मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी दूतावास जाने नेतृमाथि समाजवादी पार्टीले चलायो कारबाहीको डण्डा

शनिबार, २८ मङ्सिर २०७६, १६ : १५
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौँ । समाजवादी पार्टीले केन्द्रीय सदस्य रेखा यादवलाई कारवाही गर्ने भएको छ । पार्टीलाई जानकारी नै नदिइकन पाकिस्तानी दूतावासको एउटा कार्यक्रममा सहभागी भएको भन्दै रेखालाई कारबाही गर्ने तयारी गरेको हो । 

 भारतले जम्मु काश्मिरमा लगाएको धारा ३७० खारेज गरेको विरोधमा नेपालस्थित पाकिस्तानी दूतावासले गत कात्तिक १४ गते दूतावासभित्रै कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा समाजवादी पार्टीका नेतृ रेखा यादव सहभागी भएकी थिइन् । भारत–पाकिस्तानबीच भएको द्वन्द्वकै विषयमा भएको कार्यक्रममा उनी सहभागी भएको भन्दै पार्टीभित्रै विरोध भएको थियो । 

यसविषयमा  मंसिर २६ गते बसेको पदाधिकारी बैठकले रेखा यादव पार्टीको नीति विपरित कार्यक्रममा सहभागी भएको ठहर गर्दै अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो । शुरुमा उनलाई स्पष्टीकरण सोधिने र त्यसपछि स्पष्टीकरणको जवाफको आधारमा कारवाही प्रकृया अगाडि बढाइने बैठकमा सहभागी एक नेताले बताए । 

यसअघि चीन विरोधी गतिविधिमा लागेको भन्दै सो पार्टीका नेतृ सुनिता साहलाई पनि समाजवादी पार्टीले कारवाही गरेको थियो । 

 महिला बेचविखनमा चिनियाँको हात रहेको भन्दै सुनिता साह लगायतका युवाहरुले काठमाडौमा प्रदर्शन गरेका थिए । यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला पुनः विरोध गर्न सक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि समाजवादी पार्टी सप्तरीले एक विज्ञप्ति जारी गरी सुनिता साह पार्टीको नेतृ नरहेको दावी गरेको थियो । 

लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा पार्टीको नीति विपरित सहभागी भएको भन्दै समाजवादी पार्टी पर्साका अध्यक्ष एवं सांसद प्रदीप यादवलाई पनि गत असार १० गते पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो । 

उपचुनावमा सन्तोषजनक
यसैबीच समाजवादी पार्टीको पदाधिकारी बैठकले हालै सम्पन्न उपनिर्वाचनमा पार्टीले पाएको मत सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । 

सो पार्टीले प्रदेश २ का स्थानीय तहमा यसअघि जितेको भन्दा दुई सीट बढी जितेको छ । हिमाल पहाडमा कुनै सीट नजितेपनि उपस्थिति देखाएको र विगतको भन्दा भोटमा वृद्धि भएको समाजवादी पार्टीको पदाधिकारी बैठकले ठहर गरेको प्रचार विभागका प्रमुख प्रशान्त सिंहले बताए । 

उनले भने, ‘प्रदेश २ मा उत्साह बढेको छ तर,  हिमाल र पहाडमा संगठन कमजोर छ । त्यसका लागि अभियान चलाएर अगामी चुनावमा राम्रो गर्ने लक्ष्य पार्टीले लिएको छ ।’

अगामी चुनावमा वितगको भन्दा राम्रो परिणाम ल्याउने पनि सो पार्टीको आँकलन रहेको छ । यद्यपी प्रदेश २ को सिरहामा पार्टीले राम्रो गर्न नसकेको गुनासो पनि भएको छ । 

यस्तै बैठकमा समाजवादी पार्टीको नेतृत्व रहेको प्रदेश २ को सरकारले राम्रो काम गर्न नसकेको भन्ने प्रश्न पनि उठेको बताइएको छ । यसबारे गम्भीरता देखाउँदै बैठकले सरकारको काम कारवाहीलाई चुस्तदुस्त बनाउनका लागि समन्वय समिति बनाएको छ ।

पार्टीकी उपाध्यक्ष रेणु यादवको संयोजकत्वमा गठन भएको समन्वय समितिमा पार्टीका अर्का उपाध्यक्ष मोहम्मद लालाबाबु राउत, कोषाध्यक्ष एवं आर्थिक मामिला मन्त्री विजय यादव, पार्टीका नेता हरिनारायण यादव लगायत ७ जना रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप