्घटनाको खबर पाउन साथ ईस्माका सबै जनप्रतिनिधी र कर्मचारी घटना स्थलमा पुगेर  दिनैभर खट्यौं  । ढोरपाटन नगरपालिका , बडिगाड गाउँपालिका र यता गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु पनि त्यति कै खटे , त्यसका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । 

गुल्मी यातायात ब्यवसायी  संग समन्व्य गरेर १६ जना मृतकका परिवारजनलाई  जनही ५० हजारका दरले किरिया खर्च दिलाउने भुमिका खेलेको उनले बताए । 
गत मंसिर १७ गतेका दिन कुल पुजाका लागि  गुल्मीको इस्मा गाउँपालिका वडा नम्वर  ४  पैयाँपाटाबाट कार्की परिवार चढेको जिप बाग्लुङ्गको बडिगाड गाउँपालिका ६  भिमगिठे बजार नजिकै दुर्घटना भएको थियो । जसमा १६ जनाको ज्यान गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप