शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा बम विस्फोटका घाइते भिखारी साहको यस्तो बयान

शनिबार, २८ मङ्सिर २०७६, १२ : १४
शनिबार, २८ मङ्सिर २०७६

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा राजेश साहको नवनिर्मित घरको ढोकामा  बम झुन्ड्याइएको थियो । 

मध्यरातको करिब १२ बजेतर्फ राजेशकी श्रीमती शौचका लागि शौचालयतर्फ जान लाग्दा ढोकामा केही झुन्डिएको देखेर श्रीमानलाई उठाइन् । राजेशले बम झुन्डिएको ढोका खोलेर घरमा सुतिरहेका छोरा छोरीलाई बाहिर निकालेर प्रहरीलाई खबर गरे । 

प्रहरीले जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुग्यो । ढोकामा शंकाष्पद वस्तु झुन्डिएको झोलामा बम हो वा होइन भनि यकिन गर्नका लागि प्रहरी निरीक्षक दाहालले हेर्न खोज्दा विस्फोट भएको हो । 

राजेश साह, उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भयो भने प्रहरी निरीक्षक अमिरकुमार दाहाल लगायत ५ जना गम्भीर घाइते भए । गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको पनि उपचारको क्रममा मृत्यु भयो । 

बम विस्फोटबाट प्रहरी जवान रिजनाथ महतो, साहका अर्का छोरा प्रकाश, छोरी अञ्जली र बुबा भिखारी साह पनि गम्भीर घाइते भए ।  घाइतेहरुको उपचार भइरहेको छ । 

 घाइते ७० वर्षीय भिखारी साहको यस्तो बयान

घाइते ७० वर्षीय भिखारी साहले बम विस्फोटमा परि देब्रे आँखाको दृष्यशक्ति गुमाएका छन् । 

साहका अनुसार महेन्द्रनगरमा उनीहरुकाे २ वटा घर छ । उनले भने-एउटामा हामी बस्छौं र अर्कोमा छोरा बुहारी । मध्यराति घरको गेटमा झोला झुण्डिएको देखेपछि राजेश परिवारसहित हामी बस्ने गरेको घरमा आयाे । परिवारलाई घरमा राखेर छोरा राजेश बम भएको घरमा गयो । त्यतिबेला इलाका प्रहरी कार्यालयबाट प्रहरी पनि आइसकेकाे थियो । केहीबेरपछि हामी पनि त्यहाँ पुगेका थियौं ।'

प्रादेशिक अस्पताल जनकपुरको शैय्याबाट उनले सम्झिँदै भने, ‘ढोकामा झुण्डिएको रातो झोला देखाउँदै प्रहरी निरीक्षक दाहालले ‘केही पनि होइन’ भन्नुभयाे। प्रहरी निरीक्षक दाहालले यसो भनेको केही सेकेण्डमै ठूलो आवाजसहित बम विस्फोट भयो ।’

‘छोरा राजेश, नाती आनन्द र प्रहरी निरीक्षक  दाहाल नजिकै हुनुहुन्थ्यो हामी केही पर थियौं,’ भिखारीले भने, ‘ठुलो आवाज आउनासाथ म बेहोस भएर भुईँमा लडें, त्यसपछि के भयो मलाई थाहा छैन ।’

महेन्द्रनगरमै औषधि पसल चलाउँदै आएका राजेशसँग लेनदेनसम्बन्धी विवादका कारण यस्तो घटना घटाइएको हुनसक्ने परिवारजनको आशंका छ ।

३ जनाको ज्यान जाने गरी भएको बम विस्फोटबारे आवश्यक अनुसन्धान भइरहेको घटनास्थलमा रहेका एसएसपी राजेन्द्र चौधरीले टाइमर बम बिस्फोटन भएको जानकारी दिए । शक्तिशाली टाइमर बम प्रयोग गरेर घटना घटाइएको चौधरीले बताए । 

विस्फोट कसले र किन गरायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप